January 1, 2024

फेदीखोलामा राउण्ड हाइकिङ ट्रेल निर्माण कार्य शुरु

फेदीखोला गाउँपालिका स्याङजाको सम्पूर्ण वडा समेट्ने गरि राउण्ड हाइकिङ ट्रेल निर्माण कार्य शुरु भएको छ ।

फेदीखोला गाउँपालिका वार्ड न. १ माछापुच्छ्रे भ्यूपोइन्टबाट सुरुवात भएको यो हाईकिङ ट्रेल करिब ४० कि.मि. लामो दुरीको रहेको छ । फेदीखोला गाउँपालिका वार्ड न-१ मा माछापुच्छ्रे भ्यू पोइन्टबाट गुर्धुम हुँदै रामकोट जोड्ने ट्रेलको निर्माण गरिएको हो ।

त्यसैगरी गाउँपालिकाको वडा नं -२ स्थित देउरालीदेखि नुवाकोट कालाभैरव मन्दिर जोड्ने ६०० मिटर ट्रेल र दुई वटा चौतारी पनि निर्माण गरिएको इन्जिनियर राजेश क्षेत्रीले जानकारी दिए । स्थानीय सीप र सामाग्रीबाट निर्माण गरिएको यस ट्रेलमा अहिले १० वटा सूचना बोर्ड र १० वटा फोहोर राख्ने बिन पनि राखिएको छ ।

फेदीखोला गाउँपालिकामा शुरुआत गरिएको फेदीखोला राउण्ड हाइकिङ ट्रेलले ५ वटै वडालाई छुने छ । यहाँबाट माछापुच्छ्रे हिमाल शृङ्खला सबै देखिन्छ भने ट्रेलमा प्रशस्तै मात्रमा चराचुरुङ्गी र जंगली जनावरहरु पनि देख्न/भेट्न सकिन्छ ।

”यस ट्रेलले आन्तरिक तथा बाह्य पर्यटकलाई घुमफिरको लागि अर्को एउटा गनतब्य दिने विश्वास लिएका छौं” गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने ।

उक्त ट्रेल गाउँपालिकाको ६० प्रतिशत र एसटीआरएलपीको ४० प्रतिशत लगानीमा निर्माण भइरहेको छ । पालिकाभित्र हाल पाँच वटा होमस्टे सञ्चालनमा छन् । फेदीखोला गाउँपालिका पोखरा महानगरसँगै जोडिएको गाउँपालिका हो भने पोखरादेखि गाउँपालिकाको केन्द्रसम्मको दुरी जम्म १३ किलोमिटर रहेको छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …