साञ्जेन भ्यालीः स्वार्गको एक टुक्रा
हिमाली जिल्ला रसुवा राजधानीबाट टाढा छैन । मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग सिमाना जोडिएको यो हिमाली जिल्लामा तामाङ सामुदायको बाहुल्यता छभने बौद्ध संस्कृतिको प्रभाव बढि छ । रसुवामा धार्मिक तथा पर्यटकीय क्षेत्रहरु प्रशस्तै छन् । यही जिल्लामा लोकप्रिय धार्मिक तिर्थस्थल गोसाइकुण्ड रहेको छ भने सँगै पार्वती कुण्ड, सूर्य कुण्ड, कालिका माईको मन्दिरलगायत स्थानहरु पनि धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थानहरु हुन् ।
रसुवा धार्मिक पर्यटनकालागि मात्र होइन, अन्य पर्यटकीय गतिविधिका लागि पनि महत्वपूर्ण छ । साञ्जेन भ्याली, तातोपानी, घोडातवेला, लाङटाङ राष्ट्रिय निकुञ्ज, चन्दनवारी, धुन्चे, स्याफ्रुलगायतका पर्यटकीय क्षेत्रहरु यही जिल्लामा पर्दछन् ।
यिनै क्षेत्रहरु मध्येमा ‘साञ्जेन भ्याली’ को पर्यटनका लागि उच्च संभावना बोको क्षेत्र हो । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा पर्ने साञ्जेन भ्यालीको प्रवर्द्धन गर्न सकिएमा राम्रो पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।
बि.सं. २०७६ सालमा यस क्षेत्रको प्रवर्द्धनको लागि आमाछोदिङ्मो गाउँपालिका, ग्रामिण पर्यटन तथा वातावरणीय शिक्षा समाज, नेपाल (आरटिस नेपाल), पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको सहकार्यमा एक अध्ययन भ्रमण समेत गरिएको थियो ।
साञ्जेन भ्याली जानका लागि राजधानी काठमाडौंबाट यात्रा सुरु गर्न सकिन्छ । काठमाडौंबाट सुरु जाने जिपले रसुवाको मैलुङ पुर्याउँछ । त्यसपछि करिब तीन घण्टाको उकालो यात्रापछि तिरु गाउँमा पुगिन्छ । साञ्जेन भ्याली जाने क्रममा पहिलो दिनको बास तिरु गाउँमा हुन्छ । भूकम्प पछि खाली भएको गाउँमा अहिले होमस्टेको स्थापना गर्नका लागिस्थानीयहरु गाउँ फर्किएका छन् ।
पर्यटनको राम्रो सम्भावना भएको तिरु गाउँमा होमस्टे स्थापना भएमा गोसाइकुण्ड जाने तिर्थयात्री तथा विदेशी पर्यटकलाई पनि सहज हुनेछ ।
तिरुबाट करिब एक घण्टाको पैदल यात्रापछि सुरचेत गाउँमा पुगिन्छ । यहाँ बोन्बो (झाँक्री) हरुको बस्ती छ । यहाँका झाँक्रीहरुले गोसाइकुण्ड जाने क्रममा विरामी भएका नेपाली तथा विदेशी पर्यटकको उपचारसमेत गर्छन् ।
झाँकी सुम्पासिंङ तामाङका अनुसार यात्रामा आउनेहरु बिरामी भएमा उनले उपचार गराउने गरेका छन् । उनी अनुभव सुनाउँछन्, ‘म भएको ठाउँमा आउँदा विदेशीको अवस्था नाजुक थियो, मैले उपचार गरेर निको बनाएर पठाएँ । ती विदेशी मेरो उपचारवाट खुशी हुदै आप्नो यात्रामा निस्किए ।’ विदेशी मात्रै नभएर गोसाइकुण्ड आउँने तिर्थ यात्रीदेखि स्थानीयको उपचार आफुले गरेको उनी बताउँछन् ।
सुरचेत गाउँमा बोन्बो संस्कार संस्कृतिको अवलोकन गर्ने अवसर मिल्छ । यहाँबाट करिब ४ घण्टाको हिडाईमा ठूलो हाकु पुगिन्छ । ठूलो हाकु तामाङ बस्ती हो । स्थानीयहरु गाउँमा आउने पर्यटकलाई स्वागत सत्कार गर्न सधै तत्पर हुन्छन् । बाहिरबाट आएका पाहुनालाई स्थानीय परिकारहरु खुवाउँछन् भने तामाङ भेषभुषामा सजिएर गीत गाएर नाचेर स्वागत गर्छन् ।
हाकुबाट सानो हाकु हुदै पाँच घण्टाको यात्रामा ग्रे गाउँ पुगिन्छ । ग्रे गाउँबाट करिब चार घण्टा उकालो हिडेपछि बोन्जौमाने भञ्जयाङ पास गरेर रसुवाको चर्चित पर्यटकीय गाउँ गत्लाङ पुगिन्छ । बोन्जौमाने पास समुन्द्री सतहबाट करिव २ हजार ६ सय २४ मिटर उचाईमा रहेको छ ।
गत्लाङ गाउँ ‘व्ल्याक भिलेज’ नामले पनि चिनिन्छ । भुकम्प अघि गाउँमा भएका घरको छानाहरु सबै काठ र ढुङ्गाले छाएको थियो, त्यो कालो देखिने हुँदा विदेशीले ‘व्ल्याक भिलेज’ उपमा दिएका हुन् । तर २०७२ सालको भूकम्पपछि गाउँको पुनर्निर्माणका क्रममा गाउँमा रंगीचंगी बनेको छ ।
गत्लाङबाट करिब एक घण्टाको उकालो हिडेपछि पार्वतीकुण्ड पुगिन्छ । धार्मिक आस्थाको रुपमा स्थानीय बोन्बोहरुले कुण्डलाई पुज्ने गर्छन् । समुन्द्री सतहवाट २ हजार ५९२ मिटर उचाईमा रहेको पार्वती कुण्डमा भदौ पूर्णिमामा मेला लाग्दछ ।
बाटोमा चिज उत्पादन गर्ने उद्योग हेर्दै, चौरी गोठालाहरुसँग जिस्किंदै, जंगलै जंगलको बाटो उकालो लाग्नु पर्छ । चौरीको गोठ, जंगलको बाटो र वरपरका मनोरम दृश्यावलोकन गर्दै समुन्द्री सतहबाट ३ हजार ३ सय ९३ मिटर उचाईमा रहेको जोङ्गवुईको जंगलमा बास बस्न पुगिन्छ । यहाँ टी हाउसहरु छैनन् । त्यसैले टेन्ट, खाना र बस्ने व्यवस्था पहिले नै जोहो गरेर जानु पर्छ ।
यसपछि तेन्जो ज्यार्सा पुगिन्छ । ज्यार्साबाट खुर्पू भञ्जाङ हुँदै करिब सात घण्टाको उकालो बाटो पार गरेर ‘पाङसुर उ’ पुगिन्छ । ‘पाङसुर उ’ समुन्द्री सतहबाट करिव ३ हजार ७७५ मिटर उचाईमा छ ।
काठमाडौंबाट हिंडेको छैटौ दिन याक्रा खर्क हुदै समुन्द्री सतहवाट ४ हजार १७१ मिटर उचाईमा रहेको याक्रा पास पुगिन्छ । यात्रामा भेडाका बथानहरु भेटिन्छन् । त्यो दिनको बास ४ हजार २४३ मिटर उचाईमा रहेको जयसुर खर्कमा बस्न पुगिन्छ ।
यात्राको सातौं दिन खुर्पुबाट जयसुर कुण्ड लागिन्छ । जयसुर कुन्ड र गोसाइकुन्डलाई दिदी बहिनीका रुपमा लिइन्छ । गोसाई कुण्डलाई दिदी र जयसुरलाई बहिनीको रुपमा मानिन्छ । समुन्द्री सतहबाट ४ हजार ५ सय मिटर उचाईमा रहेको जयसुर कुन्ड साञ्जेन भ्याली र रुवी भ्यालीको बीचमा पर्दछ । कुण्डको पानी घट्दै गएपछि अहिले स्थानीय युवाहरु यसलाई पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धन गर्न लागि परेका छन् ।
जयसुर कुण्डबाट उकालो केही उप्ठ्यारो बाटो, हिउँमा खेल्दै सातौं दिन रिमलाङमा पुगिन्छ । रिमलाङ समुन्द्री सतहवाट ४ हजार ८२५ मिटर उचाईमा छ ।
काठमाडौंबाट हिंडेको आठौ दिन रिमलाङबाट पदयात्रीहरु अगाडी बढेर चार हजार ६०२ मिटर उचाईमा रहेको छुपछुङला पास पार गर्छन् । यहाँ हिउँ पर्ने हुँदा हिउँ पहिरोको जोखिमसमेत हुन्छ ।
छुपछुङला पासबाट मनोरम प्राकृतिक दृश्यहरु अवलोकन गर्दै झण्डै तीन घण्टा ओरालो लागेपछि केही समथर भूमि आइपुग्छ । यो समथर भूमि नै साञ्जेन भ्याली हो । राजधानी काठमाडौंबाट हिंडेको आठौँ दिन साञ्जेन भ्याली पुगिन्छ ।
साञ्जेनको अर्थ स्थानीय भाषामा ‘स्वर्ग’ हो । यो भ्याली पुग्ने जो कोहीलाई पनि आफु स्वर्गै आइपुगेको अनुभूति हुन्छ । एक साता भन्दा लामो समय हिंडेको थकान मेटिन्छ । साञ्जेन भ्याली तिब्बत र रुवी भ्यालीको बीचमा पर्छ । समुन्द्री सतहबाट करिव ४१ सय मिटर उचाईमा रहेको साञ्जेन भ्याली साञ्जेन हिमालको आधार शिविर पनि हो । साञ्जेन हिमालको उचाई समुन्द्री सतहवाट ६ हजार ५ सय ५० मिटर रहेको छ ।
साञ्जेन भ्यालीको चौरबाट हिमालहरुलाई छर्लाङ्ग देख्न सकिन्छ । यो मनोरम दृष्यले मन फुरुंग हुन्छ । यो क्षेत्र जटिबुटीको लागि पनि प्रख्यात छ । यहाँ निरमसी, जटामसिलगायत अमुल्य जटिबुटीहरु पाइन्छ ।
आमाछेदिङ गाउँपालिकाभित्र पर्ने साञ्जेन भ्याली पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त संभावना भएको क्षेत्र हो । यद्यपी बाटो र प्रचार प्रसारको अभावमा यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न सकेको छैन । पछिल्लो समय गाउँपालिकाले गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोर पिक जस्ता हिमालका साथै धार्मिक र पर्यटकीय स्थलहरु घले दरबार, गोशाइकुण्ड र पार्वतीकुण्डलाई पनि प्रवर्द्धनको प्रयास गर्दै आएको छ ।
साञ्जेन भ्यालीको प्रवर्द्धन गर्न सकिएको खण्डमा यस क्षेत्र र रसुवाको मात्र होइन, समग्र देशकै लागि पर्यटनको एउटा नयाँ गन्तव्य थपिने छ । घुमफिरमा रमाउनेहरुले एउटा महत्वपूर्ण र मनोरम स्थानको अनुभव गर्न पाउने छन् ।
तस्बिरहरु : लाला गुरुङ/हाइलाइट्स टुरिजम् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …