August 8, 2022

स्टोनपार्कको आकर्षण

  • शब्द र तस्बिर: जीवन लामा

दोलखा । आन्तरिक पर्यटकहरुको लागि स्टोनपार्क गतिलो गन्तव्य बनेको छ । दोलखाको जिरी नगरपालिका–१, श्यामामा नवनिर्मित स्टोन पार्कमा अहिले पर्यटकहरु घुम्न थालेका छन् । आन्तरिक पर्यटकहरुलाई लक्षित गरी गत वर्षदेखि सञ्चालनमा आएको यस स्टोनपार्कमा दैनिक सयौं जना घुम्न पुगेका हुन्छन् ।

जिरी नगरपालिकाले आफ्ना वडाको सबै ठाउँ पर्यटकको लागि समय कटाउने पर्यटकीय स्थल निर्माण गर्ने लक्ष्य लिएको थियो । जसअनुसार सार्वजनिक जग्गामा वर्षौदेखि विभिन्न आकार प्रकारका ढुंगाहरु त्यत्तिकै थिए । सोही स्थानमा नगरपालिकाले आन्तरिक श्रोत र प्रदेश सरकारको सहयोगमा पार्क निर्माण गरिएको हो । पार्कमा सभाहल, मिनी कार्यक्रम हल र स्वीमिङ पुलको पनि व्यवस्था गरिएको छ ।

अहिले यस पार्कमा दोलखाका मात्र नभई रामेछाप, सिन्धुली, महोत्तरी, जनकपुर, सर्लाहीलगायत तराई क्षेत्रबाट घुम्न आउने पर्यटकहरु धेरै रहेको स्टोनपार्क रिभरसाईड होमस्टे श्यामाका सञ्चालक सूर्य बहादुर बस्नेतले बताउँछन् । सिजनमा त दैनिक सयौं जना आउने गर्छन । घुम्न आउनको साथै सभा हलको पनि व्यवस्था भएकाले विभिन्न कार्यक्रमहरु पनि यसै पार्कभित्र हुने गर्छ बस्नेतले बताए ।

कतिपय त निजी गाडीमा फेमिली टुरमा आउने गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकहरु एक रात यही बस्ने गरी आउने गरेका छन् । पार्क नजिकै रहेको स्टोनपार्क रिभरसाईड होमस्टेमा एक डेढ सय जनाको लागि सहज तरिकाले अट्द छ ।

रामेछाप र दोलखाका पर्यटकहरु भने बिहान आएर बेलुकी फर्किने गरेका छन् । सदरमुकाम चरिकोटबाट ८० किलोमिटर र जिरीबाट २५ किलोमिटर टाढा पर्ने भएकाले अधिकांश पर्यटकहरु बिहान आएर बेलुकी फर्किने गर्छन् । बालबालिका, युवा र धार्मिक व्यक्तित्वहरुलाई लक्षित गरी निर्माण गरिएको यस पार्कमा शिव र गुरुरेम्पोछेको मूर्ति निर्माण गरिएको छ । सबै धर्म, जातजातिको लागि यस स्थल उपयुक्त र प्रभावकारी रहेको जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकीले जानकारी दिइन् । अझैं बालबालिकाको लागि थप संरचणाहरु निर्माण गर्ने लक्ष्य रहेको उपमेयर बुढाथोकीले जानकारी दिइन् ।

यस स्टोनपार्कबाट पाँचपोखरी, ढुंगे गुम्बामा पुग्न सकिन्छ । साथै श्यामा शेर्पाहरुको बस्ती रहेकाले प्रत्येक शेर्पा टोलमा गुम्बा निर्माण गरिएका छन् । कतिपय बौद्धधर्मलम्बीहरु गुम्बा दर्शनको लागि आउने र स्टोनपार्क पनि घुम्ने गर्छन् ।

Check Also

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० …