च्याम्चेको तारे भीर ‘रक क्लाइम्बिङ’ का लागि मुलुककै उत्कृष्ट
च्याम्चे (लमजुङ) । चक्रीय अन्नपूर्ण पदमार्गको लमजुङस्थित च्याम्चेको तारे भीर ‘रक क्लाइम्बिङ’ का लागि मुलुककै उत्कृष्ट स्थान हुन सक्ने बिज्ञहरुले औँल्याएका छन् । मर्स्याङ्दी गाउँपालिकाको संयोजनमा गण्डकी अल्पाइन क्लबसँग आबद्ध बिज्ञहरुले उक्त निष्कर्ष निकालेका हुन् ।
”हामीले देश भित्र र बाहिरका पनि विभिन्न स्थानमा रक क्लाइम्बिङ गर्दै आएका छौँ, त्यसको आधारमा भन्नु पर्दा यहाँ क्लाइम्बिङका लागि उत्कृष्ट चट्टान रहेको छ” क्लबका अध्यक्ष तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाहीले भने, ”केही पूर्वाधारको विकास गर्न सकियो भने यसलाई उत्कृष्ट रक क्लाइम्बिङ हबको रूपमा विकास गर्न सकिन्छ ।”
उनले धेरै ठाउँहरूमा यस्ता स्थानहरू आफूहरूले आफ्नै गोजीबाट खर्च हालेर खोजी गर्ने गरेको भए पनि यहाँ स्थानीय सरकारले चासो लिएको र अध्ययनका लागि आफूहरूलाई बोलाएकोमा खुबी व्यक्त गरे ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले वडा नं. ४ मा पर्ने च्याम्चेस्थित तारे भीरलाई ”रक क्लाइम्बिङ”को लागि कतिको उपयुक्त छ भनेर हेर्नका लागि विज्ञहरूलाई बोलाइएको बताए । ”उहाँहरूको सल्लाह र सुझाव अनुसार यसको पूर्वाधार विकासका लागि हामी आफैले अनि प्रदेश र सङ्घीय सरकारलाई समेत आग्रह गरिने छ” उनले भने, ”यस स्थानलाई मुलुककै रक क्लाइम्बिङको हब बनाउनका लागि गर्नु पर्ने कामहरू गरिनेछ ।”
क्लबका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनय जय मल्ललगायतले सन् २०१९ को अन्त्यतिर आफ्नै खर्चमा यस चट्टानको अन्वेषण तथा आरोहण गरेका थिए । उनीहरूले नै एउटा रुट खोले भने च्याम्चेका स्थानीयलाई उक्त चट्टान आरोहणको लागि उपयुक्त रहेको बताए ।
त्यसपछि त्यहाँका स्थानीयले पनि यस विषयमा चासो लिन थालेका हुन् । स्थानीयले उक्त चट्टानको आरोहणको लागि पूर्वाधार बनाउन तथा प्रवर्द्धनको लागि गाउँपालिकालाई गुहारेका हुन् । गत वर्ष गाउँपालिकाको बजेटमा मनाङ जाने मूल सडकबाट चट्टानसम्म जानका लागि पैदल मार्ग बनाएको थियो ।
”हामीले आफ्नै खर्चमा यहाँको चट्टान अन्वेषण गरेका थियौँ, उपयुक्त देखेपछि हामीले एउटा रुट बनाएर चढ्यौँ । यसरी आफ्नै खर्चमा यहाँ गरिरहन सम्भव थिएन । अहिले स्थानीय र गाउँपालिका आफै अघि बढ्दा खुसी लागेको छ” मल्लले भने, ”यो स्थान मुलुककै उत्कृष्ट रक क्लाइम्बिङ गन्तव्य बन्ने देखिन्छ ।”
उनले दुई सय मिटर भन्दा अग्लो र झन्डै आधा किलोमिटर लम्बाइ भएको यस चट्टानमा डेढ सय देखि दुई सय आरोहण रुट बन्न सक्ने बताए । ”एउटा रुट पुरा गर्न एक दिन लाग्दछ, यसरी हेर्दा यहाँ आउने पर्यटकले सबै रुट चढ्नकै लागि यस दिन भन्दा धेरै दिन लाग्छ” उनले भने, ”यसले यहाँको पर्यटन व्यवसायमा धेरै ठुलो टेवा पुग्ने देखिन्छ ।”
अध्ययन टोलीमा रहेका क्लबका सचिव ट्याग नेपाल ट्रेक एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक गोविन्द गुरुङले पनि तारे भीरमा चट्टान आरोहणको पूर्वाधार बन्न सक्ने हो भने त्यस क्षेत्रकै पर्यटनले अर्को दिशा लिने बताए । ”यसका प्रत्यक्ष र अप्रत्यक्ष फाइदाहरू छन्” उनले भने, ”यहीका युवाहरूले सीप सिकेर सिधै रक क्लाइम्बिङमा गाइडको काम गर्न सक्छन् भने अप्रत्यक्ष रूपमा यहाँका होटेल व्यवसायदेखि कृषिमा निर्भरहरूलाई समेत फाइदा पुग्ने छ ।”
मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ४ का अध्यक्ष सुमन गुरुङले रक क्लाइम्बिङको सम्भावना देखेर त्यस क्षेत्रका स्थानीयहरू उत्साहित भएको बताए । साथै उनले यस क्षेत्रको वरपर अन्य पनि पर्यटकीय स्थलहरू रहेकाले थप आकर्षण हुने बताए ।
च्याम्चेकै वरिपरि जगतमा तातोपानी कुण्ड रहेको छ भने नजिकै बुन झरना र अक्टोपस झरना पनि रहेको छ । साथै पर्यटकीय क्षेत्र मनाङ जाने बाटोमै पर्ने भएकोले पनि यसमा सहज पहुँच रहेको छ ।
नेपालमा रक क्लाइम्बिङले खेलकै दर्जा पाइ नसके पनि पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । राजधानी काठमाडौँका केही स्थानमा कृत्रिम चट्टान बनाएर चढ्ने गरेको पनि छ भने पर्वतारोहण तालिमका क्रममा यसलाई अनिवार्य बनाइएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …