संकटमा तराईका आदिवासी गन्गाईको पौरानिक नाच विद्यापत
- खिम घले
गन्गाई जाति तराईमा बसोबास गर्ने सिमान्तिकृत आदिवासी जनजाति समुदाय हुन् । विशेष गरेर मोरङ र झापामा बसोबास गर्ने गन्गाईहरु सुनसरी, सप्तरी, सिराह, धनुषा, रौतहट, नवलपरासी र रुपन्देहीमा पनि फैलिएका छन् ।
बि.सं. २०६८ सालमा भएको पछिल्लो जनगणना अनुसार गन्गाई जातिको जनसंख्या ३६ हजार ९ सय ८८ रहेको छ । त्यसमध्ये १८ हजार ६ सय ३ जना महिला छन् भने १८ हजार ३ सय ८५ जना पुरुष ।
आदिवासी जनजाति गन्गाई समुदाय प्रकृतिपूजक हुन् । उनीहरुको आफ्नै मौलिक भाषा, संस्कृति र संस्कार छ । हिन्दू धर्मसँगको संसर्गका कारण प्रभावित देखिए पनि हिन्दु चाडपर्वहरु गन्गाईहरुले आफ्नै मौलिक परम्परा अनुसार मनाउँछन् ।
यिनै मौलिक संस्कार संस्कृति मध्ये एक हो, विद्यापत नाच । नेपाल गन्गाई कल्याण परिषद्, मोरङका अध्यक्ष बालदेव मण्डलका अनुसार विद्यापत पौरानिक नाच हो । गन्गई जातिको संस्कृति भित्र यो नाच पर्दछ ।
‘म ६५ वर्ष भएँ, हामी जन्मनु भन्दा अघिदेखि नै यो नाम संस्कृतिको रुपमा नाच्दै आइरहेको छ’ । खास गरेर हाम्रो जातिको क्षेत्रमा बिहेबारी हुँदा वा छटलगायतका चाडपर्वमा अनिवार्य रुपमा देखाउने र नचाउने चलन थियो’ उनी भन्छन् ।
गन्गाई जातिको बिहे तथा अन्य चाडपर्वका बेला नाचिने यो नाच कहिले सुरु भयो भन्ने यकिन छैन । गन्गाई बुढापाकाहरु यसलाई पौरानिक कथामा आधारित परम्परागत नाच बताउँछन् ।
यस पटक हामीले मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं. २ बरियातीका गन्गाई समुदायले नाच्दै आएको विद्यापत नाचलाई अमूर्त संस्कृतिको रुपमा प्रस्तुत गरेका छौं ।
चार घण्टासम्म नाचिने यो नाचको प्रमुख उदेश्य मनोरञ्जन दिनु हो । विद्यापत नाचका लागि बिहे गर्ने घरवालाले केही दिनअघि नै नाच टोलीलाई सुपारी दिएर निम्तो दिने चलन छ ।त्यही निम्तोलाई स्वीकार गर्दै टोली आएर नाचगान गरेर बिहेलाई मनोरञ्जनात्मक बनाउने गर्दछन् ।
विद्यापत नाच, बरियातीका प्रमुख गायक तथा जोकर रञ्जित मण्डल ३०/४० वर्षदेखि यो नाच देखाउँदै आइरहेका छन् । मधेसमा विहे हुँदा यो विद्यापत नाच गर्ने चलन भएपनि अहिले यो लोप हुँदै गएको उनको बुझाइ छ । ‘पहिले ढोल बाजा र विद्यापत नाच बिहेमा अनिवार्य हुन्थ्यो, अहिले आएर व्याण्ड बाजाको प्रयोग हुन थालेको छ । मारुती जान्छ, व्यण्डपाटी जान्छ’ उनी भन्छन् ।
नाच टोलीमा दुई जना महिलाको भेषमा नाच्ने नट्वा, एक जोकर, गन्गाई भाषामा यसलाई बिक्टा भनिन्छ, एक जना अगुवा गायक जसलाई मूलगेन भनिन्छ, दुई जना झ्याली बजाउने र एक जना मादल बजाउने व्यक्तिको आवश्यकता पर्दछ ।
बढीमा सात जनाको समुह रहने यो नाचमा यस पटक भने जोकर र अगुवा गायक एकै जना भएकाले छ जनामै सिमित भयो ।
खास गरेर यो नाच हिन्दू धर्मका भागवान कृष्णको लीलासँग जोडिएको छ । यद्यपी यसमा कृष्णको जीवन चरित्र मात्र छैन, गन्गाईहरुको आफ्नै मौलिक कथाहरु पनि जोडिएका छन् ।
गुरु बन्दनाबाट नाचको सुरुवात हुन्छ । त्यसपछि देवी देवताहरुको बन्दना गरिन्छ, अनि बल्ल लीला सुरु हुन्छ । तर बीच बीचमा गन्गाईहरुको आफ्नो सामाजिक परिवेश अनुसारको मौलिक कथाहरु पनि समेटिएका हुन्छन् । यस नाचमा एक जना परदेशीएका श्रीमान् परिचय लुकाएर आफ्नै श्रीमतीसँग पानी माग्न आएको दृष्य देखाइएको छ ।
यो नाच सकिएपछि घरवालाले खुशीले डाली दिएर विदाइ गर्ने चलन छ । त्यसमा लत्ता कपडा, खाने कुरा र पैसा हुन्छ । पछिल्लो समय पहिला नै रकम तोकेर नाच्न जाने चलन पनि बढेको छ ।
बरामती नाच समुह नकटा श्याम प्रसाद मण्डलले पनि करिव १४/१५ वर्षदेखि नै नाच नाच्दै आइरहेका छन् । महिला बनेर नाच्दै आएका मण्डलले आफ्नो परम्परा धान्नकै लागि नाच्न सुरु गरेका हुन् । तर अहिलेका युवाहरु नाच्न मान्दैनन् । ‘अव यो नाच कोही केटाहरुले नाच्दैन । लाज लागि रहेको छ । कसैलाई नाच भन्दा मान्दैन । शिक्षित भयो केटाहरु अनि लाज लाग्न थाल्यो । अब हामी पछि नाच्ने मान्छे नै छैन । अव केटी बनेर नाच्न मान्दैन’ उनी भन्छन् ।
तर, पछिल्लो समय गन्गाई जातिको पहिचानसँग जोडिएको यो नाच लोप हुने अवस्थामा पुगेको छ । आधुनिक खालका बाद्यबादन तथा नाच गानमा युवा पुस्ता रमाउन थालेपछि यो नाच संकटमा परेको हो । पढे लेखेका युवा पुस्ता यो नाचको महिला नर्तक बन्न मानिरहेका छैनन् भने विहेमा पनि बोलाउन छाडिएको छ ।
यो सांस्कृतिक अवयव लोप हुन थालेपछि गन्गाई अगुवाहरुलाई भने यसलाई कसरी बचाउने भन्नेमा चिन्ता बढ्न थालेको छ । गन्गाई जातिको भाषा–संस्कृतिको संरक्षण सम्बर्धनको लागि नेपाल गन्गाई कल्याण परिषद् गठन गरेर काम गरिरहेका छन्, अगुवाहरु ।
नेपाल गन्गाई कल्याण परिषद्, मोरङका अध्यक्ष मण्डलका अनुसार संस्थाको मुख्य उदेश्य भनेको नै हाम्रो संस्कृति, संस्कार र परम्परालाई संरक्षण, जगेर्न गर्दै जाने र हाम्रो पहिचानलाई राष्ट्रिय पहिचान बनाउने हो । यसका लागि कामहरु पनि गरिरहेका छन् ।
‘हामीले बेला बेलामा चेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौं । गोष्ठी सेमिनारहरुमा पनि यो कुरा उठाइरहेका छौं । हाम्रो भाषा, भेषभूषा, संस्कार, संस्कृतिको लोप हुँदै गइरहेको छ । यसलाई कसरी संरक्षण गर्ने यस बारेमा सोच्नु पर्ने भएको छ । हामीले आफ्नो पहिचानलाई छाड्न हुँदैन । हामीले गोष्ठी सेमिनारहरु मार्फत यसलाई विषयमा छलफल र प्रचार प्रसार गर्दै आएका छौं’ उनी भन्छन् ।
नेपालका अरु धेरै आदिवासी जनजाति समुदाय जस्तै गन्गाईहरु पनि आधुनिकताको चपेटामा चेपिएका छन् । युवा पुस्ता आफ्नो भाषा, संस्कार, संस्कृतिबाट निक्कै पर पुगेको छ । त्यसैले अव युवा पुस्तालाई समेट्दै जातीय सामुदायिक भावनाको जागृत गराउने खालका कार्यक्रमहरु गर्दै जानु आवश्यता देखिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…