मारिया, जसले चार महिनामा १७ सय किलोमिटर हिंडिन्
ग्रेट हिमालय ट्रेल पदयात्री
काठमाडौँ । उनको कलेज तीन महिनाको लागि बिदा भयो । कहाँ जाने के गर्ने केही टुङ्गो थिएन । मनमा कतै गएर केही सहयोगी काम गरौँ भन्ने चाहिँ थियो ।
यस्तैमा एक जना साथीले उनलाई सुझाए, ‘नेपाल जानु, पोखरामा तिब्बती शरणार्थीहरू छन् । उनीहरूको परिवारलाई सघाउनु ।’ तर, त्यस बेलासम्म उनलाई न नेपाल बारे थाहा थियो, न तिब्बती शरणार्थी बारे ।
तैपनि उनले यो नयाँ ठाउँ आउने विचार गरिन् । कुरा भएको दुई सातापछि उनी पोखरा विमानस्थलमा आइपुगिन्, यो सन् २००८ को कुरा हो । पोखराको छोरेपाटनमा रहेको एक तिब्बती शरणार्थीको परिवारमा उनी तीन महिना बासिन् । उनीहरूको परिवारलाई सघाइन् । सघाउनु त के, जीवन र जगतका बारेमा उनीहरूबाट सिकिन् ।
स्वीट्जरल्याण्डको मनोरम सहर इन्टरलेकनकी मारिया थेरेसिया वेसिगको नेपाल सम्बन्ध यसरी सुरु भयो । त्यही तिब्बती परिवारसँगको बसाइमा नेपाल, ट्रेकिङ र हिमालबारे बुझिन् । बिदा सकियो, मारिया भौतिक विकासको चरम चुलीमा पुगिसकेको आफ्नै सुन्दर पहाडी मुलुक फर्किइन् ।
पढाई सकिन्, उनी साहसिक गतिविधि मन पराउँछिन्, रेडियो जक्की हुन्, मेडिकल असिस्टेन्टको रूपमा काम गर्छिन्, बगैँचा स्याहार्न मन पर्छ, वनस्पतिका बारेमा जानकार छिन् । त्योसँगै उनी नेपाल र नेपालका हिमालयका फ्यान बनिन् । उनी यस पटक चौथो चोटि नेपाल आइन् । यसअघि आउँदा उनले एभरेस्ट बेस क्याम्प र लाङटाङ क्षेत्रको पदयात्रा गरिन् ।
यस पटक भने उनी आउनुको प्रयोजन त्यो भन्दा अलि विशाल थियो, आउनुअघि आफ्नो फ्रेञ्च ब्लगमा लेखिन्, ‘मलाई फेरी एक पटक चुनौतीको सामना गर्ने रहर जाग्यो ।’
उनले पोकापुन्तरा तयार गरिन्, साइकललाई ठिकठाक पारिन् । भन्छिन्, ‘हिँड्नु अघि धेरै कुराहरू तयारी गर्नुपर्छ । सबैभन्दा ठुलो कुरा मानसिक रूपमा तयार हुनुपर्छ । म तयार भएँ ।’
हुईकिइन्, साइकलको प्याडल घुमाउँदै पुरानो सिल्क रोड पछ्याउँदै चाइनातिर । यो पाली उनले चीनबाट साइकलमै नेपाल प्रवेश गर्ने तय गरिन् । तर, मिलेन । चीनबाट जहाजमै नेपाल आउनु पर्ने भयो । यसरी ३ सय ३० दिनको साइकल यात्राबाट नेपाल आएर टुङ्गियो ।
तर, उनले भनेकी चुनौती यो थिएन । किनभने उनी यसअघि पनि एक पटक साइकलबाटै नेपाल आएकी थिइन् । खासमा उनले भनेकी चुनौती त बल्ल नेपाल आएपछि सुरु हुनेवाला थियो, १७ सय किलोमिटर लामो ‘ग्रेट हिमालय ट्रेल‘को पदयात्रा ।
ग्रेट हिमालय ट्रेलका बारे जब उनले थाहा पाइन् । भन्छिन्, ‘मैले त्यही बेला निश्चित गरेँ, मैले यो पदयात्रा पुरा गर्नै पर्छ ।’ नेपाल आएर चार महिनाअघि उनले आफ्नो पदयात्रा पश्चिममा हुम्लाको हिल्साबाट सुरु गरिन् । पूर्वमा कञ्चनजंघा पुगेर टुङ्गाउँदै छिन् । बिचमा दुई दिन आराम गर्न काठमाडौँ आइपुगेकी यी फरासिली युवती भन्छिन्, ‘यो पदयात्रा मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण सिकाई हो ।’
यो पदयात्रामा उनले धेरै कुराहरू देखिन् भोगिन् । गरिबीको त्यो चरम सीमा देखिन् । त्यसैमा खुसी र सद्भावको अद्भुत सङ्गम पनि अनुभूत गरिन् । कहिले कहीँ दाँच्छिन्, हाम्रो देशमा भोक छैन, महत्वकांक्षहरु पुरा गर्न पनि गाह्रो छैन । तर यहाँ खुसी र सद्भाव छ ।
त्यसो त उनी कसैको प्रायोजनमा आएकी होइनन् । नत स्विस सरकारले नै सहयोग गरेको छ । मेरा केही सामानहरू कम्पनीहरूले प्रायोजन गरेका हुन् । अरू सबै खर्च म आफैँले जुटाएकी हुँ । भन्छिन्, ‘पैसा जम्मा गरेर धेरैले घर/गाडी किन्छन्, म भने पदयात्रामा हिँडेकी छु । यो नै मेरो सपना हो ।’
उनको बुझाइमा घर, गाडी त किन्न सकिहालिन्छ नि । तर, यस्तो अनुभव गर्न कहाँ पाइन्छ र? घुम्नु भनेको सिक्नु हो । ‘यो पदयात्रामा मैले जे सिकेको छु, जे भोगेको छु । यसले अबको मेरो जीवन र पेसालाई व्यवस्थित बनाउन सहज बनाउने छ’ उनी भन्छिन् ।
नेपालको हिमाली भेगमा पश्चिमदेखि पूर्व छिचोल्दै जाँदा उनले गरेका अनुभवहरू पनि धेरै प्रकारका छन् । जब उनी कहीँ ट्वाइलेट सोध्छन्, अनि देखाइन्छ पाखाहरू । बाँच्नका लागि न्यूतम् आवश्यकता पुरा नभएका बस्तीहरू । हिँड्नका लागि ज्यानै जाला जस्ता गल्छेडाहरु । कति पटक त उनले गाइड सञ्जीव गुरुङसँग अव सकिन्न फर्कनु पर्ला भनेर समेत भनिन् । उनी भन्छिन्, ‘पदयात्रा गर्दा राम्रो गाइड हुनु धेरै राम्रो कुरा हो । मैले फर्कने कुरा गरेका बेला सञ्जीवले सधैँ मलाई हौसला दिइरहे ।’
के यो पदयात्राको पछाडि केही उद्देश्य छ ? होइन, केही छैन, उनको उत्तर सहज छ । मैले यसलाई प्रयोग गरेर केही गरौला भन्ने सोचेकी छैन । ‘केही गर्नको लागि पदयात्रामा निस्कनु त स्वार्थी भइहाल्यो नि । तर, म यो पदयात्रा र नेपालको बारेमा मेरो देशमा गएर बोल्ने छु’ उनी भन्छिन्, ‘अहिलेलाई मैले सोचेको यति हो । तर, हेर्दै जाउन् ।’
उनले कसैलाई गुहारेकी त होइनन्, न योजना नै बनाएकी थिइन् । तर, स्विस नेशनल टिभीका मानिसहरू आइपुगे । तीन साता उनीसँगै यात्रा गरे । ‘उनीहरूले मेरो यात्रा र नेपालका बारेमा कार्यक्रम बनाउँछु भनेका छन्’ उनीले भनिन्, ‘फर्केपछि मैले मेरो खुसीका लागि खिचेका फोटो र भिडियोहरू पनि उनीहरूलाई दिन्छु । यसले नेपालको प्रचारमा राम्रै गर्ला ।’
उनी ढुक्क थिइन्, आरामले कुराकानी गरिन् र आगामी दिनको पदयात्रा बारे सुनाइन्, ‘भोलि सङ्खुवासभा पुग्नु छ, त्यहीबाट फेरी ग्रेट हिमालयन ट्रेलको अन्तिम भागको पदयात्रा गर्नेछ । यो सकिएपछि यसपालिको मेरो पदयात्रा सकिन्छ ।’ पूर्वको यो भाग पुरा गर्न १८ दिन लाग्ने छ ।
यसपालि उनकै भनाइमा उनी एउटा अनौठो र जितारुको मनोभावमा आफ्नो देश फर्कने छिन् । नेपालीहरूले दिएको मायाको पोयो फुकाउने छिन्, उनको बुझाइमा आफ्ना अनुभवहरू सुनाउन पाए, नेपालको पर्यटनलाई केही सघाउ पुग्ने छ । भन्छिन्, ‘फेरी आउँछु नि ।’
के हो ग्रेट हिमालय ट्रेल
विश्वकै लामो र समुद्री सतहबाट उच्च स्थानको पदमार्ग हो, ग्रेट हिमालय ट्रेल । उच्च पहाडी र हिमाली भाग भएर पूर्वमा कञ्चनजंघा नर्थ आधार शिविर (५,१४७ मि.) देखि हुम्लाको हिल्सा (३६४७ मि.) सम्मको करिब १७ सय किलोमिटरको पदमार्ग नै ग्रेट हिमालय ट्रेल हो । यसमा नेपाल भित्रका उत्कृष्ट १० ट्रेकिङ रुटहरू समेटिएका छन् । यसबाहेक काश्मिरदेखि तिब्बतसम्म समेटेर ग्रेटर हिमालय ट्रेलको पनि प्रस्ताव गरिएको छ । यसको कुल लम्बाई ४ हजार ४५ सय किलोमिटरको हुन्छ ।
तस्बिरहरु सौजन्य : सञ्जीव गुरुङ । हाइलाइट्स टुरिजम ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…