September 10, 2021

नेपाल पर्यटन बोर्ड र निटोगबीचमा सात बुँदे सहमति, अनिश्चितकालिन धर्ना अन्त्य 

काठमाडौँ । नेपाल पर्यटन बोर्डसँग सात बुँदे सम्झौता गरेर नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ (निटोग) ले गर्दै आएको अनिश्चितकालिन धर्ना अन्त्य गरेको छ ।
सङ्घले पर्यटन श्रमिकको हितका लागि विभिन्न मागहरू राखी बोर्डको केन्द्रीय कार्यालयमा अनिश्चितकालिन धर्ना गरिरहेको थियो । बोर्ड र संघबीचको सहमति पत्रमा टिम्सलाई अनलाइन प्रक्रियाबाट वितरण गर्ने र श्रमिकको तथ्याङ्क राख्ने, एफआइटी टिम्सलाई हटाउने सम्बन्धमा एकीकृत टिम्स विनियमावली निर्माण उपसमितिमा लिखित जानकारी गराउने, पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष समान तरिकाले यथाशीघ्र परिचालन गर्ने, बोर्ड र राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) साझेदारीमा सञ्चालित दिगो पर्यटन कार्यक्रम र संघबीच परियोजना सञ्चालनका लागि सम्झौता हुने, पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ पर्यटकलाई क्वारेनटाइन हटाउनको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पुनः पत्राचार गर्ने लगायत रहेका छन् ।
सङ्घले यिनै मूल विषयहरू उठाएर बोर्डमा चार दिनदेखि धर्ना दिइरहेको थियो । सहमति पछि धर्ना अन्त्य गरिए पनि सहमतिको कार्यान्वयनलाई निरन्तर निगरानीमा राख्ने र कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने पनि  संघका अध्यक्ष राम काजी प्रयासले बिज्ञप्तिमार्फत बताएका छन् ।

Check Also

उपल्लो डोल्पाको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण

काठमाडौं । उपल्लो डोल्पामा रहेको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । ६५२८ मिटर अ…