पर्वतीय पर्यटनको विकास गर्न गण्डकी अल्पाइन क्लब गठन
काठमाडौँ । गण्डकी प्रदेशमा पर्वतारोहणको विकास गर्ने उद्देश्यका साथ गण्डकी अल्पाइन क्लब गठन गरिएको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीको अध्यक्षतामा गठित क्लबमा गण्डकी प्रदेशका आरोही तथा आरोहण सञ्चालक रहेका छन् ।

”गण्डकी प्रदेशमा धेरै राम्रा हिमालहरू छन्, तैपनि आरोहणको अपेक्षित विकास हुन सकेको छैन” शाहीले हाइलाइट्स टुरिजमसँग भने, ”हामी आरोहण क्षेत्रमै लागि रहेका साथीहरू मिलेर यस क्षेत्रको विकासको लागि केही गरौँ भनेर क्लबको गठन गरेका हौँ ।
क्लबमा सुमन गुरुङ उपाध्यक्ष, विनायक जय मल्ल द्वितीय उपाध्यक्ष, गोविन्द गुरुङ सचिव, मनराज गुरुङ सहसचिव, पुरबहादुर गुरुङ कोषाध्यक्ष, अनुप गुरुङ सह कोषाध्यक्ष, प्रेमबहादुर गुरुङ, वीर बहादुर गुरुङ र राम गुरुङ सदस्य रहेका छन् ।
क्लब गैर मुनाफामूलक कम्पनीको रूपमा दर्ता गरिएको छ । क्लबलाई गण्डकी प्रदेशमा रहेका पेशेवर हिमाल आरोही, पर्वतारोही, पर्वतारोहण पथ प्रदर्शक आरोही तथा साहसिक हिमाल आरोहण तथा खेलसँग सम्वन्धितहरुको साझा संस्था बनाइने बताइएको छ ।
क्लबले हिमाली पर्यटन प्रवर्द्धन गर्ने, पर्वतारोहण पर्वतीय खेलकुद, पर्वतीय वातावरणको संरक्षण, हिमाल आरोहण जनशक्ति उत्पादनको लागि तालिमको व्यवस्थापन, नयाँ पर्वतीय हिमालको मार्ग अन्वेषण, सुरक्षित पर्वतीय पर्यटन प्रवर्द्धन तथा आपत्कालीन उद्धार व्यवस्थापनमा भूमिका खेल्ने उद्देश्य राखेको छ ।
गण्डकी प्रदेशमा धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी तीन वटा आठ हजार मिटर भन्दा अग्ला हिमाल रहेका छन् भने १२१ वटा हिमालहरुलाई सरकारले आरोहणको लागि खुला गरेको छ । सरोकारवालाहरुका अनुसार अझै सयौं हिमालहरु आरोहणको लागि खुला नगरिएका तथा पहिचान नगरिएका हिमालहरु प्रदेशमा रहेका छन् ।
क्लबको मुख्य उद्देश्यहरू निम्न छन्:
– गण्डकी प्रदेशका पेशेवर पर्वतारोहीहरू र पर्वतारोहण पेसामा लागेका व्यक्तिहरूको हक, हित सम्बन्धी कार्यमा सहयोग पुर्याउने र उनीहरूको सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने ।
– हिमाल आरोहण तथा साहसिक हिमाली खेललाई रोजगारी र जीविकोपार्जनसँग जोड्न भूमिका खेल्ने ।
– गण्डकी प्रदेश तथा नेपाली पर्वतहरू, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य र वातावरणको संरक्षण गरी गण्डकी प्रदेशका तथा नेपाली हिमशृंखलाहरुको विश्वमा लोकप्रियता बढाउन प्रवर्द्धनात्मक कार्यहरू गर्ने ।
– पर्वतारोहण सम्बन्धी क्रियाकलापहरूको संरक्षण, संवर्द्धन र समन्वय गर्दै सम्बन्धित निकायहरूलाई सहयोग र सल्लाह प्रदान गर्ने ।
– सम्बन्धित निकायको स्वीकृतिमा पर्वतीय पर्यटन, पर्वतारोहण, हिमाली वातावरण सम्वन्धी क्षेत्रीय वा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वयात्मक मैत्री सम्बन्ध राख्ने, प्रतिनिधि मण्डलहरूको आदानप्रदान गर्ने र क्षेत्रीय मञ्च स्थापना गर्न नेतृत्व गर्ने, सहभागी हुने ।
– नयाँ पुस्ता र आरोहीहरूलाई विभिन्न किसिमको आरोहण सम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरी पर्वतारोहण सीप दक्षताको विकास गर्ने ।
– हिमाली भेगमा अवस्थित माध्यमिक विद्यालयहरूमा पर्यटन तथा पर्वतारोहण सम्बन्धी विषयको ऐच्छिक पाठ्यक्रमसँगै विद्यमान मौलिक धर्म, संस्कृति, प्राकृतिक तथा जैविक विविधताको संरक्षणको लागि अध्ययन गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने ।
– सम्बन्धित निकायको स्वीकृतिमा उच्च हिम चुचुराहरूको आरोहण सम्बन्धमा समय सापेक्ष शिक्षा, उच्च हिमशिखर आरोहण कला र दक्ष व्यावसायिक तालिम, उद्धार कार्यको प्रशिक्षण जस्ता कार्यका लागि सङ्घलाई क्रियाशील बनाउने ।
– आरोहणका क्रममा मृत्यु भएका आर्थिक रूपले विपन्न आरोहीहरूको बालबालिकाको आधारभूत निःशुल्क शिक्षा, स्वास्थ्य तथा पालन पोषणका लागि सरकारी तथा गैर सरकारी क्षेत्रसँग आवश्यक समन्वय गर्ने ।
– पर्वतीय पर्यटनको विकासको लागि सङ्घलाई छाता सङ्गठनको रूपमा स्थापित गराई सङ्घको मातहतमा स्थानीय पर्वतीय इकाईहरूको निर्माण गरी सङ्घमा उनीहरूको समेत सहभागिताको अवसरलाई खुला गर्ने ।
– मौसम तथा आरोहण गतिविधि तथा सूचना अद्यावधिक गर्न प्रदेश सरकारलाई सहयोग गर्ने ।
– राष्ट्रिय प्राकृतिक विपत्तिहरूमा उद्धार सम्बन्धी कार्यहरूको लागि दक्ष आरोहीहरूलाई संलग्न गराउन तथा स्थानीय दक्ष उद्धारकर्ताको उत्पादन गर्न आवश्यक संरचना निर्माण गरी कार्य गर्ने ।
– आफ्नो उद्देश्य पुरा गर्न तथा सङ्घको छवि र गरिमालाई बढाउनका लागि सङ्घले आवश्यक ठानेको क्षेत्र र विषयमा केन्द्रित रही अन्य आवश्यक सामाजिक तथा रचनात्मक कार्य गर्ने गराउने ।
– गण्डकी प्रदेशवासीहरू तथा नेपालीहरू माझ पर्वतीय तथा हिमाल आरोहण सम्बन्धी खेलकुदहरूलाई लोकप्रिय बनाउने, राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरको खेलकुदको आयोजना गर्ने गराउने, त्यस्ता आयोजनाहरूमा सहभागी हुने ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …