August 1, 2022

सांस्कृतिक, धार्मिक तथा प्राकृतिक अवयवहरूले भरिपूर्ण गणेश हिमाल आधार शिविर पदमार्ग

शब्द तथा तस्बिर: कान्छी डोल्मा ह्योल्मो/सञ्जीव गुरुङ

यस पटक हामीले गोरखाको एउटा नयाँ पदमार्गको चिनारी लिएर आएका छौं । सांस्कृतिक, धार्मिक तथा प्राकृतिक अवयवहरूले भरिपूर्ण तर अझैसम्म पनि एक्सप्लोर नभएको यो पदमार्गको विकास गर्न सकिएमा यात्रा मन पराउनेहरूले एउटा नयाँ गन्तव्यको स्वाद लिन पाउने छन् भने स्थानीयको जीवनस्तर उक्सिने छ ।

हामीले १२ दिन लगाएर अध्ययन गरेको यो पदमार्ग उत्तरी गोरखामा पर्ने गणेश हिमालको आधार शिविर पुग्ने पदमार्ग हो । यसका लागि धार्चे मनास्लु पर्यटन विकास समितिले अगुवाइ गरेको थियो भने धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोग थियो । गणेश हिमाल आधार शिविर पदयात्रा तथा गणेश कुण्ड – कालो पोखरी पदमार्गका बारेमा यहाँ दैनिकी विवरण दिएका छौं ।

पहिलो दिन: काठमाडौँ – अर्खेत (५५२ मि. सम्म बस यात्रा) ।
बाटोको अवस्था: पृथ्वी राजमार्ग मोटर बाटो
बाटोको दुरी: १९० कि.मि.
अनुमानित समय: ७/८ घण्टा
मुख्य आकर्षण: ऐतिहासिक गोर्खा दरबार आदिको दृश्यावलोकन ।

हाम्रो पहिलो दिनको यात्रा बसमा काठमाडौँदेखि आर्खेतसम्म रह्यो । अर्खेतसम्मको यात्राको दुरी १९० कि.मि. रहेको छ । अर्को बाटो धादिङबेंसी हुँदै पनि अर्खेत जान सकिन्छ । तर गोरख बजार हुँदै जाँदा ऐतिहासिक गोरख दरबारको अवलोकन पनि गर्न सकिन्छ । आरुघाट बजारसम्म कालो पत्रे रोड भएकोले बस यात्रा सहज छ । लगभग ७/८ घण्टाको बस यात्रा पछि हामी र्खेत पुग्यौँ । अर्खेत, अरूघाट गाउँपालिकाको वडा नं ४ मा पर्दछ । बुढी गण्डकीको किनारमा अवस्थित अर्खेत एउटा सुन्दर बस्ती हो, जुन मनास्लु हिमाल आरोहणको मुख्य बाटो तथा मनास्लु, चुम भ्याली ट्रेकिङको बाटोमा पर्दछ । यस ठाउँमा घले जातिको बाहुल्यता छ भने अरू जातिका मानिसहरूको पनि बसोबास रहेको छ । अर्खेतमा होटेल, लजहरूको राम्रो व्यवस्था छ। अर्खेतबाट गणेश हिमाल र बुद्ध हिमालको अवलोकन गर्न सकिन्छ ।

दोस्रो दिन: अर्खेत – केरौंजा (२१०८मि. सम्म ५/६ घण्टा जिप यात्रा) ।
बाटोको अवस्था: ग्राभेल रोड
बाटोको दुरी: ३८ कि. मी.
अनुमानित समय: ५/६ घण्टा

मुख्य आकर्षण: सुन्दर गाउँ बस्ती यार्सा, काशी, वन जङ्गललगायत विभिन्न मनमोहक हिमालहरू दृश्यावलोकन
आवश्यकता: होमस्टे, पर्यटन सम्बन्धी जनचेतना तालिमहरू

दोस्रो दिन हामीले जिपमा केरौँजासम्मको ३८ किलोमिटर यत्रा गर्‍यौँ । कच्ची बाटो रहेकोले जिप यात्रा त्यति सहज भने रहेन तर बाटोबाट देखिने डाँडाकाँडा, नदी–नाला विभिन्न मनमोहक हिमालको दृश्यले बाटो काट्न सजिलो बनायो । सोती खोला नपुग्दै बुढी गण्डकी पार गरी माम्बुतिर उकालो लागियो । माम्बु ठुलो बस्ती हो । हाम्रो दिउँसोको खाना यही माम्बुमा भयो । साथमा स्थानीयबासीसँग कुराकानी गर्‍यौँ । मान्बुमा घले, गुरुङ, विकहरूको बसोबास छ । टाढा टाढाबाट विद्यार्थीहरू मान्बुमा उच्च माध्यमिक शिक्षाका लागि आउँदा रहेछन् । मान्बुमा घले जातिको आफ्नो विशेषता तथा महत्त्व परम्परागत घाटु नृत्य गरिँदो रहेछ । यो नृत्य चैते दसैँमा एक दिन र चन्द्र पूर्णिमामा तीन दिनसम्म नाचिँदो रहेछ । मान्बुबाट नै गङ्गा जमुना गाउँपालिका अन्तर्गत पर्ने नेपालकै दोस्रो अग्लो पुल र सती डाँडाको अवलोकन गर्न सकिँदो रहेछ ।

कटोचे, धुन्चेत, दोरोत, दारचेत, यार्सा खोला हुँदै यार्सा गाउँ पुगिन्छ । यार्सा गाउँ ठुलो बाक्लो सुन्दर बस्ती हो । यस बस्तीमा पनि घले र गुरुङ जातिको बाहुल्यता छ। यार्सा गाउँ ग्रेट हिमालय ट्रेल अन्तर्गत पर्दछ । यहाँ होमस्टेको व्यवस्था छ । केही बेरको ड्राइभ पछि सुन्दर काशी गाउँ पुगिन्छ । काशी गाउँ पनि घले र गुरुङहरू बाहुल्यता रहेको गाउँ हो । यहाँसम्म ग्रेट हिमालय ट्रेल पर्दछ । पर्यटकीय दृष्टिकोण धेरै धार्मिक, ऐतिहासिक र सांस्कृतिक पक्षहरू यस गाउँमा छन् । सेलका कुण्ड एक धार्मिक महत्त्व बोकेको स्थल हो । काशी गाउँमा प्रत्येक वर्ष अन्न बालीको रक्षा गर्नको लागि लामाबाट परम्परागत छेच्यु नाच गर्ने गरिन्छ । साथै विभिन्न चाड पर्वमा मारुनी नृत्य पनि नाचिँदो रहेछ । यहाँ घले दरबार सङ्ग्रहालय पनि रहेको छ । यस गाउँबाट पदयात्रा गरी गणेश कुण्ड जान सकिन्छ ।

काशी गाउँबाट दुई घण्टा जतिको ड्राइभ पछि केरौंजा पुगिन्छ । आजको हाम्रो बास यही हो । केरौंजामा करिब ७०० घरधुरीमा लगभग तीन हजार जनसङ्ख्या रहेको छ । यो गाउँमा पनि घले र गुरुङहरूको बाहुल्यता रहेको छ । साथै केही विकहरूको पनि बसोबास छ। केरौंजामा विद्यालय, वडा कार्यालय, हेलिप्याड, हेल्थ पोस्ट भ्यूटावरको निर्माण गरिएको छ । यस गाउँमा खेती उपयुक्त जमिन धेरै छ। केरौंजा गाउँमा पनि आगन्तुकको लागि होमस्टेको व्यवस्था गरिएको छ ।

तेस्रो दिन: केरौजा – मावुङ खर्क (३०२४मि. सम्म पैदल यात्रा)
बाटोको अवस्था: गोरेटो
बाटोको दुरी: लगभग ५ किलोमिटर
अनुमानित समय: ४/५ घण्टा
मुख्य आकर्षण: केरौंजा गाउँ, भ्यूटावर, सेमचेन ताल आदि।
आवश्यक संरचना: होमस्टे, पर्यटन सम्बन्धी जनचेतना तालिमहरू, ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, खानेपानी व्यवस्था ।

केरौंजा गाउँबाट उकालो पैदल यात्रा सुरु हुन्छ । पदमार्गमा अघि बढ्दै सुन्दर वन जङ्गल विभिन्न डाँडाकाँडा, हिमालहरूको अवलोकन गर्दै सेमचेन ताल, सदर डाँडा, बुन्मरचेत हुँदै मावुङ खर्क पुगियो । यो खर्क जङ्गलको बीचमा छ । यहाँ साना ठुला भेडी खर्कहरू छन् । यहाँ मानव बस्ती नभएकोले हामीले बासका लागि टेन्टहरू गाड्यौँ । वन जङ्गलको बीचमा चराचुरुङ्गीको सुमधुर स्वर र रातको शान्त वातावरणले हाम्रो यात्रा अझ आनन्दमय बनायो । कालिज, मुनाललगायत धेरै थरी चराचुरुङ्गीहरू पाइँदो रहेछ ।

 

चौथो दिन: मावुङ खर्क – मेगाचेत ओडार (पैदल यात्रा)

बाटोको अवस्था: बाटो नभएको अवस्था ।
बाटोको दुरी: १२ किलोमिटर
अनुमानित समय: ७/८ घण्टा
मुख्य आकर्षण: साने काङ पास ४२३५ मि.
आवश्यकता: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, खाने पानीको व्यवस्था

केहिबेरको उकालो चढाइपछि लाम्बरा डाँडा पुगियो । यहाँ काशी गाउँबाट आउने बाटो पनि जोडिन्छ । ढकमक्क लाली गुराँसले ढाकिएको लाम्ब्रा डाँडा साथमा मनमोहक दृश्यहरुले हाम्रो पदयात्रा अझ रमणीय बनायो । फोटो, भिडियो लिँदै फेरि उकालो लागियो । भुङ्मार्चेत हुँदै बिरिम पाखामा दिउँसो खाना बनाइ खाइयो । डाँड डाँडाको बाटो साथमा मनमोहक हिमालहरूको दृश्यावलोकन गर्दै हिँडियो । बिदिम् डाँडा, मन्दरा डाँडा हुँदै साने गाँङ पास पुगियो । यो पास ४२३५ मिटर उचाइमा रहेको छ, जुन धादिङसँग जोडिएको सिमाना हो । यहाँबाट मेघाचेतसम्म धादिङ जिल्ला अन्तर्गत पर्दछ । मेघाचेतबाट उत्तरतिर गणेश कुण्ड पर्दछ तर हाम्रो कुण्ड जाने योजना नभएकोले ओरालो लागियो र मेघाचेत ओडारमा आइ आजको रात यहि ओडार बिताउने योजना बन्यो । आज हामीलाई गणेश हिमाल, बुद्ध हिमाल, मनास्लु हिमाललगायत हिमालहरूको र मनमोहक भौगोलिक दृश्य डाँडा पाखाहरुको अवलोकन गर्ने मौका मिल्यो । यस ट्रेकमा ९ थरीका लालीगुराँस, गोब्रे सल्ला, धुपी, लोकता, डाँफे, मुनाल, कालिज, बाघ, भालु, मृग आदि देख्न हेर्न पाइने रहेछ ।

पाँचौँ दिन: मेघाचेत ओडार – रुन्चेत (१७६३मि० सम्म पैदल यात्रा)
बाटोको अवस्था: भेडा हिँड्ने बाटो, गोरेटो
बाटोको दुरी: १३ किलोमिटर
अनुमानित समय: ५/६ घण्टा
मुख्य आकर्षण: भौगोलिक दृश्य
आवश्यकता: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, खानेपानीको व्यवस्था, क्याम्प साइट निर्माण

आज यात्राको पाँचौँ दिन, अर्थात् तेस्रो पदयात्राको दिन, मेघाचेत ओडारबाट रुन्चेतसम्म ओरालो लागियो । खुल्ला मौसम, मनोमाहक दृश्यको साथमा भौगोलिक दृश्यहरू पनि कमका छैनन् । केही घण्टाको हिँडाइ पछि रोङ्जा डाँडा पुगियो । यहाँबाट गणेश हिमाल रेन्ज, आठ हजार माथिका हिमाल माउन्ट मनास्लु, डा. हर्क चुली, हिमचुली, बुद्ध हिमाल, पाङ्पोचे हिमाल, चमर, गणेश हिमाल, पविल हिमाललगायत धेरै हिमालहरूको अवलोकन गर्न सकिन्छ । केहिबेर रोङजा डाँडाको आनन्द लिएपछि कालो पोखरी तिरको ओरालो लागियो । यो पोखरी धार्मिक हिसाबले महत्त्वपूर्ण मानिने रहेछ । स्थानीय बासिन्दाहरू परापूर्वकालदेखि कालो पोखरी प्रति ठुलो आस्था राख्ने रहेछन् । पूर्व कालमा कालो पोखरी रून्चेत गाउँदेखि मुनि बेँसीमा थियो रे । फोहोर मैला भएको कारणले कालो पोखरी त्यहाँबाट सरेर गुम्बाचेत भन्ने ठाउँमा पुग्यो, फेरि त्यहाँ त्यस्तै फोहोर भए पछि त्यहाँबाट पनि सर्दै चङगर्चेत र त्यहाँबाट सरेर गणेश कुण्डमा पुग्यो र त्यहाँबाट नि सरेर अहिले भएको ठाउँमा कालो पोखरी आएको जनविश्वास पाइयो । कालो पोखरी डाँडाको टुप्पामा र पानी आउने कुनै मुहान नभएको तर पनि त्यस पोखरीको पानी कहिले नसुक्ने स्थानीयहरू बताउँछन् । कालो पोखरीबाट हिमाल झन् नजिकिन्छ । स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ । लगातार ओरालो यात्रा पछि हामी रुन्चेत पुग्यौँ ।

रून्चेत गाउँ न्याउली खोलाको किनारमा बसेको एउटा सुन्दर बस्ती हो । जहाँ ३०० घरधुरीमा लगभग दुई हजार जनसङ्ख्या छ। यस गाउँमा गुरुङको बाहुल्यता छ भने घले र विकहरूको पनि बसोबास रहेको छ । कक्षा ८ सम्म स्कुल, स्वास्थ्य इकाई र ‌ऐतिहासिक मणि छोर्तेन निर्माण गरिएको छ । यस मणि छोर्तेनको आफ्नै ऐतिहासिक महत्त्व रहेछ । पूर्वकालमा यस रून्चेत गाउँमा भूतप्रेतले साह्रै दुख दिने, अन्नबाली नष्ट गरिदिने, मानवको विकास हुनै नदिने जस्तो क्रियाकलाप धेरै भएपछि त्यसलाई रोक्न ५ देवी देवता स्थापित गरेर छोर्तेन निर्माण गर्नु परेको स्थानीयको भनाई रहेको छ । यहाँ प्रत्येक वर्ष मणि पूजा गरिन्छ, यो पूजालाई स्थानीय भाषामा मणि गुम्बा, युल्सा मणि र जिम्बु मणि भनिने रहेछ ।

छैठौं दिन: रुन्चेत – हुल्चुक (१५०२मि.सम्म पैदल यात्रा)

बाटोको अवस्था:        गोरेटो
बाटोको दुरी:          ७ किलोमिटर
अनुमानित समय:      ४/५ घण्टा
मुख्य आकर्षण:      भौगोलिक दृश्यावलोकन, कम्ला कोट ऐतिहासिक स्थल, स्थानीय संस्कृति
आवश्यक संरचना: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, खानेपानीको व्यवस्था, क्याम्प साइट निर्माण

रुन्चेतको स्थानीय युवाहरूसँगको बिदाइ पछि हुल्चुक तिरको यात्रा सुरु भयो । केहिबेरको हिँडेपछि झाँक्री धारा पुगियो । यो धाराको विशेषता छुट्टै रहेछ । झाँक्री धाराको पानी झाँक्री वंशजले खान नहुने भन्ने चलन रहेछ । परापूर्वकालमा मगर राजालाई मारेर त्यस धाराको पानीको मुहान (खोँचमा) मा फ्याँकी दिएको हुनले झाँक्री वंशजले अझै पनि धाराको पानी रक्तयुक्त देखिने जनविश्वास पाइन्छ।  झाँक्री वंशजले त्यहाँ साथै रहेको अर्को धाराबाट मात्रै पानी खाने गर्दछन् । धारादेखि ठाडो उकालो लागेपछि मगर राजाको कुकुर बाँध्ने ठाउँ पुगिन्छ । तत्कालीन समयमा त्यस ठाउँमा सुरक्षाको हेतुले कुकुरहरू राख्ने गरिने भन्ने स्थानीयको भनाइ छ । थोरै उकालो लागे पछि मगर राजाको कोटमा पुगिन्छ । यस ठाउँमा मगर राजा र घले राजाबिच प्राय: युद्ध हुने गर्दथ्यो । अहिले त्यस ठाउँमा मगर राजाको भवनको अवशेष मात्रै छ। केहिबेरको उकालो पछि गुम्बा डाँडा पुगियो । गुम्बा डाँडादेखि ओरालो झर्दै वन जङ्गल, खेत बारी हुँदै हुल्चुक पुगियो । बुढी गण्डकीको किनारमा अवस्थित हुल्चुक गाउँ धार्चे गाउँपालिका वडा नं. १ अन्तर्गत पर्दछ । सिङ्गो वडा १ मा यो एउटा गाउँ मात्रै छ । २ सय १५ घरधुरीमा १०९७ जनसङ्ख्या भएको यस गाउँमा घले, गुरुङको बाहुल्यताका साथ बाहुन र विकहरूको पनि बसोबास छ । यस गाउँको घले गुरुङहरूको स्थानीय भाषा उत्तरी तमु फुङ भनिने रहेछ ।

सातौँ दिन: हुल्चुक – ओडार क्याम्प (२०६५मि.सम्म पैदल यात्रा)
बाटोको अवस्था:    भिर, सुर्ती बारीसम्म गोरेटो त्यसपछि पुरै जङ्गल
बाटोको दुरी:        ५ कि.मि.
अनुमानित समय:    ६/७ घण्टा
मुख्य आकर्षण: भौगोलिक दृश्यावलोकन
आवश्यकता: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, खानेपानी व्यवस्था, क्याम्प साइट र झोलुङ्गे पुल निर्माण

हुल्चुकबाट पाँच सय मिटर ठाडो ओरालो झरे पछि ह्युम खोला पुगिन्छ । त्यही हुमचेत गाउँ छ । केही घण्टाको उकालो पछि सुर्ती बारी (हुङगचेत) पुगियो । सुर्तीवारिमा खाना खाए पछि फेरी उकालो यात्रा तयार गरियो । केही घण्टाको उकालो पछि जोङदोर ओडारमा पुगिन्छ । अगाडि जान नसिकिने कारण हाम्रो आजको बास ओडारमै भयो । पानी नभेटेको कारण साधारण खाना खाइ रात बितायौँ । आजको बाटो धेरै गारो र ठाडै उकालो थियो ।

आठौँ दिन: ओडार क्याम्प – बुङ्नान ओडार (३१६५मि.सम्म पैदल यात्रा)
बाटोको अवस्था: जन्तुर डाँडासम्म जङ्गल, जुन्तर डाँडाबाट भेडा हिँड्ने बाटो
बाटोको दुरी:  ७ कि मि
अनुमानित समय: ८/९ घण्टा
मुख्य आकर्षण: भौगोलिक दृश्य र हिमालको दृश्यावलोकन
आवश्यकता: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, खानेपानी व्यवस्था, क्याम्प साइट निर्माण, पुल निर्माण

आजको यात्रा धेरै गाह्रो रह्यो । सुरुमै बाटो हरायो । धेरै जोखिमपूर्ण ठुलो भिर छिचोल्दै सेक्सीको डाँडासम्म पुगियो । घना जङ्गल हुँदै यारुफाँटबाट आउने बाटो हुँदै जुन्तुर डाँडा पुगियो । पुग्ने बेला सानो खोल्सामा पानी भेटियो र हामीले त्यही खाना बनाएर खायौँ । खाना पछि केहिबेर उकालो हिँडेर काइबुङ डाँडा पुगियो । यहाँबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । अफ्ठेरो बाटो अनि भिरको ओरालो हिँड्दा हिँड्दै रात पर्‍यो । सानो खोल्सामा टप्लिङ टाँगेर आजको रात गुजार्यौं ।

नवौँ दिन:  बुङ्नान ओडार – हुले खर्क (३२९६मि.सम्म पैदल यात्रा)
बाटोको अवस्था: भेडा हिँड्ने बाटो
बाटोको दुरी: ९ कि.मि
अनुमानित समय: ८/९ घण्टा
मुख्य आकर्षण: हिमालको दृश्य, झरना
आवश्यकता: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, क्याम्प साइट निर्माण, झोलुङ्गे पुल

बिहानको नास्ता पछि ठाडो ओरालो, भिर र खोँचमा बाटो खोज्दै दोभान पुगियो । दोभानबाट यारु खोला पछ्याउँदै दुङदुङ बुक पुगियो । आजको दिउँसो खाना यही ओडारमा बनाएर खायौँ । दुङदुङ बुकबाट पनि यारु खोला पछ्यौं । पटक पटक यारु खोला तर्दै उकालो बाटो जङ्गल, भिर, पहिरोमा बाटो पछ्याउँदैं काले बुक, दम्बकचेत हुँदै हुले खर्क पुगियो । हुले खर्कमा क्याम्प लगायौँ । काले बुकमा एउटा ठुलो ओडार छ, जहाँ पूर्वकालमा भोट बाट नुन बेच्न आउँदा व्यापारीहरू बास बस्ने गर्थे रे । ओडारको बास अनि आगोमा पकाएको खाना अविस्मरणीय रह्यो।

दशौँ दिन: हुले खर्क – हेछाम्बा खर्क – गणेश हिमाल आधार शिविर   (४३९५मि. सम्म पैदल यात्रा)

बाटोको अवस्था: भेडा हिँड्ने बाटो
बाटोको दुरी: १३ कि.मि.
अनुमानित समय: ८/९ घण्टा
मुख्य आकर्षण: हिमालको दृश्य
आवश्यक संरचना: ट्रेकिङ ट्रेल निर्माण, ट्रेल मार्किङ तथा साइनेज, क्याम्प साइट निर्माण, झोलुङ्गे पुल

आज हाम्रो यात्राको दसौँ दिन, हाम्रो गन्तव्य गणेश हिमाल आधार शिविर पुग्दैछौं । बिहानको खाजा पछि यरु खोला पछ्याउँदै फेरि उकालो लागियो । मालिङ्गो घारी अनि लालीगुराँसका साथमा विभिन्न थरीका भुईँमा रहेका मसिना सुन्दर फुलहरू हेर्दै हिँडी रहेका छौं । फराकिला फाँटहरु मनमोहक छन् । जति हिँड्यो उति नजिकबाट गणेश हिमालको मनमोहक दृश्य अनि निलो आकाश देखिन्छ । हेछम्बा खर्क पुगेपछि दिउँसोको खाना खाइयो । खाना पछि गणेश हिमाल आधार शिविर घुमेर हेछम्बा खर्क नै फर्कने निधो गरियो । हेछाम्बाबाट तीन घण्टाको उकालो बाटो पछि गणेश हिमाल बेसक्याम्प (जोङखर्क) पुगियो। गणेश हिमाल बेसक्याम्प  ४३९५ मि. मा अवस्थित छ । मौसम खराबीको कारण हामीले गणेश हिमाल देख्न सकेनौँ तर केही बेरलाई खुलेको बेला गणेश हिमाल आफ्नो सिर नेरै होसै उडाउने गरी देखियो । बेसक्याम्पबाट हिमनदीहरू पनि देख्न सकिन्छ । गणेश हिमाल आधार शिविरबाट फर्केर हेछाम्बा खर्क सम्म पुग्न २ घण्टाको समय लाग्ने रहेछ।

एघारौँ दिन: हेछाम्बा खर्क –  बिसि खर्क (२३९६मि.सम्म पैदल यात्रा)
बाटोको अवस्था: भेडा हिँड्ने बाटो
बाटोको दुरी: १७ किमि
अनुमानित समय: १०/११ घण्टा
मुख्य आकर्षण: हिमाल दृश्यावलोकन, झरना, भौगोलिक दृश्यहरू ।

हेछाम्बा खर्क बाट जन्तुर डाँडा सम्मा उही बाटोबाट फर्कियो। अफ्ठेरो भिर, साँघुरो बाटो अनि काठले बनाएको बाटोहरू अति नै जोखिमपूर्ण छ। त्यस पछि जन्तुर डाँडा बाट बिसि खर्क सम्म जङ्गलको बाटो रहेछ। स्थानीय सरकारले बाटो बनाएको भएर यहाँ सहज बाटो रहेछ।

बारौँ दिन: बिसि खर्क देखि यारु बगर हुँदैं काठमाडौँ रात्रि बसमा
बाटोको अवस्था: गोरेटो, जिप ट्र्याक, रोड
बाटोको दुरी:  ९ कि.मि. पैदल यात्रा
अनुमानित समय: ४ घण्टा
मुख्य आकर्षण: झरना, स्थानीय संस्कृति, भौगोलिक दृश्य ।

बिसि खर्क देखि यारु बगरसम्मको बाटो धार्चे गाउँपालिकाको सहयोगमा बनाइएको रहेछ । तर त्यो पनि बिस्तारै वन जङ्गलद्वारा मासिँदै गएको छ ।  बिसि खर्कदेखि यारु बगर पुग्न झण्डे दुई  घण्टा ओरालो झर्नु पर्ने रहेछ । यारू बगर बुढी गण्डकीको किनारमा अवस्थित छ । यो बाटो मुख्य ट्रेकिङ ट्रेल हो, जुन मनास्लु राउन्ड, चुम भ्याली र उत्तर तिरको गणेश हिमाल जाने बाटोमा पर्दछ । यसै बगरमा एसियाको लामो पहिलो केन्टिलिभर ब्रिजको निर्माण गरिएको छ । यस स्थानमा होटेल, लज र होमस्टेको राम्रो व्यवस्था छ ।  यारू बगरबाट ठुलो ढुङ्गा, स्याउली भट्टी हुँदै दोभान पुगियो । दोभानबाट जिपमा तातो पानी, खोर्ला बेँसी हुँदै माछा खोला पुगियो । माछा खोलाबाट काठमाडौँको  लागि  दिवा र रात्रि सेवाका बसहरू सञ्चालनमा छन् । रात्रि बस यात्राबाट काठमाडौँ लागियो । हाम्रो एउटा नयाँ गन्तव्य खोजी कार्य पनि सम्पन्न भयो ।

यो क्षेत्र पर्यटकीय क्षेत्र विकासको ज्यादै सम्भावना बोकेको क्षेत्र हो । आफ्नो छुट्टै सांस्कृतिक, धार्मिक तथा प्राकृतिक अवयवहरू रहेको यस क्षेत्रमा पर्यटन पूर्वाधारको विकास र प्रचार प्रसार गर्न सकेको खण्डमा छिट्टै पर्यटनको विकास भएर त्यस क्षेत्रका मानिसहरूको जनजीवन उक्सिनेमा दुई मत हुन सक्दैन । झरना, मनमोहक भौगोलिक तथा हिमालहरूको दृश्यले भरिपूर्ण अति नै सुन्दर यो ठाउँको प्रशस्त सम्भावना भएर पनि विकास हुन सकेको छैन । 

अध्ययन टोली
साने गुरुङ लामिछाने  – संयोजक
सञ्जीव गुरुङ – पर्वतीय पथप्रदर्शक, अन्वेषक तथा जिपिएस विज्ञ
कान्छी डोल्मा ह्योल्मो  – सगरमाथा आरोही, अन्वेषक तथा फोटोग्राफर
हेम राज बास्तोला – पोखरा टान प्रतिनिधि तथा अन्वेषक

 

 

 

Check Also

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० …