August 1, 2019

भ्रमण वर्षको लक्ष्य पुरा गर्ने नवनियुक्त पर्यटन मन्त्रीको प्रतिबद्धता

New Tourism Minister of Nepal
नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई कार्यभार संहाल्दै ।

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यलाई पुरा गरेरै छाड्ने बताएका छन् ।

‘नेपाल भ्रमण वर्ष २०२० आइ नै हाल्यो, यस विषयमा बसेर छलफल गर्छौं, हामीले जुन लक्ष्य लिएका छौँ, त्यो पुरा गर्छौं’ उनले मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा भने, ‘कहाँ कमजोरी भएका छन्, सच्याउँछौँ, मन्त्रालय आफ्नो सम्पूर्ण तागतका साथ अघि बढ्छ ।’

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकै पाला सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको थियो र त्यस वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य लिइएको थियो । तर, गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारको निधन पछि उक्त अभियान नेतृत्व विहीन बनेको थियो ।

मन्त्री भट्टराईले आफ्नो मन्त्रालय अन्तर्गतको पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सके तोकिएको समय अगावै र नभए तोकिएको समयमा पुरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘मलाई खुसी लागेको छ, यी परियोजनाहरूको काम द्रुत गतिमा भइरहेको छ । यी गौरवका आयोजनाहरू हुन्’ उनले भने, ‘यी परियोजनाहरू पुरा भएपछि आउने भ्रमण वर्षलाई पनि यसले सहगोग पुर्‍याउने छ ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि अघि बढाउने बताए । विमानस्थलको काममा कहीँ आशङ्का भए त्यसलाई मेटाउने र द्रुत गतिमा अघि बढाउने बताए । ‘यो परियोजना हाम्रो लागि अति आवश्यक छ र निर्विकल्प छ’ उनले भने ।

उनले नेपाल एयरलाइन्सको साख माथि उठाउने र विश्वसनीयता बढाउने पनि बताए । ‘वाह, नेपाल एयरलाइन्स भन्ने ठाउँमा पुर्‍याउने छौँ’ उनले भने ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…