लमजुङको राईनासकोट नेपालकै उत्कृष्ट होमस्टे
बसन्ता भट्ट
लमजुङको ऐतिहासिक एवं ग्रामीण होमस्टे राईनासकोट मुलुककै उत्कृष्ट होमस्टेको बनेको छ ।
विनाशकारी भूकम्प पछि पुननिर्माणसँगै व्यावसायिक होमस्टे सुरु भएको राईनासकोटलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यस वर्षका लागि उत्कृष्ट पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले यसअघि लमजुङको घलेगाउँ र काउलेपानीलाई पनि वर्षका उत्कृष्ट गाउँको रूपमा घोषणा गरेको थियो ।
राईनासमा व्यावसायिक होमस्टे सुरु भएको दुई वर्ष मात्रै भएको छ । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण राईनासकोटमा होमस्टे शुरुभए यता हजारौँ पर्यटकको रोजाइमा पर्दै आएको छ ।
होमस्टे सुरु गरेको वर्ष दिन भित्रै उत्कृष्ट गन्तव्यमा परेको राईनास यो वर्ष नेपाल भरीकै उत्कृष्ट होमस्टेको रूपमा घोषणा भएको हो । राईनास सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारको उत्कृष्ट एक सय गन्तव्य भित्र पनि परेको छ ।
राईनासकोटमा पुननिर्माण गरिएका १४ घरमा व्यावसायिक होमस्टे सञ्चालनमा छन् । दैनिक ३० देखि ६० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउनुका साथै बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि स्थानीय निकै उत्साहित भएका छन् ।
राइनासकोटबाट दर्जनौँ हिमश्रृङखला एकैसाथ देख्न सकिन्छ । शाहकालिन इतिहाससँग जोडिएको राईनासको संस्कृति, प्राकृतिक सुन्दरतासँगै आकर्षक भौतिक संरचना र न्यानो अतिथ्यताले पर्यटकहरूको मन जितेको छ ।
होमस्टेसँगै ऐतिहासिक कोट, प्राकृतिक दृश्यावलोकनका लागि भ्युटावर, स्थानीय संस्कृतिको थप प्रवर्द्धन र प्याराग्लाईडिङ गन्तव्य विकासका लागि राइनास नगरपालिकाले विशेष योजना बनाएको जनाएको छ ।
राईनास होमस्टे उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा घोषणा भएको लमजुङको तेस्रो गाउँ हो । यसअघि गाउँशहरको काउलेपानी २०१४ मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा पुरस्कृत भएको थियो भने हाल स्मार्ट भिलेजको रूपमा प्रवर्द्धन गरिएको घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँ घोषणा भएको थियो ।
यो पनि पढ्नुस्:
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…