खुशी खोस्ने हिमालमै खुशी खोज्दै
दुई एकल महिलाको सगरमाथा अभियान
- समुन्द्रा घिमिरे
भरखरै पर्वतारोहणको सिजन सकिएको छ । सर्वोच्च शिखर सगरमाथामा रेकर्ड राखेका शेर्पाहरूको चर्चा सेलाइसकेको छैन । झट्ट हेर्दा सेल्ब्रिटी जस्तो लाग्ने पर्वतारोही शेर्पाहरूको जीवनको अँध्यारो पाटोको भने कमै चर्चा हुने गर्छ ।
यही पेसाले गर्दा कति युवतीहरु विधवा बनेका छन्, लालावालाहरू टुहुरा बनेका छन् र कति बृद्धबृद्धाले सहारा गुमेको छ । यस्तै पीडाबाट गुज्रिएकी महिला हुन्, निमा डोमा शेर्पा र फुरदिकी शेर्पा । उनीहरूलाई पनि त्यही सगरमाथाले विधवा बनाइ दिए । साना छोराछोरी टुहुरा बनाए ।
केही वर्ष अरू धेरै शेर्पीनीहरु जस्तै उनीहरूको पनि दिनचर्या खसम सम्झने अनि घरधन्दा गर्दै छोराछोरी स्याहर्नमै सीमित रहे । तर, पछिल्लो तीन वर्षमा भने उनीहरूको बाटो मोडियो ।
उनीहरूले निश्चित गरे, आफ्ना लोग्नेको पदचाप पछ्याउने । परिवारको लालनपालनको लागि काम गर्दा प्राणै लिने त्यो हिमालसँग पैठेजोरी खेल्ने । परिणाम गत जेठ ९ गते निस्कियो, बिहान ५ बजेर २५ मिनेटमा उनीहरू दुवै जनाले धेरैको लागि सपना जस्तै लाग्ने सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पाइला टेके ।
‘हाम्रो लागि यो कार्य न सोख थियो न त पेशा नै, खासमा हाम्रो लागि यो एउटा अठोट थियो’ दुवै जना एकै स्वरमा भन्छन्, ‘हाम्रो श्रीमान् र बुबाहरूले हाम्रा लागि गरेको दुख र सङ्घर्ष थाहा पाउने जमर्को थियो ।’
यसरी साहसका साथ सर्वोच्च शिखरको चुचुरा पुग्ने सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका–४ खुम्जुङकी ३४ वर्षकी निमाका पति छिरिङ वाङ्छुको सन् २०१४ मा हिम पहिरोमा परेर मृत्यु भएको थियो भने पाङपोचेकी ४२ वर्षीय फुरदिकीका पति आइसफल डाक्टर मिङ्मा शेर्पाको पनि सगरमाथामै निधन भएको थियो ।
‘हामी पनि गर्न सक्छौँ’ भन्ने नाराका साथ सगरमाथा अभियानमा लाग्दा उनीहरुबीच अर्को पनि एउटा समानता थियो, पतिको मृत्युसँगै घरपरिवारबाट गरिएको हेंलाहोचो । भन्छन्, ‘घरपरिवारबाट राम्रो सरसहयोग पाएको भए सायद यो अभियानमा लागिन्नथ्यो की?’
अभियान सुरु त गरे तर सजिलो भने थिएन । झण्डै तीन वर्षको अथक मेहनत पछि बल्ल उनीहरूको अभियानले सफलता पाएको हो । यसबीचमा शारीरिक तन्तुरुस्तीका लागि तयारी अभ्यासहरू गर्नु त छँदै थियो छोराछोरीलाई हुर्काउने र प्रायोजक खोज्ने काम पनि सजिलो थिएन ।
उनीहरूकै भनाइमा दुई वर्ष त आरोहणकै तयारी अभ्यास गरे, त्यो ज्यादै कडा थियो । सगरमाथा चढ्ने भनिसकेपछि आरोहणसम्बन्धी तालिम लिनेदेखि ६ हजारभन्दा माथिका हिमाल पनि चढ्नु पर्ने हुन्छ । तैपनि उनीहरू डग्मगाएनन्, निरन्तर लागि रहे ।
निमाका अनुसार घरतिरबाट सहयोग नपाएपनि माइतीका दाजुभाइ र आमाको साथले यो सम्भव भएको हो । उनीहरूले दुई बच्चाको जिम्मेवारी लिइदिए अनि सगरमाथा अभियानमा पनि निरन्तर प्रेरणा दिई रहे ।
खासमा पतिको मृत्युपछि निमा गाउँमै थिइन् । तर, घरतिरकाले राम्रो नगरेपछि काठमाडौँ छिरेकी हुन् । यही भेटिइन्, आफूजस्तै पीडामा रहेकी फुरदिकीलाई । एकै ठाउँका भएपनि सामान्य चिनजान मात्र भएका यी दुईकै भाग्यलाई विधाताले चुँडाएको थियो । दुखहरु साट्ने क्रममा जीवनको नयाँ बाटो कोर्ने साहस पलायो । ‘हामी दुवै जना लोग्ने सम्झेर, भाग्यलाई दोष दिएर घन्टौँ रुँदै बस्थ्यौँ’ फुरदिकी विगत सम्झिन्छिन्, ‘कति बेला रात पर्थ्यो, कति बेला उज्यालो हुन्थ्यो केही पत्तो पाउँदैनथ्यौँ ।’
यसरी शोकमा रहेका उनीहरू दुवैले एक दिन अठोट गरे, ‘हाम्रा श्रीमानहरूले हिँडेको बाटो हिँड्ने ।’ पर्वतारोहण र गाइड तालिमहरू सकेपछि दुवै जनाले गएको कात्तिकमा मनाङको ६५८४ मिटर अग्लो चोलु इष्ट, मङ्सिरमा सोलुखुम्बुको ६१८९ मिटर अग्लो आइसल्यान्ड पीक र वैशाखमा ६ हजार १ सय ९९ मिटर अग्लो लबुचे पीकको आरोहण गरे ।
त्यसपछि बल्ल उनीहरू सगरमाथा आरोहणको कार्य सुरु भयो । निमाका पति सगरमाथाले निलेको थियो, फुरकिदीका त पति मात्र होइन, बाबु पनि त्यही हिमालमा समाहित भएका थिए ।
भन्छिन्, ‘जब आधारशिविरदेखि माथि लाग्यौ, पति र बुबाको धेरै याद आयो । उनीहरूलाई सम्झँदै, रुँदै अघि बढेँ ।’ बल्ल थाहा भयो, हाम्रा लागि बुबा र पतिले कस्तो दुख गरेका रहेछन् भन्ने कुरा
।
अहिले फुरदिकीकी जेठी छोरी टसिजामु २०, माहिली पाल्देनजमु १७ र कान्छी छोरी तसिदवा १४ वर्षकी भइन् । तीनै जना अहिले अमेरिकामा पढ्दै छन् । माइली र कान्छीलाई स्पोन्सरले पढाउन लगेका हुन् । निमाको छोरालाई हिमालयन ट्रस्ट र छोरीलाई एक जना आफन्तले पढाइरहेका छन् । निमाले आफ्ना १२ वर्षका छोरा पेम्बालाई सगरमाथा आरोहणमा जाने बताए पनि छोरी निमा ल्याङजेलाई आधार शिवरवाटै फर्कने बताएकी थिइन् ।
उनीहरूले यो सङ्घर्ष आफ्नै लागि मात्र गरेका भने होइनन् । भन्छन्, ‘हिमालमा पति गुमाउँदा हामीले जे दुख पायौँ, अरूले नपाओस् भन्ने हाम्रो चाहना छ, त्यसका लागि केही गर्न सकिन्छ की भन्ने सोचमा छौँ ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…