September 17, 2023

हाइक फर हेल्थ: चाँगुनारायणदेखि नगरकोट

  • लाला गुरुङ

पछिल्लो समय व्यस्त जीवनशैलीको तनावबाट मुक्त भइ शरीर र मन दुबै पुनर्ताजगी गर्न हाइकिङ जाने परम्परा विकास हुँदै गएको छ । हाइकिङ जाँदा शारीरिक कसरत पनि हुने, प्रकृतिसँग नजिकिदै, ग्रामीण परिवेशलाई नियाल्दै र रमाइलो गर्दै आनन्द लिनेहरुमा हाइकिङको लोकप्रियता अझ बढ्दो छ ।

लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीले हाइक फर हेल्थ नारासँगै महिनामा २ चोटी काठमाडौँ वरिपरि हाइकिङ जाने गरेको छ । यही सिलसिलामा शनिबार चाँगुनारायण देखि नगरकोट हाइकिङ गरेको छ ।

लायन्स र लियो क्लब अफ काठमाडौँ चाबहिल सिटीका १९ जना सदस्यहरु बिहान ७ बजे चावहिलमा जम्मा भएर बसमा चाँगुनारायण पुगेर हाइकिङ सुरु भएको थियो । सहभागीहरु ६ वर्षका देखि ६७ वर्षसम्मका थिए । चाँगुनारायणको बसस्टपमा बिहानको खाजा खाएर हाइकिङ गाइडले ब्रिफिङ गरेका थिए । चाँगुनारायण मन्दिरको दर्शन पछि तीन समुहमा बाँडिएर करिब साढे ८ बजे तिर चाँगुनारायण नगरकोट हाइक सुरु गरिएको थियो ।

हाइकिङ समुहले फोहोर मैलासमेत संकलन गरेको थियो । संकलित फोहोरलाई कतिले डस्टविनमा राखे भने कतिपयले आफ्नै घर समेत लगेका थिए । सबैभन्दा धेरै फोहोर संकलन गरेका ६ वर्षीय बालक पेमा शेर्पालाई पुरस्कृतसमेत गरिएको थियो । फोहोर संकलन गर्ने झोला कीप नेपाल र खुम्भिला अध्ययन प्रतिष्ठाले प्रायोजन गरेको थियो ।

लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीका सदस्य तथा हाइकिङ संयोजक सुरेन्द्र अधिकारीले आजको हाइकिङ रुटबारे जानकारी दिएक थिए ।

अधिकारीका अनुसार समुहले आयोजना गरेको यो चौथो हाइकिङ हो । “महिनामा २ वटा हाइकिङ गर्ने योजना, आजको हाइकिङ चाँगुनारायणबाट तेलकोट हुँदै नगरकोट पुग्ने हो । यो बाटो करिब ४ घन्टा लाग्छ । सकभर हामीले जंगलको भित्रको बाटको ट्रेल समातेका छौँ । तर ठाउँ ठाउँमा विकासको कारणले गर्दा कहीँ ट्रेल छ, कहीँ कंक्रिट छ, कहीँ ग्राबेल छ । तेलकोट जाउन्जेल हामी उकालो उकालो हुँदै जंगल आएपछि तेलकोट ओर्लनुपर्ने हुन्छ । तेलकोट ओर्लिसकेपछि तेलकोटबाट माथि गए पछि देवीको मन्दिर छ, त्यहाँ पुग्न सिंढी चढ्नु पर्छ” उनले ट्रेलको बारेमा भने ।

चाँगुनारायणबाट गाउँको बाटो छिरेर उकालो हुँदै करिब साढे १ घन्टा हिँडे पछि त्रिशुल डाँडाको तल शितलमा विश्राम पुगिन्छ । त्यहाँ खानेकुरा खाएर चम्चा दौड खेलमा रमाइलो गरिएको थियो । करिव ३० मिनेटको ब्रेक पछि जंगलको बीच हुँदै कहिले तेर्सो, कहिले उकालो र कहिले ओरालो बाटो हिँड्दै प्राकृतिक सुन्दरताको आनन्द लिँदै, झ्याउँकिरि र, चराचुरुङ्गीहरुको चिरबिर आवाज सुन्दै र बेला बेलामा जुकाबाट बच्दै नगरकोटको पुरानो बजार तेलकोट हुँदै जलपादेवी मन्दिर पुगियो ।

जलपादेवीको दर्शन पछि त्यहाँ करिब २० मिनेट आराम गरेर फेरि हाइकरहरु अगाडि बढ्यो । यात्राको क्रममा स्थानीयहरुसँग भलाकुसारी गर्दै स्थानीय काँक्राको स्वाद लिंदैकेहीबेरको उकालो हिँडेपछि पछि टोली नगरकोट पुग्यो ।

हाइकिङको बारेमा लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीका संस्थापक सदस्य प्रधुम्न कुमार पोख्रेलले भन्छन् “म लगातार नछुटाइकन हाइकमा सहभागी भइरहेको छु । मेरो व्यक्तिगत रुपमा र यो ४ चोटीको हाइकिङले यो रेगुलर हुनुपर्छ भन्ने अनुभव दिएको छ । यो उमेरमा हामी जस्तो कम व्यायाम गर्ने, हिँडने काम पनि कम गर्ने मान्छेलाई कमसेकम महिनामा एउटा हाइक भएको अवस्थामा जिउ फर्तिलो रहन, र सजिलो सँग ज्यान मेन्टेन गर्न सजिलो हुन्छ जस्तो लाग्छ । त्यसैले यो निरन्तरता रहिस् भन्न चाहन्छु ।”

हाइकिङ हाइक फर हेल्थ मात्र नभएर वातावरण जोगाउन र नयाँ ठाउँ र नयाँ मानिसहरु भेट्दा मिल्ने खुशी पनि महत्वपूर्ण रहेको लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीका अध्यक्ष जिम्बा जाङ्बु शेर्पा बताउँछन् । उनका अनुसार आफु अध्यक्ष भएपछि वातावरण र हेल्थमा फोकस गर्नुपर्छ भनेर “हाइक फर लायन । हाइक फर लायन प्लस हाइक फर हेल्थ, हाइक फर ह्यापिनेस” भन्ने नारा बनाएको हो ।

उनी भन्छन्, “हाम्रो अहिलेको स्लोगन नै डिस्ट्रिक्ट गभर्नरको स्लोगन नै ह्यापिनेस छ। हामी आफै ह्यापी भएनौँ भने अरुलाई कसरी सर्भ गर्ने, आफु नै हेल्थी भएन भने अरुलाई कसरी सर्भ गर्ने? यो हाइकिङ विशेष गरेर काठमाडौँ वरिपरि गर्छौं । हामी काठमाडौँको अलटिच्युड देखि २००० को अलटिच्युडमा जान्छौँ । हामीले लियो भाइहरुलाई पनि रिक्वेस्ट गरेका छौँ । चावहिल सिटी लियोका भाइ बहिनीहरुलाई पनि सामेल गरेका छौँ ।” उनका अनुसार हाइकमा उमेरको कुनै लिमिटेसन छैन ।

उनका अनुसार खुम्भिला अध्ययन फाउन्डेसन, र काठमाडौँ इन्भारोमेन्टल एजुकेशन प्रोजेक्ट  (किप) सँग समन्वय गरेर हाइकरहरुलाई एक/एक वटा झोला बाँडिन्छ । त्यो झोलामा प्लाष्टिक, बोतल र कुहिने सामानहरु जहाँ जहाँ डिस्पोज गर्ने ठाउँ छ, त्यहाँ डिस्पोज गर्ने र बाँकी काठमाडौँ लिएर आउने गरेका छन् । यसले हाइकिङको मनोरञ्जनको साथसाथै हेल्थ र वातावरणको सरसफाइमा पनि सचेतना बढाएको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।

 

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …