बुद्ध एयर आफैले बनायो अपाङ्ग मैत्री र्याम्प
काठमाडौँ । नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अपाङ्ग तथा बिरामी यात्रुलाई लक्षित गरी नयाँ प्रविधिको र्याम्प (भर्याङ) र व्हीलचियर बनाएको छ ।
बुद्धले आन्तरिक/अन्तर्राष्ट्रिय उडानमा अपाङ्ग व्यक्ति तथा बिरामी व्यक्तिका आफन्तको गुनासो सम्बोधन गर्दै उक्त र्याम्प बनाएको जनाएको छ ।
नेपालमा उडान भर्ने विदेशी विमान कम्पनीहरूले यस्तो र्याम्पको प्रयोग गर्दै आएता पनि नेपाली वायुसेवा कम्पनीले त्यस्तो प्रविधिको प्रयोग गरेका थिएनन् ।
नेपालीको लगानीमा सञ्चालित वायुसेवा कम्पनी र आन्तरिक उडानमा बुद्धले पहिलो पटक नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उक्त र्याम्प विदेशबाट ल्याउन बढी महँगो हुने भन्दै आफ्नै स्रोत र साधनको परिचालन गरेर बनाएको बुद्धका बजार प्रबन्धक रुपेश जोशीले जानकारी दिए ।
उनका अनुसार अबको एक महिना परीक्षण पछि उक्त र्याम्प प्रयोगमा ल्याइने छ ।
पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा उक्त प्रविधि जडान हुने बुद्धले जनाएको छ । अपाङ्ग मैत्री र्याम्प र व्हीलचियरवाट आरामदायक र सुरक्षित उडानको आनन्द यात्रुले लिने बुद्धले अपेक्षा गरेको पनि उनले जनाए ।
बुद्ध एयरका अनुसार अपाङ्ग मैत्री व्हीलचियर जहाजको ग्याप सिटमा सजिलै राख्न मिल्ने खालको छ।
सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ । हाल बुद्ध एयरसँग ७ वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्टलगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा भारतका दुई सहरमा बुद्धले उडान गर्दै आएको छ भने एक सहरमा उडानको तयारी थालेको छ । हाल बुद्धले भारतको बनारस र कोलकातामा उडान गर्दै आएको छ भने गुवाहटीमा तयारी थालेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…