July 26, 2019

एक प्रतिशत मात्र पर्यटक कर्णाली पुगे, एकीकृत योजनामा जोड

Karnali Tourism Development
कर्णालीमा पर्यटनको विकास सम्बन्धमा अन्तर्क्रियका सहभागीहरु ।

कर्णाली प्रदेशमा प्रशस्त पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि राज्यले वेवास्ता गर्दा पर्यटकलाई आकर्षित गर्न नसकेको सरोकारवालाहरूले बताएका छन् ।

कर्णाली पर्यटन विकास समितिले नेपाल भ्रमण वर्षको सचिवालयमा बिहीबार आयोजित अन्तर्क्रियामा सरोकारवालाहरूले कर्णालीको पर्यटन विकास हुन नसक्नुमा राज्यको बेवास्ता प्रमुख कारण रहेको बताए ।

गत वर्ष नेपाल भित्रिएका मध्ये १ प्रतिशत मात्रै पर्यटक कर्णाली पुगेको तथ्याङ्क छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१८ मा झन्डै १२ लाख विदेशी पर्यटक नेपाल आएकामा १२ हजार मात्र पर्यटक कर्णाली पुगेका थिए ।

सुर्खेतको काक्रेबिहार, मुगुको रारा, डोल्पा, हुम्ला आदि आकर्षक पर्यटकीय क्षेत्रको प्रचुर संभवना रहेपनि अझै ओझेलमा परेको सरोकारवालाहरूको भनाई थियो । उनीहरूले मुलुकले नेपाल भ्रमण वर्ष २०२० मनाउँदै गर्दा पूर्वाधारमा ध्यान नदिँदा कर्णालीका आकर्षण केन्द्रमै उल्लेख्य मात्रामा पर्यटक जाने वातावरण नबनेको बताए ।

कार्यक्रममा मुगुका सांसद गोपालबहादुर बलमे कर्णाली प्रदेशलाई राज्यले बेवास्ता गरेको बताए । तीन तहको सरकार बनेपछि विकासदेखि समग्र क्षेत्रमा कर्णालीलाई सबैले पछि पार्ने गरेको उनको गुनासो थियो ।

कार्यक्रममा प्राध्यापक डा. नन्दबहादुर सिंहले कर्णाली प्रदेशलाई नेताहरूले नै पछाडि पारेको आरोप लगाए । पहुँचवाला नेताको जिल्लामा धेरै बजेट र पहुँच कम भएका नेताको जिल्लामा कम बजेट विनियोजन हुने गरेको उनले बताए । उनले जिल्लाको विकासको गति अनुसार बजेट वितरण हुनुपर्नेमा पहुँचका आधारमा बजेट विनियोजन भएको बताए ।

पूर्व मन्त्री समेत रहेका सांसद जनार्दन शर्माले भने कर्णाली प्रदेशमा भएका स्रोत साधनको उचित प्रयोग नहुँदा पछि परेको बताए । उनले कर्णालीको विकासका लागि कसरी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्फ कर्णालीवासीले पनि ध्यान दिन आग्रह गरे । कसैले बल प्रयोग गरेर पर्यटक ल्याउन नसक्ने भन्दै रउनले दीर्घकालीन योजना नै बनाएर पर्यटकीय वातावरण निर्माण गर्न आग्रह गरे ।

‘कर्णाली पछि पर्‍यो भनेर गुनासो गरेर मात्र हुँदैन, हामी आफैले पनि समस्याको समाधानको लागि पहल गर्नु पर्छ, प्रकृतिले कर्णालीलाई समृद्ध बनाएको छ, त्यो समृद्धिलाई प्रयोग गरेर स्थानीय जनताले फाइदा लिन सक्नुपर्छ’ उनको भनाई थियो ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले भने कर्णालीको विकास नहुनुको केही दोष राज्यको र केही कर्णालीवासीकै भएको बताए । उनले भने, ‘कर्णालीको पर्यटनको प्रचुर सम्भावना केवल कर्णालीको मात्र नभई सिङ्गो देशलाई फाइदा पुग्ने खालको छ । कर्णालीको एकीकृत विकासका लागि दीर्घकालीन योजना बनाएर कसरी धेरै मात्रामा पर्यटक भित्र्याएर उनीहरूको बसाई लम्ब्याउन सकिन्छ त्यतातिर लाग्नुपर्छ ।’

तत्कालीनका लागि नेपाल भ्रमण वर्षलाई जोडेर कर्णाली प्रवर्द्धनमा जुट्दै पर्यटक लक्षित पूर्वाधार विस्तारमा ध्यान केन्द्रित गर्न उनले आग्रह गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अथाह पर्यटकीय सम्भावना बोकेको कर्णाली क्षेत्रको पर्यटन विकासका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागीहरूले सङ्घीय सरकारको समन्वयमा प्रदेश सरकारले कर्णाली प्रदेशको पर्यटकीय गन्तव्यहरूको एकीकृत प्रवर्द्धन, पूर्वाधार विकासलगायतमा काम काम गर्नु पर्ने औँल्याए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…