कोरोना कहरमा गाइड: सरकारले गाइडलाई हेरेन
- नरेन्द्र मोक्तान, चिनियाँ भाषा गाइड
काठमाडौं । विशेष गरेर सन् २०१८ र १९ मा मेरो काम राम्रो भएको थियो । तर, २०२० को सुरुवात देखि नै कोरोनाका कारण समस्या सुरु भयो । म चिनियाँ भाषाको गाइड भएकोले चिनियाँ पर्यटक मेरा लागि महत्त्वपूर्ण हुन्छन् । तर सुरुमा चीनमा र पछि नेपालमा पनि लकडाउन सुरु भएपछि काम हुने कुरै भएन । विशेष गरेर नेपालमा भ्रमण वर्ष सुरु भएको थियो, त्यही बेला चीनमा नयाँ वर्षको माहौल थियो । त्यस बेला चिनियाँ पर्यटक आउने अपेक्षा गरिएको थियो । तर, चीनमा लकडाउन सुरु भयो । त्यसपछि नेपालमा पनि लकडाउन भयो । आउन लागेका चिनियाँ पर्यटकका सबै बुकिङ रद्द भए ।
लकडाउन सुरु भएको एक साता जति आफूलाई सम्हाल्नै गाह्रो भयो । के गर्ने कसो गर्ने केही सोच्न सकिन । हिमाल, पहाड र पाखा पखेराहरूमा रमाउने मान्छे एउटा कोठाभित्र थुनिएर रहनु पर्दा साह्रै गाह्रो भयो । तर बिस्तारै किताबहरू पढ्ने, भिडियोहरु हेर्ने गरेर दिन बिताउन थालेँ । लकडाउन केही खुकुलो भएपछि हात्तिवनमा गएर रक क्लाइमिङ गरेँ, हाइकिङ गरेँ ।
मैले यसअघि काम गरेका साथीहरूले के कस्तो छ, सहयोग चाहिन्छ की भनेर सोधखोज गरिरहेका छन् । तर, मैले अहिलेलाई ठिकै छ, सहयोग चाहिएको अवस्था छैन भन्ने गरेको छु । आशा छ, सरकारले पनि कोरोनाका कारण आक्रान्त भएको पर्यटन क्षेत्रको उत्थानको लागि केही योजनाहरू ल्याउने छ ।
गाइडहरूको लागि ट्रेकिङ ऐजेन्सिज एसोसिएसन आफ नेपाल (टान) ले पनि काम गरिरहेको छ । यसअघि टानले बैङ्कसँग मिलेर ल्याएको क्रेडिट कार्डको व्यवस्था भने अधिकांश गाइडहरूका लागि उपयुक्त भएन । क्रेडिट कार्डका लागि कम्पनीले सिफारिस गर्नुपर्छ, सबै गाइडहरूले सिफारिस पाउने अवस्था छैन ।
मेरो विचारमा सरकारले विभिन्न निकायसँग समन्वय गरेर गाइड तथा श्रमिकहरूलाई प्राथमिक उपचार, फोटोग्राफी तथा पर्यटन क्षेत्रको अध्ययनलगायतका कामहरूमा तालिम दिने र त्यही अनुरूप काममा लगाउने र त्यस बापत केही पारिश्रमिक दिने खालको काम गरेको अवस्थामा केही राहत मिल्थ्यो । त्यसै गरी हिमालको सरसफाइ, खोज, अनुसन्धान जस्ता कामहरू पनि लगाउन सकिन्छ । त्यसै गरी सरकारले अघि सारेको ५० अर्व रुपैयाँको कोषमा पनि हामी जस्ता श्रमिकहरूलाई कसरी समेट्ने भन्ने हेरिनु पर्छ भन्ने लाग्छ ।
(कोरोना महामारीले सबैभन्दा धेरै प्रभावित बनाएको क्षेत्र पर्यटन हो । सबैभन्दा सुरुमा बन्द भएको यो क्षेत्र सबैभन्दा पछि पुनर्स्थापित हुनेछ । विदेशी पर्यटकमा निर्भर रहेको नेपाली पर्यटन व्यवसायमा सबैभन्दा ठुलो मारमा गाइडलगायतका पर्यटन श्रमिकहरू परेका छन् ।तिनै गाइडहरूको अवस्था के छ, कसरी उनीहरू दिन बिताइ रहेका छन् र उनीहरूले राखेका अपेक्षा के कस्ता छन् भन्ने बारेमा हामीले केही प्रतिनिधिहरूसँग कुरा गरेका छौँ । उनीहरूको भनाइको सम्पादित अंश प्रस्तुत गर्दै जाने छौं । – सम्पादक)
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…