आहा, तामेडाँडा !
- शब्द/तस्बिर : जीवन लामा
पर्यटकलाई घुम्नको लागि स्थानीय सरकारले पर्यटकीय स्थलहरुमा नयाँ संरचना निर्माण गर्न थालेका छन् । लकडाउनपछि घुमन्तेहरुले अझ नयाँ नयाँ गन्तव्य पहिचान गरेका छन् । ”देश घुमौं, देश चिनौं” भन्ने नेपाल सरकारको नारालाई पूरा गर्नको लागि पनि स्थानीय सरकारले उच्च प्राथमिकताकासाथ पर्यटकीय स्थलहरु निर्माण गर्न थालेको हो । अहिले नेपाल सरकारले कर्मचारीहरुलाई घुम्नको लागि विदाको व्यवस्था समेत गरेको छ ।
रामेछापको गोगुलगंगा गाउँपालिका रस्नालुको तामेडाँडा अहिले आन्तरिक पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । तामेडाँडाबाट रामेछापलगायत दोलखाको समेत अधिकांश भूभागहरु अवलोकन गर्न सकिने भएकाले यस स्थान धेरैको रोजाईमा परेको हो । यहाँबाट प्रशस्तै मात्रमा हिमश्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । दोलखाको कालिञ्चोक, हनुमन्ते, शैलुङ, चेर्दुङ, खरिढुंगा, दोलखा भीमेश्वर, मैनापोखरी बजार, जिरी, हाडडाँडाबजारको साथै सगरमाथा, गौरीशंकर, गणेश, जुगल, गौरीपर्वत, नुम्बुर, ग्याचुङ काङ, पुमोरी र अन्नपूर्ण हिमालको दृश्यावलोकनले पर्यटकहरुको मनमा छाप रहिरहन्छ ।
यहाँ सबै जातजातिलाई समेटेर मठमन्दिर र छ्योर्तेन निर्माण गरिएका छन् । घण्टौंसम्म भुलिन सक्ने गरी प्राकृतिक, धार्मिक र सुन्दर हिमश्रृङ्खलाहरु छन् । यहाँ पुगेपछि फर्किने मनै लाग्दैन । सिरसिर चल्ने चिसो हावाले झनै मनमा उमंङ्ग थपी दिन्छ ।
कसरी पुग्ने त ?
काठमाडौबाट चरिकोट दोलखासम्म १३२ किलोमिटर मोटरबोटोमा सररर आउन सकिन्छ । चरिकोटमा एक रातको बसाईपछि भोलिपल्ट बिहानै चरिकोटबाट ५५ किलोमिटर मोटरबाटो तामाकोशी बजार, मैनापोखरी बजार, खावाडाँडाहुँदै जिरी पुग्न सकिन्छ । जिरीमा बिहानको खानापछि खिम्तीखोला रस्नालु पुल तरेपछि गोगुलगंगा गाउँपालिकाको रस्नालु पुगिन्छ । रस्नालुको रमाइलो बस्तीलाई फन्कोमार्दै भुजी गाउँ पुगिन्छ । भुजीगाउँबाट नागबेली सडकहुँदै अघिबढेपछि गौरीशंकर हिमाल हाँसेको नियाल्न सकिन्छ । जिरीबाट २८ किलोमिटर मोटरबाटो पार गरेपछि तामेडाँडा सहजै पुग्न सकिन्छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …