May 18, 2022

तोंनी नासा (ताङतिङ) अर्थात् रमाइलो गाउँ

  • अनिता गुरुङ

पर्यटनको राजधानी पोखराबाट झण्डै दुई घण्टाको जीप यात्रामा पुगिने तोंनी नासा (ताङतिङ गाउँ) नाम जस्तै रमाइलो र घमाइलो छ ।

ढुंगा र टिनले छाएका झुरुप्प गुरुङबस्ती, आँखै अगाडी झलमल्ल हिम श्रृंखलाहरु र फरासिला मानिसहरुले भरिएको यो गाउँ पुगेपछि नरमाउने कोही होला र ? त्यसैले होला, ताङतिङ हुनुअघि यो गाउँको नाम स्थानीय गुरुङ भाषामा तोंनी नासा भनिएको ।

समुद्र सतहदेखि १ हजार ६ सय ६० मिटरको उचाईमा रहेको यो गाउँ कास्कीको मादी गाउँपालिका वडा नं. २ मा पर्दछ । पछिल्लो समय यस गाउँले पर्यटकहरु माझ छुट्टै छाप छाड्न थालेको छ । आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चर्चा कमाएको ताङतिङ पोखरादेखि जम्मा २१ किमीको दूरीमा रहेको छ ।

९५ % गुरुङ र ५% दलित समुदाय मिलेर बसेको यस गाउँ र यसका परिपरि पर्यटकलाई आकर्षित गर्ने ऐतिहासिक, धार्मिक, प्राकृतिक र सांस्कृतिक स्थलहरु छन् । यहीबाट गुरुङ सभ्यताको विकास भएको ठाउँ क्होलास्वोंथर जान सकिन्छ भने क्रपु डाँडा अर्को आकर्षणको रुपमा रहेको छ ।

ताङतिङ मादी गाउँ पालिकाको उत्तर पुर्वी सिमाना, लमजुङ र मनाङसँग जोडिएको र गाउँपालिकाको सबै भन्दा धेरै क्षेत्रफल ओगटेको वडा पनि हो । ताङतिङको शीरको रुपमा रहेको क्रपु डाँडा गाउँबाट करिब एक घण्टाको जीप यात्रामा पुगिने ३०८५ मिटर उचाइमा रहेको छ ।

यसको कुदी च्हो भन्ने स्थानमा क्होलास्वोंथरबाट आएर गुरुङहरुले पहिलो बस्ती बसाएको विश्वास गरिन्छ । यहाँ धेरै वर्ष पुरानो बस्तीको भग्नावशेषहरुसमेत छन् । सयौं वर्षअघिको यस पुरातात्विक महत्वको स्थानको अझै उत्खनन् भएको छैन ।

क्रपु डाँडा पुगेपछि उत्तरतिर हिमश्रृंखलाहरु नाकैमा ठोक्किन आइपुग्छन् भने पूर्व–दक्षिणमा लमजुङका विभिन्न गाउँहरु, दक्षिणमा पोखरा सहर र दक्षिण–पश्चिमतिर कास्कीकै सिकलेसलगायत अन्य रमणीय स्थलहरु देख्न सकिन्छ । हिउँदमा यस स्थानमा हिउँ खेल्नेहरुको भीडै लाग्छ भने प्याराग्लाइडिङका लागि पनि परीक्षण उडान भइसकेको छ ।

ताङतिङबासीको मुख्य पेशा अझै पनि कृषि र पशुपालन नै हो । यद्यपी विदेश जाने र लाहुरे हुने लहर यो गाउँमा पनि छ । पछिल्लो समय स्थानीय सरकारको सहयोगले यहाँ सानातिन कृषि उद्यमहरुको पनि सुरु भएको छ । यहाँका महिलाहरु सामुहिक रुपमा कृषिमा लगानी गरेर आर्थिक रुपमा आत्मानिर्भर भएका छन् । साथै पर्यटन व्यवसायमा संलग्न भएपछि महिलाहरुलाई आर्थिक रुपमा सवल हुन सहयोग पुगेको मादी गाउँपालिका वडा नं. २ सदस्य कल्पना गुरुङ बताउँछिन् ।

ताङतिङका जनताले पर्यटनको विकास मार्फत गाउँमा समृद्धि ल्याउने सपना देखेका छन् । ताङतिङलाई आधार बनाएर विभिन्न ठाउँहरुमा पदयात्रा पनि गर्न सकिन्छ । त्यस मध्ये एक हो, गुरुङ समुदायको सभ्यता विकास भएको मानिएको क्होलास्वोथरको यात्रा । यहाँबाट क्होलास्वोंथर हुँदै लमजुङका विभिन्न गाउँहरुमा पुग्न सकिन्छ । त्यसै गरेर क्रपु डाँडा, कपुचे, कोरीलगायतका पर्यटकीय स्थलहरु पनि यहीबाट जान सकिन्छ । पारी पट्टी अर्को पर्यटकीय गाउँ सिकलेस रहेको छ ।

पछिल्लो समय ताङतिङ घुम्न आउने पर्यटकहरुको लागि खाना र बस्नका लागि राम्रो सुविधा हुन थालेको छ । यहाँ १४ वटा होमस्टे र ७ वटा होटेल तथा लजहरुमा सञ्चालनमा छन् । यि सबैमा गरेर करिब तीन सय जना पाहुनालाई खाना बस्नको ब्यवस्था हुने ताङतिङ होमस्टे समितिका सचिव पुनम गुरुङ बताउँछिन् । अझ धेरै पहुना भएमा गाउँका अरु घरहरुमा पनि राख्न सकिन्छ । होमस्टेहरु पूर्ण रुपमा महिलाहरुले सञ्चालनमा ल्याएका हुन् । यसले महिलाहरुलाई आर्थिक रुपमा सबल हुन सहयोग गरेको छ ।

होटलमा होस् या होमस्टे, पाहुना आएपछि फुलमाला र अक्षताले स्वागत गर्ने चलन यहाँ रहेको छ । यहाँ मौसम अनुसार स्थानीय उत्पादनबाट बनेका परिकारहरुको स्वाद लिन पाइन्छ । साँझमा पर्यटकहरुलाई मनोरञ्जन दिन आमा समुह र युवा क्लबका सदस्यहरुले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्छन् । होमस्टे समिति तथा ताङतिङ होटेल समितिले राति ११ बजे पछि भने नाचगान र होहल्ला गर्न नपाइने नियम बनाएका छन् ।

ताङतिङमा अरु पनि पर्यटकका लागि आकर्षक स्थानहरु छन् । त्यस मध्येमा पर्छ, धार्मिक महत्वको नौजु डाँडा । नौजु डाँडा गाउँबाट करीब ४० मिनेट को दूरीमा पर्दछ । यही स्थान नजिकै छ, ढुंगाले बच्चा जन्माउने विश्वास गरिएको स्थान । समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा रहेको नौजु डाँडाबाट माछापुछ्रे र अन्नपुर्ण हिमश्रृखंलाहरु देख्न सकिन्छ । गुरुङ जातिको आदिम थलो क्होलासोंथरबाट बसाइँ सर्दै आउने क्रममा यो क्षेत्रमा पनि गुरुङहरुले बस्ती बसालेका थिए ।

ताङतिङ गाउँको एउटा अर्को विशेषता पनि छ, त्यो हो विदेशी गाउँसँग मितेरी साइनो गाँस्ने नेपालको पहिलो गाउँ। संयुक्त अधिराज्यको विम्बीस र देप्तेन दुईवटा गाउँहरु ताङतिङ गाउँका मितेरी गाउँहरु हुन् । सामाजिक अभियन्ता जीत गुरुङका अनुसार विदेशी गाउँसँग मितेरी साइनो गाँसेका कारण विभिन्न कार्यहरुमा सहयोगहरु प्राप्त भएका छन् भने सांस्कृतिक अदानप्रदानको काम पनि भएको छ ।

पर्यटनको विकाससँगै सहर पसेकाहरुको पनि गाउँमै केही गर्ने चाह बढ्न थालेको छ । त्यसै मध्येका हुन्, वेलायती सेनाबाट अवकास पाएका समाजसेवी मेजर बालासिंह गुरुङ । उनले अहिले गाउँको पुरानो घरको मर्मत संभार गर्न थालेको झण्डै सात महिना पुग्यो । पुरानो घरलाई मर्मत गर्नुका साथै धन्सारमा चिटिक्को एक बेड रुमको अपर्टमेन्ट पनि बनाएका छन् । ती घर र धन्सार सबै आधारभूत सुविधाहरुले युक्त छन् । काठमाडौंमा आरामदायी जीवन यापन गरिरहेका गुरुङले आफु र आफ्नो परिवार जाँदा बस्ने र अरु बेलामा पाहुनाका लागि उपलब्ध गराउने हेतुले पुरानो घरको मर्मत संभार गरिएको बताए ।

 

ग्रामिण पर्यटनका लागि प्रचुर सम्भावना रहेको प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण ताङतिङ गाउँलाई ग्रामिण पर्यटनको उत्कृष्ट गन्तव्य बनाउनका लागि उचित प्रचार प्रसार आवश्यक रहेको पर्यटन अभियन्ता, हिमालय मिलन माविका प्रधानाध्यापक प्रकाश गुरुङले बताए ।

ताङतिङ आफ्नै संस्कृति संस्कारले भरिपूर्ण छ । गुरुङ समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारगत कुराहरुको चित्रात्मक अवलोकन  क्होइबोमा गर्न सकिन्छ । क्होइबो गुरुङ पुरोहितहरु पज्यु, घ्याब्रे र बोन लमको पुजास्थल हो । त्यही क्होइबोको भित्रि भित्तामा जन्मदेखि मृत्युसम्म गरिने संस्कारको चित्रहरु राखिएका छन् । अर्को आकर्षणको रुपमा बुद्ध धर्मावलम्बीको गुम्वा पनि गाउँमै छ । बाहिरबाट घुम्न आएकाहरुले गुम्बामा आएर लामा गुरुसँग वाङ् लिन सक्छन् ।

 

 

Check Also

थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन एनएमएको माग

नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ…