April 25, 2021

पर्यटन प्रवर्द्धन गर्न दाम्राङ पोखरीसम्म सडक

  • जनक श्रेष्ठ


लमजुङ । यहाँ पर्यटन प्रवर्द्धनका लागि दोर्दी गाउँपालिका– ४ मा रहेको दाम्राङ पोखरीसम्म सडक लगिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि सडक निर्माण गरिएको जानकारी दिए । यस क्षेत्रको प्रचारप्रसारमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय लमजुङमार्फत सडक निर्माण भएको थियो । ठूलाखेत–कामचोक–दाम्राङ–लिपे पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले यस सडक चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको बताए । रु २५ लाखमा पालिकाको वडा नं ४ ठूलाखेतदेखि यसै वडाको दाम्राङ पोखरीसम्म सडक निर्माण भएको उनको भनाइ छ ।

त्यस्तै पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा दाम्राङ पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ । दाम्राङ हरित पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष फुलबहादुर गुरुङले बताए । उनका अनुसार यस पार्कभित्र ढुङ्गाको सिंढी निर्माण, २८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा ९० वटा वृक्षरोपण गरिएको छ ।

दाम्राङ पोखरी तथा यस पार्क गरी करीब १० रोपनी क्षेत्रफल ओगटेको स्थानीयको भनाइ छ । दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । पोखरीको संरक्षण र प्रवर्द्धन गर्नसके पर्यटनका लागि नयाँ गन्तव्यका रुपमा सुन्दर ठाउँ हुनसक्ने स्थानीयको भनाइ छ ।

यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिप, दूधपोखरी हुँदै गोरखासमेत निस्कनसक्ने स्थानीय युवराज अधिकारीले बताए । प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारले पनि ध्यान दिन थालेकाले आगामी दिनमा पर्यटक आउने अपेक्षा उनले गरे ।

उनका अनुसार यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार ५०० मिटर पदमार्ग निर्माण भएको छ । प्रदेश सरकारको यस चालू आर्थिक वर्षकै बजेट रु २० लाखमा निर्माण भएको हो । इलमपोखरी–लिपे– धौथली–रप्प्रो–दाम्राङ–नौथर शेरा चक्रिय पदमार्गअन्तर्गत उक्त काम भएको छ । यस चक्रिय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको स्थानीय अधिकारीको भनाइ छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ ।

 

Check Also

एमाले महाधिवेशनले जगाएको चितवनका पर्यटन व्यवसायीको आशा

नारायण अधिकारी चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा …