भदौ–असोजमा सहज हुन्छ फक्ताङलुङ यात्रा
- आनन्द गौतम
ताप्लेजुङ । मनसुन सकिएको हुँदैन । आकाशबाट पानी बर्सिन सक्छ । वर्षाबाट सुरक्षित हुन प्लास्टिक र छाता अनिवार्य बोक्नुपर्छ । मध्य बर्खा भएकाले चर्को घाम पनि लाग्न थाल्छ । यही सिजनमा सुरु हुन्छ, फक्ताङलुङ यात्रा । अब यो यात्राको समय आएको छ । मानसिक र आर्थिक रूपले तयारी गर्ने समय भइसकेको छ ।
फक्ताङलुङ भनेको ७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण हिमाल हो । कुम्भकर्णलाई लिम्बु भाषामा फक्ताङलुङ भनिन्छ । भदौको अन्तिम र असोज महिनाको प्रारम्भसँगै यहाँ तीर्थयात्रीहरूको लस्कर छुट्छ । हिउँदे याम प्रवेश गरी नसकेको र बर्खायाम पनि सकिईनसकेको समयमा हुने तीर्थयात्रा हो यो । भदौदेखि कार्तिकसम्म नै यहाँ तीर्थयात्रीहरू जाने गरेका छन् ।
यो पनि पढ्नुस्
यो हिमाल फक्ताङलुङ गाउँपालिका ६ लेलेपको खम्वाछेन छेउमा पर्छ । ५ हजार २ सय मिटरको उचाइमा पर्ने भएकाले चिसोबाट जोगिन बन्दोबस्तको तयारी निकै राम्रो हुनुपर्छ बिशेषगरी शरीरमा लगाउने कपडा र खाने कुराको बन्दोबस्त राम्रो हुनुपर्छ । अहिलेसम्मको यात्रालाई हेर्ने हो भने यहाँ जाने सबैको पिठ्यूमा ठुलो झोला हुन्छ । कहिले ढाकर बोक्छन् । पूजाका सामाग्रीदेखि वासका लागि चाहिने म्याटेस, पाल र खानेकुरासम्म तीर्थयात्रीले बोक्नु पर्छ । किराँत धर्मावलम्बीहरू समूह बनेर दर्शनका लागि जाने भएकाले बाटोमा खासै समस्या देखिँदैन ।
यहाँ जानेको यात्रा भने इलामको लारुम्वाबाट सुरु हुन्छ । किराँत धर्मगुरु आत्मानन्द लिंदेनको आशीर्वाद लिएर तीर्थयात्रीहरूले यात्रा प्रारम्भ गर्ने गरेका छन् । यहाँबाट फक्ताङलुङ पुगेर फर्किन पैदल २२ दिन लाग्छ । ताप्लेजुङ सदरमुकामबाट १२ दिनसम्म लाग्छ । तर अहिले ताप्लेजुङको तापेथोकसम्म यातायात चल्ने भएकाले सवारी साधनको प्रयोग गरे ताप्लेजुङ सदरमुकामबाट ८ दिनसम्ममा पुगेर फर्कन सकिन्छ । चाँडो यात्रा गर्नेले योभन्दा अगाडि पनि यात्रा टुङ्ग्याउन सक्छन् ।
यो ठाउँलाई पारुम्फुकु, मारुम्फुकु पनि भनिन्छ । यसको अर्थ पितृ देव र मातृ देव भन्ने हुन्छ । फक्तालुङलाई पितृ–मातृ देवको आश्रमको रूपमा लिइने किराँत धर्मका एक जना अगुवा ज्ञानु फुरुम्वु (चरपे) लिम्बु बताउँछन् । उनका अनुसार किराँत धर्मावलम्बीहरूको फक्ताङलुङ किराँतहरूको अस्तित्वसँग जोडिएको छ । जीवनमा एक पटक दर्शनका लागि पुग्नै पर्ने मान्यता छ । जीवनमा एक पटक दर्शन नगरिए अर्को जुनीमा मानव भएर जन्म नहुने किराँत वेद शास्त्र तथा धार्मिक उपदेशमा उल्लेख गरिएको चरपेको दाबी छ ।
यहाँ नेपाल बाहेक बेलायत, अमेरिका, भारतको दार्जिलिङ, बर्मालगायतका स्थानबाट पनि धर्मावलम्बीहरू आउने गरेका छन् । एउटा टिममा डेढदेखि दुई सयजनासम्म जाने गरेको किराँत अगुवा फुङलिङ ८ का लेखनाथ पालुङवा बताउँछन् । भदौ र असोज महिना दर्शनका लागि अनुकूल मानिन्छ । यो सिजनमा हिउँ नपर्ने भएकाले बस्न समस्या हुँदैन । कतिपयले इलामको लारुम्वाहुँदै पाँचथरको सिलौटो, लुव्रिकुटी, कावेली किराँतेश्वर मन्दिर दर्शन गर्दै जाने पनि गरेका छन् । बाटोमा श्रीङ्चोक, हाँडी पोखरी, तिम्वुङ पोखरी, दूध पोखरी, नाग पोखरी, मयूर पोखरी र लक्ष्मी पोखरी जस्ता दर्जनौँ पोखरीको दर्शन गरिन्छ । यात्राका क्रममा केही भु–भाग सिक्किमको पर्छ । यात्राका क्रममा कतै गोठ,ओडार तथा खुल्ला चउरमा पाल टाँगेर वास बस्नुपर्छ । मकै, भटमास तथा फलफुल जस्ता खानेकुरा खानु पर्छ ।
ताल तलैया, हरियाली डाँडाकाँडा र सेताम्मै देखिने हिमालको दृश्यले दर्शनको यात्रा रमाइलो हुने गरेको ज्ञानु फुरुम्वुको भनाई छ । यो मार्गबाट यात्रा गरे २२ दिनमा मात्रै यात्रा पुरा हुन्छ । पाँच पटकसम्म दर्शन स्थल पुगेका फुरुम्वुका अनुसार तीन दिनसम्म दर्शन स्थलमा महाअष्टम यज्ञ सेवा गर्नेहरू पनि हुन्छन् । हिमालको फेद भएकाले चिसो भने अधिक हुन्छ । सक्नेहरू हिँडेदेखि नै व्रत बस्नेपनि गर्छन् । पूजामा बलिहत्या गरिन्न । वेद वाचन गरेर फुल, फलेदो, नैवेद, सुपारी र अबिर जस्ता पूजा सामाग्री प्रयोग गरिन्छ । ढोल, भ्याम्टा, डमरु, घण्टी, शङ्ख र तुङ्गे बजाएर नृत्य समेत गरिन्छ । बिहान र बेलुकी पूजापाठ गरिन्छ । साँझको बेला भजन कीर्तन हुन्छ । पूजाको वेला विश्व शान्ति, मानव एकता सकल प्राणी रक्षार्थका लागि लाखौँ लाख दीप प्रज्वलन गर्ने प्रचलन पनि रहेको पालुङवाको कथन छ । पूजापाठ, भजन कीर्तन, नृत्य र हिमालको सुन्दर दृश्यवलोकनमा तीन दिन बित्छ ।
किन जान्छन् फक्ताङ्लुङ?
जानकारहरूका अनुसार लिम्बु समुदायको भाषा, संस्कार, धर्म कुनै समय लोप भयो । श्रीजङ्गा राजा मात्र नभएर महात्मा थिए । लोप भएको भाषा, संस्कार र धर्म प्राप्त गर्न श्रीजंगा दरबार भित्र ध्यान गरिबसे । तीन दिनपछि एक अदृश्य पुरुष आए । उनले आफूसँगै डोर्याएर कुम्भकर्णको फेदमा पुर्याए । अहिलेको दर्शन स्थलभित्र सात वटा सिलाको ढुङ्गाले निर्मित ढोका क्रमशः खोल्दै भित्र पुगे । अन्तिम कक्षमा किराँतहरूको भाषा लिपी देखाउँदै अदृश्य दिव्य पुरुषले भने,‘तिमीले भाषा र धर्मको लागि ध्यान गरेबापत प्राप्त गर्यौ । यसअघि पनि भाषा र धर्म दिएको थिएँ, तर विकृति र विसङ्गतिमा हिँडेर लोप भयो । अव तिमीलाई अन्तिम पटक दिंदैछु, फेरि हरायौ भने पाउने छैनौँ, अव सबैलाई सिकाउनु ।’ श्रीजंगाले ग्रहण गरेर फर्किएपछि सबैलाई सिकाए । अहिले चलनचल्तीमा रहेको भाषा र लिपिलाई किराँत लिपी भनिन्छ ।
फक्ताङ्लुङमा लिम्बु समुदायको लिपी अझै रहेको र ठुलो चट्टानको भित्तामा लेखिएको लिपी प्रस्ट देखिने चरपे बताउँछन् । वेदहरूमा लेखिएको ओत तागेरा निङमाझु माङगे सेवारो र मेन्नि माङ मेन्धामाङ जस्ता शब्दहरू छन् । करिब ४० मिटर अग्लो चट्टानको फेदमा दर्शनस्थल छ । बायाँ पारुम्फुकु र दायाँ मारुम्फुकु अर्थात् पितृ आश्रम र मातृ आश्रम छ । मातृआश्रममा ८० जना अट्छन् भने पितृआश्रममा ३५ जनासम्म अटिन्छ । भित्र पानी नछिर्ने भएकाले बस्न समस्या हुँदैन । तर, पूजापाठ गरेर बाहिर नै पाल टाँगेर बस्ने गरिन्छ । हिउँ नपर्ने भएकाले भैरुङपाती र सुन पाती ओछ्याइन्छ । दर्शनस्थल वरिपरि पर्खालले बारिएको छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले प्रथम पटक १९९३ मा चेलासँग जाँदा पर्खाल निर्माण गरेको धर्मावलम्बी बताउँछन् । फक्ताङलुङदेखि २ घण्टाको पैदल दुरीमा वैतर्नी नदी छ । जमिनमुनिबाट बग्ने नदी पार गरेपछि सात वटा ढुङ्गे धारा भेटिन्छ । किराँत धर्मशास्त्र अनुसार धाराबाट झरेको सङलो पानीलाई पवित्र जल मानिन्छ । यो धाराको पानी मरोपरो भएको घरमा र पूजापाठमा छर्केमा शुद्ध हुने जनविश्वास छ ।
एक सय आठ रुपैयाँ, एक माना नुन र एक पाथी चामल
किराँत धर्मावलम्बीहरूले यहाँ जाँदा एक सय आठ रुपैयाँ पैसा, एक माना नुन र एक पाथी चामल बोकेर जान्छन् । नुन, चामल र पैसा घुन्सामा रहेका लामालाई दिन्छन् । यसो गर्नु पछाडीको विश्वास रोचक छ ।
महागुरु फाल्गुनन्द १९९४ मा दोस्रो पटक फक्ताङलुङ जाँदा घुन्सामा बास बसे । उनीसँगै सात जना चेला थिए । त्यहाँका थेरेङ् लामाले तोङवा दिए । तर फाल्गुनन्दले धुमपान, मद्यपान सेवन गर्दैनथे । वासस्थानमा भोटे लामाले फाल्गुनन्दलाई जोगी ठानेर शक्ति जुधाउन आग्रह गरे । तर उनी मानेनन् । लामाले बज्र प्रहार गर्ने चेतावनी दिए । २४ घण्टा मन्त्र जप गरी कोसिस गरे पनि सफल भएनन् ।
लामाले तिमी शक्तिशाली हौ भने पृथ्वी हल्लाऊ भने । महागुरुले तान्त्रिक शक्ति लगाएर लामालाई काम्न लगाए । लामाले पृथ्वी नै हल्लिएको महसुस गरे । उनको अवस्था नाजुक भयो । लामाको चेलाले उपचार गरिदिन बिन्ती गरे । लामाले पनि गल्ती स्वीकार गरी सात वटा चौरी दान दिने कबुल गरे । तर आफूलाई दिएको चौरी महागुरुले फिर्ता दिए । फक्ताङलुङ दर्शनमा आउने आफ्ना चेलालाई दूध र छुर्पी दिनुपर्ने सर्त राखे । त्यो वेलादेखि दर्शनमा जानेलाई घुन्साका लामाहरूले दूध र छुर्पी दिने चलन रहेको बताइन्छ ।
सम्झौता अनुसार दर्शनमा जानेले लगेको एक सय आठ रुपैयाँ गोठालालाई, एक माना नुन र एक पाथी चामल चौरीलाई खुवाउन दिन्छन् । दर्शनमा गएका टोलीका प्रमुख शाब्दिक गुरुले दियो कलश बाली वेद वाचन गरी दिने चलन अझै छ । फाल्गुनन्द र थेरेङ लामाबीच १९९५ साल साउन १ गते धर्म मुचुल्का गरी सम्झौता भएको थियो । चौरीको सन्तान नमास्ने दुवै पक्षबीच सर्त भएकाले स्वर्गीय छिरिङ लामाका सन्तानले अझैसम्म चौरी मासेका छैनन् । थेराङको मृत्युपछि छोरा लाम्साङले चौरी गोठको जिम्मा लिएका थिए । उनका छोरा नभएकाले छोरी ज्वाई फुपू लामा र कुटुक्क लामालाई पैसा, नुन र चामल दिएको दर्शनबाट फर्केका भूपाल सेन्दाङले बताए । लामाहरू हरेक वर्ष जडीबुटी, छुर्पी, धुपपाती लिएर वर्तमान गुरु आत्मानन्द लिङदेनको जन्मोत्सव मनाउन मङ्सिर १८ मा लारुम्वामा जान्छन् ।
घुन्सा हुँदै पुगिने यहाँ वास बस्नका लागि पाटी पौवा, धारा जस्ता भौतिक पूर्वाधारको अभाव छ । नजिकमा बस्ती नभएकाले बास बस्न समस्या हुने गरेको लेख बहादुर पालुङवाले बताए । पूजास्थलमा भक्तजनले चढाएको भेटीको व्यवस्थापन गर्न सकिएको छैन । बाटामा दर्जनौँ ताल तलैया, डाँडाकाँडा, जैविक विविधता, वन्यजन्तु, भन्ज्याङ दृश्यले मनै लोभ्याउँछ । दर्शन गर्न जानेका लागि मात्र नभएर नजिकैबाट हिमालको सुन्दरता हेर्न रुचाउनेका लागि यो क्षेत्र आकर्षक मानिन्छ । दर्शनमा गएर फर्किएकी निर्मला लिम्बुले भनिन्, ‘हिमालमा टल्कने सेताम्मै हिउँले रात र दिन छुट्ट्याउनै गाह्रो भयो ।’ डाँडाकाँडाबाट देखिने मान्छेको जस्तै २ वटा कुम भएको कुम्भकर्णलाई नजिकैबाट हेर्दाको अनुभव सुनाउँदै भूपाल सेन्दाङले थपे, ‘हिमालको काखमा बसेर अवलोकन गर्दाको मज्जा नै अर्कै हुँदोरहेछ ।’
जाने बाटो
खासमा फक्ताङलुङ जानेहरुको यात्रा इलामको लारुम्वाबाट सुरु हुन्छ । किराँत धर्मगुरु आत्मानन्द लिंदेनको आशीर्वाद लिएर तीर्थयात्रीहरूले यात्रा प्रारम्भ गर्ने गर्छन् । यहाँबाट फक्ताङलुङ पुगेर फर्किन पैदल २२ दिन लाग्छ । ताप्लेजुङ सदरमुकामबाट १२ दिनसम्म लाग्छ । तर अहिले ताप्लेजुङको तापेथोकसम्म यातायात चल्ने भएकाले सवारी साधनको प्रयोग गरे ताप्लेजुङ सदरमुकामबाट ८ दिनसम्ममा पुगेर फर्कन सकिन्छ । चाँडो यात्रा गर्नेले योभन्दा अगाडि पनि यात्रा टुङ्ग्याउन सक्छन् ।
नेपाल बाहेक बेलायत, अमेरिका, भारतको दार्जिलिङ, बर्मालगायतका स्थानबाट पनि धर्मावलम्बीहरू आउने गरेका छन् । कतिपयले इलामको लारुम्वाहुँदै पाँचथरको सिलौटो, लुव्रिकुटी, कावेली किराँतेश्वर मन्दिर दर्शन गर्दै पनि जाने गरेका छन् । बाटोमा श्रीङ्चोक, हाँडी पोखरी, तिम्वुङ पोखरी, दूध पोखरी, नाग पोखरी, मयूर पोखरी र लक्ष्मी पोखरी जस्ता दर्जनौँ पोखरीको दर्शन गरिन्छ । यात्राका क्रममा केही भु–भाग सिक्किमको पर्छ । यात्राका क्रममा कतै गोठ,ओडार तथा खुल्ला चउरमा पाल टाँगेर वास बस्नुपर्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…