August 4, 2022

नेपाली युवाले ल्याए ‘माइ होटल एण्ड होम डटकम’

आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ होटल एण्ड होम डटकम’ बेवसाइटको विकास गरेका छन् ।

मोबाइल फोन वा कम्प्युटरबाट उक्त बेवसाइट लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको होटल सहजै बुकिङ गर्न सकिनेछ । होमस्टे, होस्टेल, अपार्टमेण्ट वा घरको कोठा पनि बुकिङ गर्न सकिने सुविधा रहेको यसमा सुरुमा उच्च, मध्यम र साना खालका होटलका कोठा बुकिङ गर्न सकिने गरी सेवा सुरु गरिएको होटल एण्ड होम प्रालिका प्रबन्ध निर्देशक उत्सव पाठकले बताए ।

“पर्यटकलाई यात्रामा निस्कनु अघि ढुक्क भएर बस्ने ठाउँको सुनिश्चित गर्न यसले सहयोग गर्छ, सजिलै, बिना झण्झट र होटल नपाएर रुमल्लिनुपर्ने अवस्थाको यसले अन्त्य गर्छ”, प्रबन्ध निर्देशक पाठकले भने । यसमा होटलको बारेमा परिचय, कोठाअनुसारको मूल्य, कोठाको सजावट, ओछ्यान, फर्निचर, टेलिभिजन, वाइफाइ, कतिजना सुत्न सक्ने, सेवाका शर्त, शौचालयलगायतबारे तथा बास बस्ने स्थान वरिपरिको घुम्ने ठाउँको समेत सङ्क्षिप्त विवरण दिइएको छ ।

रेल, हवाई, बैंक, अस्पताललगायतका क्षेत्रमा ई बुकिङको संस्कृति मौलाइरहेको बेला डेढ वर्ष लगाएर यो वेभको विकास गरिएको होटल एण्ड होम प्रालिका अध्यक्ष सफ्टवेयर इन्जिनियर शैलेश कार्कीले बताए । सुरुमा परीक्षणका रुपमा रहेकाले अनलाइन बुकिङमा अहिले दश प्रतिशत छुट दिइएको छ । “धेरै प्रकारका होटल हेरेर पर्यटकले चाहेको मूल्यका होटल रोज्न सक्छन्, होटलको सेवा, शर्तबारे क्षणभरमा थाहा पाउन सकिन्छ”, अध्यक्ष कार्कीले भने ।

हालसम्म काठमाडौँ, भक्तपुर, नगरकोट, धुलिखेल, चितवन, बन्दीपुर, घान्द्रुक, लुम्बिनी, बुटवल, पोखरा, चरीकोटलगायतका प्रमुख पर्यटकीय सहरका तीनसय होटल यसमा आबद्ध भएको र यो क्रम जारी रहेको उनले जानकारी दिए । यसको एप्स भने दशैँपछि सार्वजनिक गर्ने योजना पाठक र कार्कीको रहेको छ ।

खासगरी नयाँ वर्ष, क्रिसमस, मेला महोत्सव वा ठूला सम्मेलन र सभामा कोठा पाउन असजिलो र झण्झटिलो हुने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालभरिका प्रमुख पर्यटकीय गन्तव्यमा होटलमा कसरी बास पाउने भन्ने चिन्ताले पिरोल्ने गर्छ । “एक क्लिकमा ढुक्कले बास पाउने अवस्था होस् भनेर यो सेवा सुरु गरेका हौँ, यसबाट पर्यटकलाई सहज हुन्छ, नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गर्दैछौँ”, अध्यक्ष कार्कीले भने ।

Check Also

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० …