बहराइनका राजकुमार खलिफा सगरमाथाको चुचुरोमा
काठमाडौँ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले मङ्गलवार बिहान सगरमाथाको सफल आरोहण गरेका छन् । आधार शिविरमा रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्य र छाङ्दावा शेर्पालाई उद्धृत गर्दै आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अनुसार बिहान ५.३० देखि ६.४५ मा राजकुमार खलिफाको टोलीले सगरमाथाको चुचुरो चुमेका हुन् ।
सेभेट समिटका अनुसार सगरमाथाको ८८४८.८६ मिटर उचाइ कायम भएपछि र यस वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय दल हो । यसअघि डोरी टाँग्दै गएका नेपाली शेर्पाहरूको टोली सगरमाथाको टुप्पामा पुगेका थिए । त्यस टोलीको नेतृत्व गरेका कामी रिता शेर्पाले २५ औँ पटक आरोहण गरेर यसअघिको धेरै पटक सगरमाथा चढेको आफ्नै विश्व कीर्तिमान तोडेका थिए ।
बहराइनका राजकुमार खलिफासहित रोयल गार्डस् आरोहण दलको नेतृत्व सेभेन समिटका टासी लाक्पा शेर्पाले गरेका थिए । उनी १९ वर्षको उमेरमा बिना अक्सिजन सगरमाथा आरोहण गरेर विना अक्सिजन सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने कीर्तिमान राखेका व्यक्ति हुन् ।
बहराइनका राजकुमार खलिफासहित रोयल गार्डस् आरोहण दलका १७ जना सदस्य सगरमाथा आरोहणका लागि २०२१ को मार्च १५ मा नेपाल आइ पुगेका थिए । दलका खलिफासहित कति जनाले सगरमाथा आरोहण गरे भन्ने खुलिसकेको छैन ।
बहराइनका राजकुमार खलिफासहितको सोही आरोहण दलले गत वर्ष अक्टोबरमा ८०८१ मिटर अग्लो मनास्लु र ६१४५ मिटर अग्लो लोबुचेको आरोहण गरेका थिए । त्यही बेला उनीहरूले यी दुई हिमालको आरोहणलाई तालिमको रूपमा लिएको र खास आरोहणको उद्देश्य सर्वोच्च शिखर सगरमाथाको रहेको उल्लेख गरेका थिए ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …