यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
घोरेपानी-पुनहील जान चाहनेको लागि गाइड
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्योदयको दृश्यावलोकन अलौकिक छ । त्यसैले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी त्यहाँ पुग्छन् ।
त्यसो त हाम्रो देशमा यस्ता भ्यु प्वाइन्टहरू धेरै छन्, तर वर्षदेखि मध्यरातमै उठेर सूर्योदय हेर्न उकालो लाग्ने यो पुनहीलको तोड भने अरू कुनै ठाउँले दिन सकेको छैन ।
यस स्थानबाट देखिने अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलाको दृश्य साँच्ची नै पुलकित पार्ने खालको छ । त्यसैले त हिमालय श्रृंखलासंगै सूर्योदयको अवलोकन गर्न पाइने लोभमा बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुनहील आइ पुग्छन् ।
त्यसैले पुनहील जान चाहनेहरूको लागि छोटकरीमा यो गाइड दिइएको छ ।
पहिलो दिन
पहिलो दिनको गन्तव्य उल्लेरी हो । पहिलो दिन काठमाडौँबाट पोखरा हुँदै उल्लेरी पुग्न सकिन्छ । तर बिहानै हिँड्नु पर्छ । पोखरासम्म हवाई माध्यमबाट जाने हो भने २५ मिनेछ लाग्छ भने सडकबाट जाने हो भने कम्तीमा ६ घण्टा लाग्नेछ ।
पोखरा विमानस्थलबाट जिपमा कास्कीको नौ डाँडा, नयाँ पुल, वीरेठाटी हुँदै हिलेसम्म पुगिन्छ । बाटो कच्ची छ, त्यसैले सवारी साधन छान्दा त्यही अनुरूप छान्नु पर्छ । बाटोमा देखिने दृश्यहरू फेवातालदेखि हरियाली पाखा पखेराहरू हुन् । गाडी छाडेर करिब २० मिनेट पैदल हिडेपछि हिले गाउँ पुगिन्छ ।
यो सानो बजार समुन्द्री सतहबाट १ हजार ५ सय मिटर उचाइमा छ । यहाँ एक दर्जन जति होटलहरु छन् । हामीले यही थकाई मार्यौं । बिहानको खाना खायौँ । यहाँ इच्छा अनुसार नेपाली दालभात तथा आधुनिक खालका खाजा खाना पाइन्छ ।
खाना पछि एकै छिन आराम गरेर हामी लाग्यौ आजको गन्तव्य उल्लेरीतर्फ । वरिपरिका मनोरम दृश्यहरू हेर्दै ढुङ्गा छापेको उकालो बाटो रमाइलो भयो । पारिलो घाम लागि रहेको छ, जङ्गलभित्रबाट झउँकिरीको आवाज आइरहेको छ ।
खोलाहरूमा झोलुङ्गे पुल हालिएका छन् । पदयात्रीलाई सुस्ताउनका लागि चौतारीहरू बनाइ दिएका छन् ।
बिस्तारै गुरुङ गाउँहरू देखा परेको छ । एकै खालका घरहरू देखा परेका छन् ।
हिलेबाट हिँडेको करिब तीन घण्टामा हाम्रो पहिलो दिनको बास आइपुग्यो, उल्लेरी गाउँ । यो गाउँमा आदिवासी मगरहरूको बाहुल्यता छ । केही होटलहरु छन्, पाहुनाहरूका लागि ।
दोस्रो दिन
दोस्रो दिन उल्लेरीबाट घोरेपानी पुग्न सकिन्छ । उल्लेरीमा बिहानको नास्ता पछि उकालो लाग्यौँ । यहाँ पनि बाटो ढुङगाले छापिएको छ । जङ्गलको बिचमा समेत ढुङ्गाको सीडी हालिएको छ ।
जङ्गलै जङ्गल उकालो वनठाँटी हुँदै नाङगेठाँटी आइपुग्यौँ । यो नाङगेठाँटी समुन्द्री सतहबाट करिब २ हजार ४ सय ३० मिटरको उचाइमा छ । हामीले नाङ्गेठाँटीमा बिहानको खाना खायौँ । खाना पछि खेतको आली, गाउँ घरका आँगन, जंगलको बाटो, खोलानाला, छहरा हेर्दै करिब ५ घण्टामा घोरेपानी पुग्यौँ ।
समुन्द्री सतहबाट २ हजार ८ सय ६० मिटर उचाइमा रहेको घोरेपानीका सबै घरहरू होटेलमा परिणत भइसकेका छन् । पुनहील आउने पर्यटकहरूका लागि हो, यि होटलहरु । पुनहीलमा होटलहरु छैनन् । त्यो दृश्यावलोकन गर्ने स्थान मात्र हो, त्यसैले पर्यटकहरू घोरेपानीमा बास बस्छन् र राति नै पुनहीलको लागि हिँड्छन् ।
घोरेपानी पुग्दा साँझ परिसकेको थियो । चिसो हावाको झोक्काले थकान मेटियो । पुनर्ताजगी भयो । घोरेपानीमा यही चिसो हावा र शान्त वातावरणको मज्जा लिंदैँ हामीले यहीको उत्पादनबाट बनेको खाना खायौँ ।
तेस्रो दिन
आज पुनहीलमा पुगेर सूर्योदय हेर्ने दिन । हामी बिहान ३ बजे नै उठ्यौँ । स्थानीय गाउँकै अर्ग्यानिक चिया पियौँ र पुनहीलका लागि हिँड्यौँ ।
बाटो अँध्यारो छ । ढुङ्गा बिच्छ्याइएको सिँढीमा बत्तीको भरमा हुलका हुल उकालो लाग्दैछन्, छामछुम गर्दै । झन्डै एक घण्टा यसरी नै हिँडेपछि हामी पुनहील पुग्यौँ ।
हामीलाई छिट्टै आयौँ भन्ने लागि रहेको थियो । तर, हामी भन्दा पनि अगाडी धेरै स्वदेशी तथा विदेशी पर्यटक पुगिसकेका रहेछन् । यि सबै कति बेला सूर्योदय होला र दृश्यावलोकन गरौँला भनेर कुरिरहेका छन् । यहाँ मेला जस्तै माहौल बनेको छ । चिसो हावा चलिरहेको छ, तैपनि खासै कसैलाई त्यसको वास्ता छैन ।
सूर्योदय सुरु भयो । सूर्य उदाउँदै गर्दा हिमाली चुचुराहरू सुनौलो बनेर खुल्दै छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरी हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । माछापुच्छ्रेको भने थोरै भाग मात्र देखिन्छ । यो डाँडाबाट ३६० डिग्रीको कोणमा मनोरम हिमश्रृंखला देखिन्छ ।
पुनहीलको इतिहास
पुनहील कसरी चर्चित भयो ? पुन हीलको नाम कसरी रहन गयो भन्ने बारेमा त्यहाँ पुगेपछि धेरैलाई जिज्ञासा हुन्छ । हामीलाई पनि भयो । खोजी गर्यौ, यो डाँडाको पुरानो नाम लुङतुङ डाँडा रहेछ । तर, एक स्थानीय भारतीय सेनाबाट आवकास प्राप्त मेजर टेकबहादुर पुनले २०२७/२८ सालदेखि यो डाँडाको पर्यटन विकासमा प्रयास गरेको पाइयो । उनैको प्रयासले पुन समुदायको चरण क्षेत्रमा रहेको यो स्थान स्वदेश तथा विदेशमा चर्चित बन्यो । त्यही बेला पुनहील नामकरण गरिएको रहेछ ।
पुनहीलबाट गएकै बाटो फर्कँदा पनि हुन्छ । तर, त्यहाँबाट घान्द्रुक हुँदै फर्कने अर्को बाटो पनि छ ।
च्छो रोल्पाः पदयात्राको उत्कृष्ट गन्तव्य
जीवन लामा च्छो रोल्पा ताल । कुनै बेला च्छोरोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो । अब त्यो ड…