लुकेको बस्ती गुर्जाको सफलताको कथा
‘एडभेन्चर इको ट्रेल हब’ बन्दै
घनश्याम खड्का
म्याग्दी । एउटा बस्तीको कति वटा परिचय हुन्छ ? सायद एक वा दुई । तर म्याग्दीको एक अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गुर्जा गाउँ एउटा भए पनि परिचय भने अनेक छन् ।
जिल्लामा प्रचलित उखान नै छ, ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन ।’ गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा अवस्थित गुर्जा गाउँबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा ८ घण्टा पैदल यात्रा गर्नुपर्ने भएकोले गुर्जालाई ‘लुकेको बस्ती’, ‘दुरवस्ती’, ‘एकल बस्ती’ तथा एउटा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिएको छ ।
धौलागिरी गाउँपालिका–१ मा पर्ने परम्परागत शैलीका गुचुमुच्च घर रहेको बस्ती छन्त्याल जातिको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल पनि हो । धौलागिरी हिमश्रृखलामा पर्ने चुरेन, पुथा र गुर्जा हिमालको जरोमा असङ्ख्य खोँच र गल्छीका विकटता भित्र लुकेको बस्ती गुर्जाको जीवन शैली रोचक छ । गाई, भैँसी, भेडा पालन तथा मकै, आलु र गहुँ, जौको खेतीबाट जीविकोपार्जन गर्ने गुर्जावासीको मुख्य आम्दानीको श्रोत भने यार्चागुम्बा, जङ्गली च्याउलगायतका जडीबुटीको व्यापार हो । यो गुर्जावासीको बाध्यता पनि हो ।
हिमालमुनि लुकेको छन्त्याल जातिको सबैभन्दा ठुलो बस्ती गुर्जा खासमा ‘हर्बल हब’ पनि हो । सानो तर समथर हिमाली उपत्यका गुर्जा पुग्न कठिन भए पनि पुगेपछि भने मनमोहक छ । ‘हर्बल हब, गुर्जा’ मा घरवास, सामुदायिक होटेलसहितको ‘इको टुरिजम’ को व्यवस्थापन गरिएको छ । गुर्जा विभिन्न बहुमूल्य जडीबुटी पाइने हर्बल हब मात्र होइन यो दर्जन पर्यावरणीय साहसिक पदमार्गको सङ्गम थलो (इको एडभेन्चर ट्रेल हब) पनि हो ।
गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट छिचोल्दै रुकुम निक्लने यार्सा मार्ग, बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरी बेसक्याम्प पुग्न सकिने भएकोले पछिल्लो पटक एडभेन्चर ‘ट्रेल हब’ को रूपमा पनि परिचित हुन थालेको छ । म्याग्दीको बेनीबाट ताकम, गुर्जा, पुथा, चुरेन बेसक्याम्पहुँदै रुकुमको टकसरा निक्लने यार्सा ट्रेल पुरा गर्न सकिन्छ ।
‘गुर्जा एउटा साहसिक पदयात्राका लागि ट्रेल हब र अनगिन्ति हिमाली जडीबुटी पाइने भएकोले गुर्जा ‘हर्बल हब’ पनि हो’ धौलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष समेत रहेका पर्यटन तथा जडीबुटी व्यवसायी झकबहादुर छन्त्यालले भने, ‘गुर्जाको पर्यटन प्रवर्द्धनका लागि ‘गरिबिका लागि पर्यटन अभियान’ र जडीबुटीको व्यनवसायिक खेती सुरु गरेका छौँ ।’
गुर्जाबाट दलसिंह खर्क, भुजे खर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसरासम्मको पदमार्ग यार्सागुम्बा पाइने मुख्य क्षेत्रबाट जाने पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो । छिमेकी बस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने असङ्ख्य खोँच र विकटतासँग भित्र लुकेको बस्ती गुर्जा पर्यटकको आकर्षण बन्न थालेको छ । गुर्जा विश्व प्रख्यात ढोरपाटन सिकार आरक्ष भित्र पर्ने मध्यबर्ती बस्ती पनि हो । गुर्जालाई हब मानी पर्यटन विकास गर्न छन्त्यालसहितको टिमले पश्चिम धौलागिरी ट्रेकमार्फत नक्साङ्कन गरेका छन् । लुकेको बस्ती गुर्जा पदमार्गबारे वेबसाइट, म्याप बुक र गाइड बुक समेत तयार भएको छ ।’
समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जा हिउँद चार महिना बाक्लो हिउँले छिपिएपछि संसारको मानव सम्बन्धबाट विच्छेद हुन्छ । एक सय ४२ घरपरिवारले बसोबास गर्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल पनि हो । छन्त्याल जातिको सबैभन्दा ठुलो बस्ती गुर्जा जिल्लाको सबै भन्दा टाढाको यो बस्ती हो ।
कसरी पुग्ने ?
गुर्जा गाउँ पुग्न म्याग्दी जिल्लाकै लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीन वटा बाटाहरू झन्डै तीन हजार तीन सय देखि ४ हजार मिटर उचाइका घना जङ्गली भञ्जाङ छिचोल्नु पर्छ ।
‘व्यक्तिगत रूपमा आउने एड्भेन्चर र कल्चरल पर्यटकलाई गुर्जा सेन्चुरी पदमार्ग उपयुक्त छ । तर व्यक्तिगत रूपमा आउने सौखिन पर्यटकका लागि होटेल रेस्टुरेन्टलगायतका आधारभूत पूर्वाधार आवश्यक छ’ धौलागिरी पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले थपे, ‘ठुलो कुरा केही छैन । खाली पदमार्गमा पर्ने ताकम, मुना, लम्सुङ, गुर्जाका बस्तीका केही घरमा पर्यटकका लागि आधारभूत खाना र बस्ने बेडको लागि तालिम दिए पुग्छ ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…