मरीयाङ हिमालको पहिलो आरोहण (फोटोफिचर)
काठमाडौं । उपल्लो डोल्पामा रहेको मरीयाङ हिमालको कोरियाली आरोहण दलले पहिलो पटक सफल आरोहण गरेको छ । ६५२८ मिटर अग्लो यो हिमालको यही अक्टोबर १० तारिखका दिन कोरियन अल्पाइन रेस्क्यू एसोसिएसनबाट आएका सात जना आरोही र एक जना नेपाली शेर्पा गाइडले सफल आरोहण गरेका हुन् ।
यसअघि जापानी टोलीले एक पटक आरोहण प्रयास गरेको भए पनि सफल नभएपछि यस हिमालको आरोहण भएको थिएन ।
एसोसिएसनका उपाध्यक्ष को इयून सोको नेतृत्वमा गएको टोलीले ३२ दिनको अवधिमा सफल आरोहण गरेर काठमाडौं फर्केका हुन् । टोली नेता सोका अनुसार आजसम्म कसैले नचढेको हिमाल भएका कारण क्याराभान रुट र आधार शिविर पत्ता लगाउन नै कठिनाई भएको थियो ।
”हामीलाई काठमाडौँबाट आधार शिविर पुग्नका लागि नै १५ दिन लाग्यो” उनले आरोहण अनुभव सुनाए, ”स्थानीयको सहयोगले आधार शिविर पत्ता लागेपछि आरोहण तयारी गरेका थियौं ।”
उनले हिमालको आधार शिविरसम्म पुग्ने बाटो निक्कै गाह्रो र लामो भए पनि मनोरम रहेको बताए । ”कोरियाका साथीहरू र नेपालका साथीहरूको सहयोगले मरीयाङ हिमालको सफल आरोहण सम्भव भएको हो, हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ” उनले भने ।
सफल आरोहण गर्ने आरोही टोलीमा सोको साथै ली म्योङ् ही, लिम ज्योङ हेइ, जोङ जे ग्युन, इयोम तेचुइ, जुङ जे जीन, बेक जोङमिन र नेपाली गाइड वाङ्छु शेर्पा रहेका थिए । आरोहणको व्यवस्थापन ट्रकिङ क्याम्प नेपालले गरेको थियो ।
कोरियाली आरोहीहरूलाई एनएमएको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो भने ढाका टोपी ओढाएर सम्मान गरिएको थियो । कोरोनाले थलिएको नेपाली पर्यटन क्षेत्रलाई पहिलो पटक हिमालको आरोहण गरेको हुँदा प्रचार प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हिमाल आरोहणमा संलग्नहरुका अनुसार नेपालमा यस्ता आरोहण नभएका भर्जिक हिमालहरु धेरै भएका कारण यस प्रकारको पहिलो आरोहणका कार्यक्रमहरुलाई अभियानको रुपमा चलाउन सके नेपाली पर्वतीय पर्यटनले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन सकिने बताउँछन् । अझ कर्णली र सुदूरपश्चिम प्रदेशका हिमालहरुको कमै मात्र आरोहण भएको छ ।
सबै तस्बिरहरु सौजन्य: वाङ्छु शेर्पा ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …