भ्रमण वर्ष २०२० का लागि व्यवसायीको सुझाव, ‘निषेधित क्षेत्र खुला गर्नेदेखि भिसा शुल्क घटाउनेसम्म’
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आक्रामक खालका प्रचार–प्रसार त्यही अनुरूपको सुविधाहरू उपलब्ध गराउनु पर्ने उल्लेख गरेका छन् ।
भ्रमण वर्ष सचिवालयले शुक्रवार आयोजना गरेको अन्तर्क्रियाका सहभागीहरूले भ्रमण वर्ष घोषणा र लक्ष्य तोक्ने भन्दा बाहेक अहिलसम्म अरू तयारी हुन नसकेको भन्दै आलोचनासमेत गरेका थिए ।
उनीहरूले भ्रमण वर्षको अवसर पारेर भिसा शुल्क घटाउनेदेखि निषेधित क्षेत्र खुला गर्नेसम्मका सुझाव दिएका छन् । कतिले तयारी नपुगेको भन्दै सार्नसमेत सुझाए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले आगामी वर्षको लागि तयारी नपुगेको भन्दै तीन वर्षभित्रमा ३० लाख पर्यटक भित्र्याउने योजना बनाएर अघि बढ्दा हुने सुझाए । ‘सन् २०२० देखि २०२३ सम्ममा वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना बनाएर, आवश्यक पूर्वाधार निर्माणतिर लाग्नु राम्रो हुन्छ’ उनले भने ।
साथै विदेशीलाई सन् २०२० मै नेपाल किन? भन्ने कुराको बारेमा जानकारी दिने मुख्य गन्तव्यहरूको छनौट गरी प्रचारतिर लाग्नु पर्नेमा जोड दिए । उनले डोल्पा र उपल्लो मुस्ताङका निषेधित क्षेत्रलाई सन् २०२० मा खुल्ला गरी, भारतीय र चिनियाँ पर्यटकलाई उचित प्राथमिकतामा राख्न समेत सुझाए ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पर्यटक भिसा शुल्क कम गर्न, निषेधित क्षेत्र खुल्ला गर्न र पर्यटक नीति निर्माण गरी पदयात्रा शुल्कमा कडाइ गर्नुपर्नेमा जोड दिए । उनले नेपाल पर्यटक बोर्डले पर्यटन प्रवर्द्धनमा मात्रै ध्यान दिनसमेत आग्रह गरे । ‘सन् २०२० को लागि सातै प्रदेशमा निर्माण गरिएको प्रदेश कमिटीले उत्कृष्ट काम गर्नका लागि पर्यटन व्यवसायीलाई समेत संलग्न गराउनु पर्दछ ।’
पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पाले दुर्गमका गाउँ गाउँ सडक सञ्जालमा जोडिएपछि पदमार्ग नै हराएको भन्दै पर्यटन बोर्डलाई पदमार्ग निर्माण गर्न आग्रह गरिन् । उनले पदमार्ग निर्माणपछि पर्यटकीय गन्तव्यमा पर्यटकहरूलाई आकर्षण गर्न सकिनेमा जोड दिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम पूर्वानुमान प्रविधि जडान गरी मौसमको बारेमा जानकारी लिएर मात्रै पर्यटकहरूलाई पर्यटकीय क्षेत्रमा जाने वातावरण निर्माण गर्दा नेपाल आएका पर्यटकलाई सहज हुने सुझाव समेत उनको थियो ।
नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट (नाटा) का अध्यक्ष सिएन पाण्डेले अनलाइन भिसाको व्यवस्था गर्न र नेपालमा राजदूतावास रहेका विभिन्न देशका राजदूतलाई पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गर्न सके २० लाख पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन, भैरहवा र पोखरा क्षेत्रीय विमानस्थल छिटो सञ्चालन गर्नसमेत आग्रह गरे ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले विश्वका विख्यात आरोहीहरूलाई नेपाल भ्रमणको निम्तो दिएर समेत पर्यटक भित्र्याउन सकिने सुझाए । उनले नेपाल भ्रमण वर्षको अवसरमा ६ हजार ५ सय मिटर भन्दा कम उचाइको जुनसुकै पिक आरोहण खुल्ला गरी केही नयाँ गर्न तिर लाग्न सुझाव दिए ।
त्यस्तै पर्यटन व्यवसायी विक्रम पाण्डेले पर्यटकको रोजाइ अनुसारको नयाँ गन्तव्यको पहिचान गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै टिपिकल नेपाली खालको गन्तव्य छनौट गरेर प्रचार गर्नसमेत आग्रह गरे ।
हवाई इन्धन शुल्क घटाउन सुझाव
नेपालमा हवाई इन्धनको शुल्क महँगो भएकाले पर्याप्त मात्रामा पर्यटक भित्र्याउन कठिनाइ भएको भन्दै उक्त शुल्क घटाउन एयरलाइन्स कम्पनीका प्रतिनिधिले सुझाएका छन् ।
नेपाली र चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अन्तर्राष्ट्रिय रूपमै नेपाल महँगो पर्यटकीय गन्तव्यका रूपमा चिनिएको भन्दै यसबारेमा सोचविचार गर्न आग्रह गरे । उनले नेपालमा हवाई इन्धनको शुल्क भारतको तुलनामा दुई गुण भन्दा बढिले महँगो रहेको उल्लेख गरे ।
त्यस्तै टर्किस् एयरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्ला टुयुन्सर क्यासीसीले टर्किस् पर्यटक बढी बोक्ने एयरलाइन्समा पर्ने भएता पनि हवाई इन्धन र विमानस्थलको शुल्क महँगो हुँदा विमान उडाउनै अप्ठ्यारो भएको बताए । उनले नेपाल उडानमा घाटा हुने गरेको भन्दै इन्धन शुल्कको मूल्य नघटेमा नेपाल उडान नै बन्द गर्ने तयारी एयरलाइन्स रहेको बताए । १ सय २२ मुलुकका विमानस्थलमा ३ सय भन्दा बढी विमानबाट उडान भर्दै आएको टर्किसले २०७० सालदेखि नेपालमा उडान गर्दै आएको छ ।
यो पनि पढ्नुस् :
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…