July 18, 2023

ग्रेट हिमालयन ट्रेल: भौगोलिक र सांस्कृति विविधताको सङ्गम

  • सञ्जीव गुरुङ

Great Himalayan Trailग्रेट हिमालय ट्रेल नेपालको पूर्वदेखि पश्चिमसम्म हिमाली भेग तथा उच्च पासहरू तरेर पुरा गरिने पदयात्रा हो । यो तल्लो र माथिल्लो गरेर दुई वटा छन् । तल्लो पदमार्ग खासै चल्दैन । उच्च भेगको पदमार्ग तुलनात्मक रूपमा बढी चलेको छ । यो पदमार्गमा ६ हजार २ सय मिटरसम्मका पासहरू पार गर्नुपर्छ । यो १७ सय किलोमिटर भनिए पनि म आफैले जिपिएसबाट लिएको रेकर्डले भने अलि कम देखायो ।

यो विभिन्न पदमार्गहरू मिलेर बनेको भएकाले फरक फरक समयमा मैले यो पदमार्ग पुरा गरेको थिएँ । तर, एकै पटकमा पूर्व–पश्चिम सकाएको भने यो पहिलो पटक हो ।

विश्वकै लामो मात्र छैन, समुद्री सतहबाट विश्वकै उच्च स्थानको पदमार्ग पनि हो । ग्रेट हिमालय ट्रेल, उच्च पहाडी र हिमाली भाग भएर पूर्वमा कञ्चनजङ्घा नर्थ आधार शिविर (५,१४७ मि.) बाट सुरु भएर हुम्लाको हिल्सा (३,६४७ मि.) पुगेर सकिन्छ ।

Great Himalayan Trailयसभित्र नेपालका उत्कृष्ट १० पदमार्गहरू समेटिएका छन् । यसबाहेक कश्मीरदेखि तिब्बतसम्म समेटेर ग्रेटर हिमालय ट्रेलको प्रस्ताव पनि गरिएको छ । यसको कुल लम्बाई ४ हजार ४५ सय किलोमिटर छ ।

यस पटक मेरो यो यात्रा स्वीट्जरल्याण्डको इन्टरलेकनकी पदयात्री मारिया थेरेसिया वेसिगको सहयोगीको रूपमा थियो । हामीले चार महिना लगाएर ग्रेट हिमालय ट्रेल पुरा गरेका हौँ ।

यो पदयात्रा गाह्रो त छ नै तर रोमाञ्चक पनि छ । म यहाँ पदयात्राका क्रममा मेरो मनमा बसेका छापहरू पाठकहरू समक्ष ल्याउन खोजेको छु । यो पदयात्रामा नेपालको सबैजसो हिमालय श्रृंखलाहरु देख्न पाइन्छ । यात्रा सुरु गर्ने क्रममा सर्वोच्च शिखर सगरमाथा, विश्वकै तेस्रो अग्लो ह्लोत्से, चौथो कञ्चनजङ्घा, पाँचौँ मकालुलगायतका हिमालहरूसँग साक्षात्कार हुन्छ ।

त्यही पूर्वी क्षेत्रको वेस्ट कोल, शेर्पिनी कोल, आम्फु लाप्चा र तासी लाप्चा निक्कै गाह्रो क्षेत्र मध्ये हो । वेस्ट र इष्टकोलमा हाम्रो एक जना पोर्टर घाइते समेत भए । हिम खाडलहरू, ग्लसियर र ढुंग खस्ने जस्ता समस्याहरू यहाँ छन् । बाटोमा हिउँ, चट्टान हुँदै हिँड्नु पर्दा अप्ठ्यारो छ ।

तर, त्यो अप्ठ्यारोलाई पययात्राको आनन्दले जित्छ । उच्च पहाडी तथा हिमाली दृश्यावलोकन, हरियालीले मनमा आनन्दित बनाउँछ । यस प्रकारको दृश्य पश्चिम जाँदै गर्दा फेरिँदै जान्छ ।

Great Himalayan Trailयो पदयात्राको अर्को महत्त्वपूर्ण विशेषता भनेको भौगोलिक तथा जैविक विविधताको आलवा मानवीय तथा सांस्कृतिक विविधता पनि हो । पूर्वदेखि पश्चिमसम्म जाँदै गर्दा क्रमशः हरियाली कम हुँदै जान्छ, फरक प्रकारका वनस्पतिहरू देखा पर्छन् । बिस्तारै उजाड र मरुभूमि जस्ता क्षेत्रहरू पनि देखिन थाल्छ । यति मात्र कहाँ हो र, संस्कार, संस्कृति, भेषभुषा, बेलीचाली पनि फरक हुन थाल्छ ।

पूर्वबाट पश्चिमतिर तीनमन, लाङटाङ हुँदै अझ पश्चिम छिरेपछि मनस्लु र अरू ८ हजार माथिका हिमालहरू धौलागिरी, अन्नपूर्णहरू देखा पर्छन् । अनि मनाङ–मुस्ताङ हुँदै डोल्पा छिर्छौं । मुस्ताङ छिरेपछि मरुभूमि जस्तै अनुभव हुन थाल्छ । बोटबिरुवा नै नभएको ठाउँहरूमा पुग्छौँ । तिब्बती र शेर्पा संस्कृतिहरू देख्छौँ । त्यो पनि ठाउँ ठाउँमा फरक देखिन्छ । बोन गुम्बाहरू देखा पर्छन् ।

Great Himalayan Trailयस पदयात्रामा मैले विदेशीहरू भिन्न संस्कार, संस्कृति र भौगोलिक विविधताको अवकोलन गर्न आउने रहेछन् भन्ने कुरा थाहा पाएँ ।

डोल्पादेखि मुगुसम्मको बाटो राम्रो लाग्यो । यहाँको बाटो मरुभूमि जस्तै देखिन्छ । यात्रा गर्दा बाटोमा मानव बस्ती भेटिँदैन । तर, बाटोबाट डाडैँडाडा, हिमालका साथमा राम्रो भ्यूसमेत देखिने रहेछ । पदयात्रामा जानेहरूका लागि बाटोबाट देखिने भ्यु महत्त्वपूर्ण हुन्छ । त्यसैले हो मन लोभ्याउने । हामी पनि त्यस्तै भ्युमा केही समय बसेर फोटो खिच्ने गर्थ्यौ । बाटोमा यार्सागुम्बा समेत भेटिने रहेछ ।

शान्त वातावरणमा रहेको मुगु दुर्गम र आर्थिक हिसाबले गरिब छ । विकट स्थानमा मुगु भए पनि छुट्टै पहिचान बोकेर बसेको देखियो । मुगु र हुम्लाको बीचमा धेरै पदमार्ग नभएका कारण पनि छुट्टै पहिचान बनेको होला ।

मैले मारिया सँगको यात्रामा धेरै कुरा सिक्ने मौका पाएँ । साथै पदयात्रामा आउने विदेशी के चाहन्छन् भन्ने पनि बुझें । खासमा नेपाल घुम्म आउने थोरै मात्र विदेशी केही छुट्टै गरौँ भन्ने सोच बनाएका हुँदा रहेछन्, त्यसमा मारिया पनि पर्थिन् । त्यस्ता पर्यटकमा फरक/फरक संस्कृतिको अवलोकन गर्दै नयाँ स्थानहरू अवलोकन गर्दै अरूले भन्दा फरक केही गरौँ भन्ने भावना हुँदो रहेछ ।

Great Himalayan Trail

Great Himalayan Trail

– हालै मात्र १७ सय किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलको पदयात्रा सकेका ट्रेकिङ गाइड गुरुङको अनुभव कुराकानी आधारित रहेर तयार पारिएको हो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…