July 19, 2019

थपिँदै चेन होटेल, यी होटेलमा गरिएका छन् अर्वौँ लगानी

  • समुन्द्रा घिमिरे
Hotel Radission
होटल र्‍याडिसन ।

काठमाडौँ । असार २ गते बिहीबार काठमाडौँमा नयाँ चेन होटेलका रूपमा होटेल मेरिएटको औपचारिक उद्घाटन भयो । पाँच तारे चेन होटेलका रूपमा नेपाल भित्रिएको यो कान्छो होटेल हो । यसअघि नेपाल भित्रिएका पाँच तारे चेन होटेलको सङ्ख्या ५ थियो । मेरिएटसहित अब छ पुगेको छ ।

पर्यटन विभागको तथ्याङ्क अनुसार हाल देशका विभिन्न स्थानमा खुलेका पाँच तारे होटेलको सङ्ख्या १५ छ । जसमा २ बन्द छन् । बन्द भएको होटेल एभरेस्ट पुन: सञ्चालनको तयारीमा छ । चेन होटेल काठमाडौँका ५ वटा र नेपागन्जमा एउटा रहेको छ ।

पहिलो पटक चेन होटेलका रूपमा नेपाल भित्रिएको सोल्टी होटेलले आफ्नो सेवा विस्तार गर्ने क्रममा २ अर्व लगानीमा नेपालगन्जमा सोल्टी शिवविक्रम होटेल्स तथा रिसोर्टस् सञ्चालनमा ल्याएको हो ।

होटल सोल्टी, तारा गाउँ रिजेन्सी (हायात), होटेल ओरियण्टल (र्‍याडिशन), मेरिएट होटेल, होटेल अलफ्ट र नेपालगन्जमा रहेको सोल्टी शिवविक्रम होटेल्स तथा रिसोर्टस नेपाल भएका विदेशी चेन होटेल हुन् ।

तिनै चेन होटलहरुको बारेमा छोटो जानकारी दिइएको छ ।

होटेल मेरिएट

Hotel Marriott Kathmandu
होटल मेरियट ।

पाँच तारे कान्छो चेन होटेलको रूपमा नेपाल भित्रिएको होटेल मेरिएट हो । गत वैशाख २ गतेबाट व्यावसायिक रूपमा सेवा बिस्तार गरे पनि औपचारिक रूपमा बिहीबार मात्र होटेलको उद्घाटन गरिएको हो ।

काठमाडौँको नक्सालमा १३ रोपनी क्षेत्रफलमा फैलिएको मेरिएट विश्वव्यापी होटेल ब्रान्ड मेरियटको नामबाट सञ्चालनमा आएको छ । मेरिएटले ६५ देशमा ५ सय बढी होटेल र रिजोर्ट सञ्चालन गरिरहेको छ ।

पर्यटक विभागको तथ्याङ्क अनुसार होटेल मेरियटमा २ अर्व ६६ करोड ६० लाख लगानी रहेको छ भने २ सय १५ कोठा छन् । जसमा ३ सय ४४ वेड र तीन सय कामदार रहेका छन् ।

अलफ्ट होटेल

Aloft Kathmandu Hotel
अलफ्ट होटल काठमाडौं ।

चेन होटेलका रूपमा रहेको अलफ्ट होटेल गत चैत्र देखि सञ्चालनमा आएको हो । ठमेलस्थित छायादेवी कम्प्लेक्समा रहेको उक्त होटेलमा ५ अर्व लगानी भएको बताइएको छ । जसमा १ सय ६७ कोठा, २ सय १६ वेड र १ सय ८० कामदार छन् ।

होटेल हायात

Hyatt Regency
होटल हायात रिजेन्जी ।

३ सय ४ रोपनी क्षेत्रफलमा बौद्धमा सञ्चालनमा आएको तारा गाउँ रिजेन्सी होटेल लिमिटेड (हायात होटेल) मा एक अर्व ८८ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ ।

यो होटल भारतीय व्यापारी राधेश्याम सराफ, अरुण कुमार सराफ र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित छ । होटेलमा २ सय ९० कोठा, ४ सय २३ वेड र ४ सय १० कामदार रहेका छन् । उक्त होटेलको शेयरलगायतका विषय हाल विवाद छ ।

होटेल सोल्टी

Soaltee crown plaza Hotel
सोल्टी होटेल ।

नेपालमा भित्रिएको पहिलो चेन होटेल हो, सोल्टी । यो होटेलमा २ सय ८२ कोठा, ४ सय १७ वेड छ भने ६६ करोड ६० लाख लगानी रहेको छ । त्यस्तै सोल्टीले नेपालगन्जमा शाखा समेत विस्तार गरेको छ।

सोल्टी शिवविक्रम होटेल्स तथा रिसोर्टस्

Nepalgunj Soaltee hotel
सोल्टी शिवविक्रम होटेल्स तथा रिसोर्टस् ।

नेपालगञ्जको सोल्टी शिवविक्रम होटेल्स तथा रिसोर्टस् होटल सोल्टीकै लगानीमा खुलेको हो । यो सोल्टी वेस्टेन्ड प्रिमियरका नाममा सञ्चालित छ । झन्डै दुई बिघामा फैलिएको उक्त होटेललाई नेपालकै पहिलो ग्रिन होटेलका रूपमा समेत लिइन्छ । होटेलमा ६० कोठा, ९९ वेड छन् भने २ अर्व लागत लागेको बताइएको छ ।

होटेल ओरियण्टल (र्‍याडिसन)

Hotel Radission
होटल र्‍याडिसन ।

लाजिम्पाटमा रहेको यो होटेल विश्व होटल चेन र्‍याडिसनले सञ्चालन गर्दै आएको छ । यसमा २६० कोठमा गरी ४०० वेड रहेका छन् । यो होटलको सञ्चालकको रुपमा विद्याकृष्ण श्रेष्ठलगायत छन् ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…