June 9, 2022

सुनासन छ लमजुङका पर्यटकीय गाउँहरु

घलेगाउँ ।
  • जनक श्रेष्ठ

लमजुङ । जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ ।

नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनास, भलामचौर, भुस्मे, नरुवाललगायत घरवासमा गत चैत १५ गतेयता मुस्किलले १०/१५ जना आउने गरेका छन् । स्थानीय तह निर्वाचनको चुनाव र बर्खा लाग्दा पर्यटक आगमन ह्वात्तै घटेको सञ्चालक बताउँछन् । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरवासमा चुनाव अघिसम्म दैनिक डेढ सयदेखि २०० पर्यटक आउने गरेका थिए ।
त्यसयता ३०/४० जना मात्र आउने गरेको सञ्चालक दिर्घ घलेले बताए । उनले भने, “कोरोनाले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा फेरी पर्यटक आउन छाडेका छन् । पर्यटक नआउँदा आम्दानी रोकिएको छ ।”

वर्खा लागेकाले घरवास सञ्चालक चिन्तित बनेका छन् । “भदौयता पर्यटक आउने सम्भावना कमै छ, आम्दानी हुन छाड्यो, घर खर्च चलाउन समस्या भयो”, घरवास सञ्चालक काशी गुरुङले भने । विसं २०५७ देखि सञ्चालित उक्त क्षेत्रमा यतिबेला ३७ घरवास सञ्चालनमा छन् । पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।

घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा छ । यो आदिवासी जनजाति गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ पनि हो । यहाँबाट ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल, ७ हजार ८३५ मिटरको ङादीचुली (डा हर्क हिमाल), ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६७२ मिटर अग्लो बुद्व हिमालको अवलोकन गर्न सकिन्छ ।

भुजुङ ।

यहाँ घलेराजामध्ये अन्तिम ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरवास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् । पर्यटकलाई सत्कारसँगसँगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका गुरुङसेनीको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत सांस्कृतिक नृत्य प्रस्तुत हुने गर्दछ ।

समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको बेँसीशहर नगरपालिका–३ लमजुङ दरबार नजिकै रहेको काउलेपानी घरवासमा पनि वैशाखयता पर्यटक नआउँदा सुनसान छ । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, “लामो समयदेखि पर्यटक आएका छैनन्, झन् अब बर्खा लाग्न थाल्यो, घरवाससम्म आउनका लागि बाटो पनि राम्रो छैन, केही महिना सुनसान नै हुने देखिन्छ ।” विगतमा यहाँ दैनिक ४०० देखि ५०० पर्यटक आउने गरेका थिए ।

खासुर ।

सन् २०११ बाट सञ्चालनमा आएको यस क्षेत्रका १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको बसोबास छ । काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डाक्टर हर्कपिकलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार र सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । यहाँ प्रतिपर्यटकले खाना र बाससहित एक रातको रु एक हजार ५० तिर्नु पर्छ ।

गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ । स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत गरी पर्यटकलाई सँगसँगै नचाउने गर्छन् । बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदल दुई घण्टा लाग्छ । पैदल यात्रुका लागि सिँढी निर्माण गरिएका छन् । यहाँ पुग्ने सडकको स्तरोन्नति गरिएको छ ।रासस

 

Check Also

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…