March 29, 2024

बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता

पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा न. ८ स्थित ल्वाङ गाउँ पर्न थालेको छ । नेपालको महत्वपूर्ण र प्रमुख पर्यटकीय शहरहरु मध्ये एक पोखरादेखि करिब २० किलोमिटरको दूरीमा रहेको ल्वाङ गाउँ समुद्री सतहदेखि सरिब १४०० मिटरको उचाइमा अवस्थित छ । गुरुङ जातिको बाहुल्यता रहेको यो गाउँमा मगर, छन्थ्याल, खसआर्य तथा दलित समुदायहरुको पनि बसोबास छ ।

तमू (गुरुङ) भाषामा ल्वाङ गाउँलाई लोगो नासा भनिन्छ । करिब ३५०० रोपनी क्षेत्रफलमा फैलिएको चिया बगान, माछपुच्छ्रे र अन्नपूर्ण साउथ यो गाउँका प्रमुख पर्यटकीय आकर्षण हुन् । साथै तमू समुदायको संस्कार र संस्कृतिले पर्यटकहरुलाई अझ मोहित पार्छ ।

गाउँलाई चिया बगानको गाउँ भनेर पनि चिनिन्छ । यहाँ सामुदायिक घरबासको सेवा छ । करिब १६० घरधुरी रहेको ल्वाङ गाउँमा २६ घरमा घरबासको व्यवस्था छ । घरबास बाहेक यहाँ होटेलहरू पनि छन् । गाउँमै उत्पादित अर्गानिक खानाहरुको स्वादले पर्यटकहरुलाई लोभ्याउँछ । पर्यटकहरुले साहसिक खेल क्यानोनिङको पनि भरपूर मनोरञ्जन लिन सकिन्छ । समुहमा जाने पाहुनाहरुलाई ल्वाङबासीले पञ्चेवाजा र फुलमालाले स्वागत गर्दछ ।

ल्वाङ सामुदायिक होमस्टेकी अध्यक्ष मञ्जु गुरुङले गाउँमा आउने अतिथिहरुलाई स्थानीय रुपमा नै उत्पादन हुने खाना खुवाइने बताइन् ।

हालै बेलायतबाट नेपाल आएको सहारा यूकेको एक टोलीले पनि ल्वाङ गाउँको भ्रमण गरेको थियो । आन्तरिक पर्यटन प्रबर्धनका लागि सुन्दर ल्वांङ गाउँमा पुगेका सहारा युके टोलीलाई ल्वाङ गाउँ, होमस्टे र आमा समुहको तर्फबाट सम्मान गर्नुका साथै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । अतिथिहरुले साँस्कृतिक प्रस्तुतिहरुको भरपूर मनोरञ्जन लिए ।

छोटो समयको लागि गए पनि ल्वाङ गाउँबासीको न्यानो आतिथ्य, स्वागत, सत्कार, आत्मियता, मायाको चिनो र ल्वाङ गाउँको मनमोहक प्राकृतिक सुन्दरतालाई सहारा युके टोलीले कहिल्यै बिर्सन नसकिने बताउँछन्, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ ।

ल्वाङ गाउँ घुम्न आउने पर्यटकहरुको सेवा शुल्क निर्धारण र व्यवस्थापन घरबास सेवा समितिले गर्छ । यो गाउँमा गुम्बा, शिव मन्दिर, क्षेताक्यु बराह थान जस्ता धार्मिक स्थानहरु पनि छन् ।

ल्वाङ गाउँको प्राकृतिक सुन्दरता नजिकबाट अनुभूत गर्न पाएकोमा सहारा युके टोलीका सदस्य योगेश गुरुङ खुसीले दङ्ग हुनुहुन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राविधिक र आर्थिक सहयोगमा बिस्तार भएको चिया खेतीले गाउँलेहरुलाई रोजगारी दिएको छ । यहाँ उत्पादन भएको चिया अन्नपुर्ण संरक्षण क्षेत्र मार्फत निर्यात हुन्छ । यहाँ उत्पादित अर्थोडक्स चिया गुणस्तर अनुसार प्रति केजी १ हजार, १२०० र १५००मा बिक्री हुन्छ । चिया प्रशोधन केन्द्र पनि गाउँ मै छ । यद्दपि चिया खेतीको बिस्तार भने सोचे जस्तो हुन नसकेको स्थानीय पर्यटन व्यवसायी गोलमान गुरुङ बताउँछन् ।

ल्वाङ गाउँको मनमोहक प्राकृतिक दृश्य, बिशाल चिया बगान, धार्मिक स्थलहरुलाई आँखामा सजाएर, अर्गानिक खानाको स्वाद जिब्रोमा राख्दै, गाउँबासीको न्यानो आतिथ्य र मायालाई मनमा पोको पारेर फेरी भेट्ने बाचा सहित सहारा युके टोली बिदा भए । तपाइँ पनि एक पटक पर्यटकीय ल्वाङ गाउँ पुगेर आनन्दको अनुभूति लिने की ?

 

Check Also

पोखरालाई पर्यटनको राजधानी घोषणा

पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइ…