July 29, 2019

भिजिट नेपाल २०२० लाई सघाउन अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन गरिने

International Bombo Conference
अन्तररराष्ट्रिय बोम्बो सम्मेलनको लागि गरिएको पत्रकार सम्मेलनमा सहभागी महिला बोम्बोहरु ।

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन आयोजना गर्ने भएको छ ।

नेपाल तामाङ बोम्बो संरक्षण समाज आगामी पुस १४ र १५ गते हुन लागेको उक्त सम्मेलनमा विदेशी र स्वदेशी बोम्बो गरी करिब एक हजार जनाको सहभागिता हुने जनाएको छ ।

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)ले सोमबार समन्वय गरेको पत्रकार सम्मेलनमा बताइए अनुसार नेपालमा पनि सङ्गठित रूपमा बोम्बो छ भनेर चिनाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको हो ।

‘अन्तर्राष्ट्रिय रूपमा नेपालमा पनि बोम्बोहरु छन् भन्ने सन्देश दिनुका साथै देशभित्रै पनि सङ्गठित बनाउने हाम्रो उद्देश्य हो’ बोम्बो संरक्षण समाजका अध्यक्ष महाराज भोम्जनले भने, ‘यसले भिजिट नेपाल २०२०लाई पनि सघाउ पुर्‍याउने छ ।’

International Bombo Conference
अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनको पत्रकार सम्मेलन ।

भोम्जनका अनुसार बोम्बो नेपालको धार्मिक र सांस्कृतिक कार्यको प्रमुख पात्र हो । यसलाई पछिल्लो समय गलत तरिकाले व्याख्या गरिँदा समस्या भएको पनि उनले बताए । उनले भने, ‘हाम्रो परम्परा र संस्कृतिलाई बचाई राख्न हामी एकजुट भएका हौँ ।’

सम्मेलनमा युरोप र सार्क राष्ट्रका गरी एक हजार बोम्बोको सहभागिता हुने बताइएको छ । साथै सम्मेलनले बोम्बो घोषणा पत्र २०२० सार्वजनिक गर्नेछ ।

दुई महिना अघि मात्रै दर्ता भएको बोम्बो समाजका १५ जिल्लाका करिब एक सय भन्दा बढी सदस्य रहेका बताइएको छ । ‘नेपालको पूर्वदेखि पश्चिमसम्म छरिएर बसेका बोम्बोहरु हजारौँ सङ्ख्यामा छन् । बोम्बोहरुको सम्बन्ध, एकता र ज्ञानको आदानप्रदान गर्न समाज गठन गरिएको हो’ समाजका महासचिव विष्णुबहादुर तामाङ बताए ।

नेपालका विभिन्न धार्मिकहस्थलहरुमा विभिन्न पर्व तथा मेलाहरूमा बोम्बो जोडिने भएकाले बोम्बो संस्कृति र धार्मिक पर्यटकीय स्थलको सम्बन्ध रहेको उनको भनाई छ । जनैपूर्णमा, कात्तिक पूर्णिमा, धान्यपूर्णिमा, शैलुङ, कालिञ्चोक, हलेसी, गुप्तेश्वर, नौलिगेश्वर, पाँच पोखरी, गोसाईंकुण्ड, कागेश्वरी र अग्लेश्वरी जस्ता तिर्थस्थलमा बोम्बो हेर्नकै लागि हरेक वर्ष दर्शनार्थीहरु आउने गरेको उनी बताउँछन् ।

के हो बोम्बो?

नेपाली समाजका कुलको पूजा गर्नेदेखि झारफुक, औषधी उपचार गर्ने काम बोम्बो अर्थात् झाँक्रीहरूले गर्दछन् । पूजा तथा उपचार गर्दा उनीहरूले तन्त्र/मन्त्र तथा विभिन्न विधिहरूको प्रयोग गर्दछन्। यिनै विधानका ज्ञात, तन्त्र साधन गर्न सक्ने मानिसहरूलाई झाँक्री भन्ने गरिन्छ यही झाँक्री नै बोम्बो हो । बोम्बो शब्द प्राचीन तिब्बतको प्रचलित पुरानो प्वोवा धर्मको प्वोवा शब्द अपभ्रंश भई पोन्पो र बोम्बो हुँदै बोन भएको बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…