June 2, 2022

नाराको अध्यक्षमा अधिकारी, जलयात्रा पर्यटन प्रवर्द्धन गर्न माग

काठमाडौँ । जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् ।

नाराको आज सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुन् ।

उपाध्यक्षमा रेन्बो एडभेञ्चरका सञ्चालक शिशिर खनाल, महासचिवमा रक रिभरसाइड रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, सचिवमा नेपाल रिभर रनरका सञ्चालक राजु खड्का, कोषाध्यक्षमा नेक्सस हिमालयन रिभरका सञ्चालक राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा स्वीसा र्‍याफ्टिङका सञ्चालक इन्दुदेवी वाग्ले निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सूर्यप्रसाद जोशीले जानकारी दिए ।

कार्यसमिति सदस्यमा रिभर बे एण्ड र्‍याफ्टिङका सञ्चालक महेन्द्र श्रेष्ठ र तमोर रिभर एडभेञ्चरका सञ्चालक मदन ढकाल निर्वाचित भएका छन् । नारामा निवर्तमान अध्यक्ष र पोखरा शाखाका अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था रहेको छ । यस्तै एक जनालाई अध्यक्षले पछि मनोनीत गर्ने नाराले जनाएको छ । नाराको वर्तमान कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था रहेको छ ।

जलयात्रा पर्यटन प्रवर्द्धन गर्न माग

नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवर्द्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी प्रदूषण र ढुङ्गा गिटी उत्खनन हुँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले समग्र पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभाग गम्भीर भएर लागेको बताए ।

“पर्यटन क्षेत्रमा रहेको समस्या समाधान गर्ने प्रमुख दायित्व पर्यटन व्यावसायिकै हो, यसमा विभाग हातेमालो गर्न तयार छ,” उनले भने । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा जलयात्रा पर्यटन विस्तारको सम्भावना रहेको जनाउँदै यहाँभित्र रहेका नदी तथा खोलाको संरक्षणमा सरकार लाग्नुपर्ने बताए । उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्कप्रसाद भट्टराईले प्रदेश ऐनका कारण पर्यटन क्षेत्रमा भएका अफ्ठयारा समाधानका लागि व्यवसायी र सरकार बसेर काम गर्नुपर्ने बताए ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले नेपालको जलयात्रामार्फत शाहसिक पर्यटन व्यवसायमा नाराले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यसलाई जोगाइराख्ने चुनौती रहेको बताए । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनस्थापना गर्नका लागि पर्यटन व्यवसायीबीच आपसी सहमति र सहकार्यको खाँचो रहेको बताए ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष नवराज दाहाललगायतले जलयात्रा पर्यटनको सम्भावना भएको ठाउँमा विद्युतगृह बनाउँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएको बताए ।

नाराका अध्यक्ष गङ्गाप्रसाद नेपाल, उपाध्यक्ष मेखबहादुर आले र महासचिव शिशिर खनाललगायतले र्‍याफ्टिङ कम्पनी दर्ता गर्दा लाग्ने अधिकृत पुँजी रु पाँच लाखबाट बढाएर ५० लाख बनाएको भन्दै उक्त निर्णय तत्काल सच्याउन प्रदेश पर्यटन मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभएको थियो । उक्त साधारण सभाले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।

 

Check Also

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…