July 9, 2019

निगमको चीन उडान अझै अनिश्चित, चिनियाँ सिभिल एभिएसनद्वारा ‘सेफ्टी अडिट’को प्रस्ताव

  • समुन्द्रा घिमिरे 

A aircraft of Nepal Airlinesकाठमाडौँ । नेपाल र चीनबीच हवाई सम्झौता भए पनि अझै नेपाली विमानले चीनमा कहिले उडान भर्न पाइन्छ भन्ने कुरा अनिश्चित छ ।

राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमले करिब पाँच वर्षको प्रयासपछि चीनको गोञ्जाओमा उडानको प्रारम्भिक अनुमति पाएपनि चीनले अर्को अड्को थापेपछि अनिश्चित बनेको हो । यसले नेपाल भ्रमण वर्ष २०२० का बेला चीनबाट थप पर्यटक भित्र्याउने प्रयासमा समेत प्रश्न उठेको छ ।

अनुमति मागेको लामो समयसम्म पनि स्वीकृति नपाएपछि सरकारले कूटनीतिक पहल गरेर प्रारम्भिक अनुमति दिलाएको थियो । तर, चिनियाँ सिभिल एभिएसनले ‘सेप्टी अडिट’ गर्नुपर्ने बताएर उडानलाई अनिश्चित बनाइदिएको छ ।

‘चीनको सिभिल एभिएसनले निगमको ‘सेफ्टी अडिट’ गर्न आउन सक्छौँ भनेर चिठ्ठी पठाएको छ । तर उनीहरूले त्यसको योजना भने पठाएका छैनन्’ निगमका सह प्रवक्ता नवराज कोइरालाले हाइलाइट्स टुरिजमलाई भने । चिनियाँ पक्षले योजना पठाएपछि मात्र ‘अडिट’ कहिलेबाट सुरु हुनेलगायतका विषयमा जानकारी हुनेछ ।

निगमले पठाएको डकुमेन्टमा चित्त नबुझेको भन्दै चिनियाँ पक्षले विज्ञहरू टोली नेपाल पठाउन लागेको हो । चीनको विज्ञ टोलीले अडिट गरेपछि मात्रै अनुमति दिने नदिने विषयमा छलफल हुनेछ । चिनिया टोलीले सेप्टी अडिट गरेपछि अडिट प्रतिवेदन आउन बढीमा ९० दिन लाग्ने निगमले जनाएको छ ।

निगमले सन् २०१४ देखि चीनको ग्वोञ्जाओमा उडानको लागि चिनियाँ नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गर्दै आएको थियो । सन् २००७ सम्म चीनको संघाईमा ट्रान्जिट गरी जापान उडान गर्दै आएको थियो । लामो दुरीको अन्तर्राष्ट्रिय उडानमा विमान अभावका कारण रोकिएको चीन उडान हालसम्म पुन: सुरु हुन सकेको छैन ।

निगमले एक वर्ष अघि चीनमा कार्यालयसमेत स्थापना गरेको थियो । कार्यालय स्थापना गरेर उडानको तयारी गरेको निगमलाई चीनले उडान अनुमति नदिँदा कार्यालय बन्द गर्नुपरेको थियो ।
नेपालले विभिन्न ३९ देशमा उडान भर्ने गरी उडान सम्झौता गरेको छ । सन् १९९५ देखि २०१८ सालसम्म एकल र बहु उडान गर्ने गरी सम्झौता गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

नेपाल–चीन हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन् । बेइजिङ, संघाई, ल्हासा, ग्वाञ्जाओ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन सरकारसँग भएको हवाई रुट सम्झौताको पुनरावलोकन गर्ने तयारी पनि गरिरहेको छ । साउनको पहिलो साताभित्र चीनको बेइजिङमा हुने सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना र नेपालका प्रतिनिधिबीच हुने वार्तामा हवाई रुट पुनरावलोकनको कुरा उठाइने मन्त्रालयले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…