May 12, 2021

एकै घरका तीन दिदीबहिनी सगरमाथा चुचुरामा

काठमाडौँ । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनीले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

बुधवार बिहान सगरमाथाको शिखर चुम्न सफल निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) एकै घरका दिदीबहिनी हुन् ।

दोलखाका यी दिदीबहिनीले सगरमाथा आरोहण गरेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले बधाई ज्ञापन गरेका छन् ।

“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, रासससँग कुरा गर्दै मन्त्री गुरुङले भनेका छन्, “तीन वर्षभित्र सात वटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरुको योजना पूरा होस् ।”

सगरमाथा आरोहणका लागि काठमाडौंबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उनीहरुलाई शुभकामना दिएका थिए ।

आजै सोही गाउँका पेम्बादोर्जे शेर्पाले बिहान ७ बजे २१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँँ’ भन्ने सन्देशका साथ सगरमाथा चढेका हुन् ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …