June 12, 2022

पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका थिए ।

सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याए । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भए । त्यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भए भने उनका प्रतिद्वन्दी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरे । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् । त्यसैगरी आरोही (बुक होल्डर) र पर्यटन मजदुर तर्फका सदस्यमा आङनोर्बु शेर्पा, लामा बाबु शेर्पा र लाल बहादुर शेर्पा विजयी भएका छन् । तुलसिंह गुरुङ र पासाङ तेञ्जिङ शेर्पाले बराबर मत ल्याएका कारण आधा आधा कार्यकाल सदस्यको जिम्मेवारी संहाल्ने छन् ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ ।

Check Also

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…