October 27, 2021

पहिलो पटक उपल्लो डोल्पाको मरीयाङ हिमालको आरोहण गर्नेलाई सम्मान

कोरियन आरोहीहरु सम्मान ग्रहण गर्दै ।

काठमाडौं । उपल्लो डोल्पामा रहेको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । ६५२८ मिटर अग्लो यो हिमालको यही अक्टोबर १० तारिखका दिन कोरियन अल्पाइन रेस्क्यू एसोसिएसनबाट आएका सात जना आरोही र एक जना नेपाली शेर्पा गाइडले सफल आरोहण गरेका हुन् ।

एसोसिएसनका उपाध्यक्ष को इयून सोको नेतृत्वमा गएको टोलीले ३२ दिनको अवधिमा सफल आरोहण गरेर काठमाडौं फर्केका हुन् ।

टोली नेता सोका अनुसार आजसम्म कसैले नचढेको हिमाल भएका कारण क्याराभान रुट र आधार शिविर पत्ता लगाउन नै कठिनाई भएको थियो । ”हामीलाई काठमाडौँबाट आधार शिविर पुग्नका लागि नै १५ दिन लाग्यो” उनले आरोहीहरूको सम्मानमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आयोजना गरेको सम्मान कार्यक्रममा भने, ”स्थानीयको सहयोगले आधार शिविर पत्ता लागेपछि आरोहण तयारी गरेका हौँ ।”

उनले हिमालको आधार शिविरसम्म पुग्ने बाटो निक्कै गाह्रो र लामो भए पनि मनोरम रहेको बताए । ”कोरियाका साथीहरू र नेपालका साथीहरूको सहयोगले मरीयाङ हिमालको सफल आरोहण सम्भव भएको हो, हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ” उनले भने ।

सफल आरोहण गर्ने आरोही टोलीमा सोको साथै ली म्योङ् ही, लिम ज्योङ हेइ, जोङ जे ग्युन, इयोम तेचुइ, जुङ जे जीन, बेक जोङमिन र नेपाली गाइड वाङ्छु शेर्पा रहेका थिए । आरोहणको व्यवस्थापन ट्रकिङ क्याम्प नेपालले गरेको थियो ।

कोरियाली आरोहीहरूलाई एनएमएको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो भने ढाका टोपी ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री कृपा सुर शेर्पाले कोरोनाले थलिएको नेपाली पर्यटनलाई यस प्रकारको गतिविधिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारमा सघाउ पुर्‍याउने उल्लेख गर्दै सफल आरोहण गर्ने आरोहीहरूलाई बधाई दिएका थिए ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पश्चिम क्षेत्रको हिमाल आरोहण गर्नुले अन्तर्राष्ट्रिय रुपमा त्यस क्षेत्रको प्रचार प्रसार हुने बताए । प्रदेश न‌‍. १ र गण्डकी प्रदेशका हिमालहरू आरोहण हुने पनि कर्णाली र सुदूरपश्चिमका हिमालहरू कमै मात्र आरोहण हुने गर्दछन् ।

कार्यक्रममा एनएमएका अध्यक्ष सन्तवीर लामाले महामारी समयमा आएर भर्जिन हिमालको आरोहण गर्नुले संसारभरको आरोहीहरूलाई उत्साहित बनाएको बताए । साथै उनले निषेधित क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका हिमालहरूमा लाग्ने दस्तुरहरू एक द्वारा प्रणाली गर्न सरकारी पक्षसँग माग गरिएको बताए ।

Check Also

एमाले महाधिवेशनले जगाएको चितवनका पर्यटन व्यवसायीको आशा

नारायण अधिकारी चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा …