प्रविधि मैत्री छ अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग
- घनश्याम खड्का
म्याग्दी । पर्यटनबाट समुदायले नै लाभ पाउनु पर्ने भन्दै म्याग्दी र पर्वतका केही गाउँहरू मिलेर सामुदायिक पदमार्ग सञ्चालनमा ल्याएका छन् । पदमार्गलाई समुदायमा आधारित मात्र बनाइएको छैन, प्रविधि मैत्री पनि बनाइएको छ ।
‘पर्यावरणीय गाउँ र सामुदायिक पदमार्ग’ नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याँ, शिख-पाउद्वार, खिवाँ, हिस्तान, राम्चे-नागी र पर्वत जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्कका समुदाय मिलेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापद मार्ग सञ्चालनमा ल्याएका हुन् । उनीहरूले नै यस पदमार्गमा घर बास (होमस्टे) र सामुदायिक होटेल-लज सञ्चालनमा ल्याएका छन् ।
सामुदायिक पदमार्ग प्रविधि मैत्री छ । बेनीबाट सुरु हुने पदमार्ग नागी, महरे, फुलबारी, हिस्तान, स्वाँता, खोप्रा हुँदै खयरवराह तालसम्म पुग्न सकिन्छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गमा अन्नपूर्ण सर्किटका प्रख्यात पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिन सकिन्छ ।
म्याग्दीको सदरमुकाम बेनीबाट ४ किमी उत्तर घुमाउने तालबाट पूर्व लागेपछि सुरु हुन्छ, अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग । घुमाउने तालबाट ३ घण्टा उकालो चढेपछि बाँसखर्क (१५२६ मि.) पुगिन्छ । अर्गानिक सुन्तला गाउँका रूपमा परिचित बाँसखर्कमा साँझ सामुदायिक डाईनिङमा खानापछि घरवासमा बाँडिएर सुत्ने व्यवस्था छ ।
दोस्रो दिन बाँसखर्कबाट ३ घण्टा उकालो सल्लेरी बनको ढुङ्गा विच्छाइएको चिटिक्क र मनोरम उकालो चढेपछि डाँडाकटेरी पुग्न सकिन्छ । डाँडाकटेरीमा समुदायले व्यवस्थापन गरेको खाना र
खाजा पाइने रेस्टुरेन्ट छ । थप दुई घण्टा छड्के उकालो चढेपछि पुग्न सकिन्छ, नागी गाउँ (२३२० मिटर) । मगर जातिको बसोबास रहेको सांस्कृतिक गाउँ नागीमा सामुदायिक लजहरू छन् । यहाँ निःशुल्क वाईफाई सेवा पनि छ । नागीबाट अन्नपूर्ण र धौलागिरी हिमालमा सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ । नागीबाट यात्रा छोटो पार्न चाहने यात्रुले फुलबारीबाट घोडेपानीतर्फ पनि लाग्न सकिन्छ ।
तेस्रो दिन नागीबाट जङ्गल सफारी गर्दै ४ घण्टामा धिमाको डाँडा (हम्पाल) पुग्न सकिन्छ । यहाँ पनि सामुदायिक डाईनिङमै दिउँसोको खाना हुन्छ । त्यसपछि दुई घण्टा थप उकालो चढेपछि
महरेडाँडा (३३०० मि.) पुगिन्छ । यो बाटोमा पानी नपाइने हुँदा पानी र सामान्य हल्का खानेकुरा बोकेर जाँदा राम्रो हुन्छ । पदमार्गमा पर्याप्त पद सङ्केतहरू टाँगिएको भए पनि समूह वा गाइड विना एक्लै हिँड्नु भने जोखिमयुक्त छ । महरेमा ३० बेड क्षमताको सामुदायिक लज छ । फ्रि वाईफाई पनि छ । महरेबाट अन्नपूर्ण–धौलागिरी हिमालय रेञ्जका सबै हिमालहरू पानोरोमिक भ्युमा देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य हेर्न सकिन्छ । चरा अध्ययन गर्न चाहने पर्यटकहरूका लागि महरे थप आकर्षण हो ।
चौथो दिन महरेबाट बिहानको नास्तापछि दुई घण्टा ओरालोमा डाँडाखर्क/फुलबारी (२८२० मिटर) झर्न सकिन्छ वा तीन घण्टा ओरालो-तेर्सो जङ्गलको बाटो हिँडेर घोडेपानी पुनहील (३२१०मिटर) पनि जान सकिन्छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गमा अन्नपूर्ण सर्किटका प्रख्यात पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुक जाने आउने बाटो जोडिएको छ । समय पर्याप्त नहुने यात्रुले घोडेपानीबाट पोखरा फर्कन सकिन्छ वा पोखराबाट घोडेपानीहुँदै महरे डाँडा उक्लन सजिलो र छोटो पर्छ ।
फुलबारी-डाँडाखर्कमा गुराँसे जङ्गलको बिचमा अवस्थित सुन्दर फाँटमा २० बेड क्षमताको सामुदायिक लज छ । नजिकै निजी तहबाट सञ्चालित लज तथा रेस्टुरेन्ट पनि उपलब्ध छन् । डाँडाखर्क गुराँसे जङ्गल, हिमाल र चराचुरुङ्गी हेर्न आकर्षक स्थल हो ।
पाँचौँ दिन डाँडाखर्कबाट तीन घण्टाको बाटोमा ठूलाखर्क पुगिन्छ । त्यहाँ सानो स्थानीय रेस्टुरेन्ट छ, चिया नास्ताका लागि । ठूलाखर्कको छेवैमा सुन्दर प्यारीवराह ताल छ ।
ठूलाखर्कबाट यात्रा छोट्ट्याउनु परेमा दुई घण्टा हिँडेर टिकोट (२२०० मि.) पुगिन्छ । परम्परागत अर्गानिक कृषि फर्महरू रहेको रमणीय मगर बस्ती टिकोटबाट संसारको सर्वाधिक गहिरो अन्ध गल्छीलाई राम्रोसँग देख्न सकिन्छ ।
छैटौँ दिन टिकोटबाट ३ घण्टा ओरालो बैंसरी झरेपछि बेनी–जोमसोम सडक भेटिन्छ । मोटरमा बेनी हुँदै पोखरा फर्कन सकिन्छ ।
तपाईसँग अझै समय छ भने महरेबाट लामो यात्रा तय गरेर फलाटेमा दिउँसोको खाना खाएर स्वाँता बास बस्न पुग्न सकिन्छ । फलाटे घोडेपानी नजिकको पर्यटकीय बस्ती हो । महरेबाट ६ घण्टाको ओरालो र १ घण्टा उकालो चढेपछि स्वाँता (२२७० मिटर) पुगिन्छ । स्वातामा लज तथा रेस्टुरेन्ट र स्थानीय खाजा घरहरू पनि छन् । स्वाता मगर बस्ती हो । लुम्लेपछि बढी पानी पर्ने बस्ती स्वाँता अन्नपूर्ण सर्किट अन्तर्गत घोडेपानी–तातोपानी पदमार्गको पारी पट्टी अवस्थित छ ।
स्वाताबाट अर्को दिन तीन घण्टाको उकालो पछि आहाल खर्कमा दिउँसोको खाना खान पुगिन्छ । यहाँ सामुदायिक डाइनिङ छ । आहाल खर्कबाट तीन घण्टा माथि चढेपछि ढाँडखर्क (३०२६ मी) पुगिन्छ । ढाँडखर्कमा २० बेड क्षमताको सामुदायिक लज छ । होटेलमा लघु जलविद्युत र इन्टरनेट उपलब्ध छ ।
ढाँडखर्कबाट ४ घण्टा उकालो चढेपछि खोप्रा (३६६० मिटर) पुग्न सकिन्छ । खोप्राबाट अन्नपूर्ण, बराह र निलगिरी हिमाललाई नजिकैबाट देखिन्छ । धौलागिरी हिमालय रेञ्जको पानोरमा भ्यु पनि उस्तै नजिक र आकर्षक देखिन्छ । तल घोडेपानी, शिख, घार, खिवाँ, दोवा, तातोपानी, दानासमेतका बस्तीहरूको एरियल भ्युमा देख्न सकिन्छ । पोखरा–जोमसोम उडान भर्ने जहाजहरू खुट्टामुनिबाट उडेजस्तो लाग्छ । खोप्रामा लेकाली फुलहरू फुल्दा मनसुन अझ खुल्छ । खोप्राबाट अन्ध गल्छी पनि नजिकैबाट देखिन्छ ।
खोप्रामा परम्परागत याक तथा भेडा गोठहरू भेटिन्छन् । फ्रि वाईफाई, लघु जलधिुत र अन्य सुविधा उपलब्ध छन् । खोप्रा अन्नपूर्ण चक्रीय पदमार्गका प्रख्यात गन्तव्य पुनहील र घान्द्रुकबाट समेत जोडिएको छ । खोप्राबाट पुनहील वा घान्द्रुक जता गएपनि एक दिनमा पुग्न सकिन्छ ।
खोप्राबाट ६ घण्टा उकालो चढेपछि प्रसिद्ध खयरवराह ताल (४६३८ मिटर) पुगिन्छ । खयरशिखरको फेदीमा अवस्थित खयर ताल यात्रा गर्न खोप्राबाट तयारी खाना लैजानु पर्ने हुन्छ । बिचमा नौलो वन तथा खयरखोलामा फिरन्ते चौरी तथा भेडा गोठ मात्र छन् । क्याम्प ट्रेक पनि गर्न सकिन्छ । खयरतालबाट खोप्रा फर्कन चार घण्टा लाग्छ । खयरवराह तालमा जनपूर्णिमामा ठुलो धार्मिक मेला लाग्छ ।
खोप्राबाट फर्कने दुई बाटो छन् । पहिलो खोप्राबाट चार घण्टा ओरालो पाउद्वार गाउँ झर्ने वा पाँच घण्टा ओरालो हिँडेर नारच्याँ गाउँ ओर्लने तपाईँको खुसीको कुरा हो । पाउद्वार झरेमा अर्को दिन थप तीन घण्टा ओरालो घारखोला ओर्लेर मोटर बाटो भेट्न सकिन्छ ।
पदमार्ग भरी स्थानीय गाइड वा पोटर पाइन्छ । प्रायः पदमार्गका होटेल तथा रेस्टुरेन्ट छुट्टाछुट्टै बस्तीका समुदायले व्यवस्थापन गर्छन् । ती सामुदायिक लज तथा रेस्टुरेन्टको आम्दानी ती बस्तीले सामुदायिक काममा खर्च गर्छन् । तर सबै बस्तीका समितिलाई मूल व्यवस्थापन समितिमार्फत मार्ग निर्देश गरिएको हुन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…