यस्तो बन्दै छ ६० हजार गोर्खाको समाधिस्थल
स्याङ्जा । साल्मे डाँडामा बन्दै गरेको ६० हजार गोर्खाहरूको समाधिस्थलको पहिलो चरणको काम सकिन लागेको छ ।
सङ्घीय सरकारको तीन करोड रुपैयाँ अनुदानमा समाधिस्थल निर्माण गर्ने कार्यको ९० प्रतिशत काम भएको हो ।
साल्मे डाँडा फेदिखोला गाउँपालिकामा पर्ने एक रमणीय स्थान हो । गोर्खा स्मारक ट्रस्टले यहाँको ५२ रोपनी क्षेत्रफलमा गोर्खा स्मारक निर्माण गरिरहेको छ ।
यो स्मारकको निर्माण पूर्व गोर्खा सैनिकहरूबाटसहयोग उठाएर निर्माण थालिएको थियो । पछिल्लो समय सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्दै आएको छ ।
ट्रस्टका सचिव डा. चन्द्रबहादुर गुरुङका अनुसार पहिलो र दोस्रो विश्व युद्ध लडेका नेपालका गुरुङ, मगर, राई, लिम्बुलगायत २१ जातिको सांस्कृतिक केन्द्र पनि निर्माण गरिने छ ।
उक्त स्थानमा विश्व युद्धका बेला मारिएका गोर्खाहरूको चिहानहरूबाट माटो ल्याएर राख्ने योजना रहेको छ ।
समाधीस्थल अगाडि गोर्खा सन्तानले आफ्नो पुर्खालाई सम्झेर ध्यान गर्न मिल्ने गरी प्याराफिट बनाइएको छ ।
यसका साथै स्मारकभित्र गोर्खा सम्बन्धमा एउटा पुस्तकालय रहने र गोर्खाहरूको स्मरण दिलाउने अन्य संरचनाहरू बनाइने बताइएको छ ।
पर्यटकीय नगरी पोखराबाट १७ किलोमिटरको दुरीमा साल्मे डाँडा रहेको छ ।
गोर्खा स्मारक फेदिखोला गाउँपालिकाको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुने अपेक्षा राखिएको छ ।
फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गोर्खा स्मारक एक आकर्षक पर्यटकीय स्थान बन्ने र आफ्नो तर्फबाट हुन सक्ने सहयोग रहने बताए । ‘अहिले बजेट कटौती गरिएकोछ, यद्यपि हाम्रो तहबाट हुन सक्ने सबै खालको सहयोग गरिरहेका छौं र भविश्यमा पनि गरिरहने छौं’ उनले भने, ‘यो गोर्खा स्मारक पालिकाभित्रको एक उत्कृष्ट गन्तव्य बन्दैछ ।’
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …