जनैपूर्णिमामा मेला लाग्ने आमा छोदिङमो अर्थात् पार्वती कुण्ड
काठमाडौं । जनैपूर्णिमाको दिन प्रकृतिपुजक समुदायहरूले हिमाली भेगमा भएका विभिन्न कुण्डहरूमा पुजा आज गर्ने र धामी झाक्रीहरु आफ्नो तन्त्र मन्त्र कला देखाएर पूजा गरिरहेका छन् ।
रसुवाको गोसाईंकुण्ड, पार्वती कुण्ड, लमजुङको बाह्र पोखरी तथा अन्य दूध कुण्डहरूमा पनि आजको दिन मेला लाग्ने गर्दछ ।
यस्तै जनैपूर्णमाको दिन मेला लाग्ने रसुवाको पार्वती कुण्डको भने संरक्षण र पुननिर्माणको काम थालिएको छ ।
महादेवलाई आराधना गर्नेहरू लागि गोसाईं कुण्ड पुगे जस्तै पार्वतीका भक्तहरू जनैपूर्णिमाको अवसरमा पार्वतीकुण्डमा मेला भर्ने गर्छन् ।
रसुवाको चर्चित तामाङ बस्ती गत्लाङबाट करिब एक घण्टाको दुरीमा पर्ने यो पार्वतीकुण्डलाई जङ्गली झारको अतिक्रमणले साँघुर्याएपछि अहिले मर्मत सम्भारको कार्य भइरहेको छ ।
स्थानीय तामाङ भाषामा आमा छोदिङमो भनिने यो कुण्ड स्वदेशी मात्र होइन, विदेशी पर्यटकका लागिसमेत आकर्षण बन्दै आएको छ । त्यसैले यसको संरक्षण गर्न स्थानीय देखि प्रदेश सरकार लागि परेका छन् ।
स्थानीयको भनाइमा आमाको अर्थ पार्वती र छोदिङमोको अर्थ पानी जमेको तलाउ भन्ने हो । तर बि.सं. २०३२/३३ सालतिर नेपाली सेनाको सहयोगमा बाटो निर्माण गर्ने क्रममा यो कुण्डको नाम पनि फेरियो र बन्यो, पार्वती कुण्ड ।
त्यही कुण्डको पुरानो नामबाट अहिले गाउँपालिकाको नाम आमा छोदिङमो राखिएको छ ।
पौराणिक कथा अनुसार भगवान् शिवले काल कुट विष सेवन गरेपछि पानीको खोजीमा गोसाईंकुण्ड पुगेको उल्लेख छ । त्यही शिवको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्डमा पुगिन् । उनले कुण्डमा स्नान गरेको स्थानीय किंवदन्ती छ ।
स्थानीय सुशीला तामाङका अनुसार पार्वतीको शक्ति रहेको विश्वास गर्नेहरू यो कुण्डमा बर माग्न समेत आउने गरेका छन् । बौद्ध र हिन्दु धर्मावलम्बीहरूको बाक्लो उपस्थिति हुने पार्वती कुण्डमा सन्तान नहुनेहरू सन्तान प्राप्तिको वर माग्न आइपुग्छन् ।
जनैपूर्णिमामा लाग्ने मेलामा स्थानीय तामाङ संस्कार, संस्कृति झल्कने खालका कार्यक्रम गर्ने गरिन्छ । मेलामा स्थानीय बोन्बो, झाक्रीहरुको बाक्लो उपस्थिति रहन्छ ।
पार्वती कुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङका अनुसार पार्वती कुण्डलाई आकर्षक र पर्यटकीय आकर्षणको रूपमा चिनाउनको लागि अहिले काम भइरहेको छ । यसलाई राम्रो बनाउन सकेमा पर्यटकलाई आकर्षित गर्न सकिने हुँदा सबै जना मिलेर लागेको उनको भनाई छ ।
स्थानीयहरू तथा भक्तजनहरू आत्मैदेखि सोचेर मागेको बर पूरा हुने विश्वास गर्छन् । आफ्ना पुर्खालाई उदृत गर्दै स्थानीयले सुनाए अनुसार पहिले कुण्डको गहिराई ९ वटा चौरीको लामो भुत्लाबाट बनाएको डोरी गड्ने थियो । अहिले तालको गहिराई १३ मिटर रहेको छ । पहिले ६ हेक्टरमा फैलिएको कुण्ड अहिले खुम्चिएर ३ हेक्टरमा साँघुरिएको छ । त्यसैले प्रदेश सरकारले कुण्डको मर्मत र संरक्षणमा हात बढाएको छ ।
प्रदेश नं. ३ को सरकार अन्तर्गत अहिले डिभिजन वन कार्यालय र आमा छोदिङमो गाउँपालिकाले कुण्ड सरसफाइ गर्ने काम गरिरहेको छ । त्यस क्षेत्रमा भ्यु टावर निर्माण गर्ने, कुण्डमा आउने तीर्थयात्रीका लागि वरपर बस्ने पाटीहरू बनाउने र झाडी फाँडेर वृक्षारोपण गर्ने कार्यको सुरुवात भएको छ । यसको प्रचार प्रसारको काममा आर्टिस् नेपालले पहल गरिरहेको छ ।
मानसरोवर यात्रामा रहेका भारतीय तीर्थयात्रीहरू समेत पार्वती कुण्डमा आएर स्नान गरेर फर्कने गरेका छन् ।
उचित मर्मत सम्भार र प्रचारप्रसार गर्न सकेमा समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटर उचाइमा रहेको यो कुण्डमा भक्तजनहरूको सङ्ख्या बढ्ने निश्चित छ । पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रसुवाको सान्जेन भ्याली जाने बाटोमा पर्ने भएकोले पनि यसको पर्यटकीय महत्त्व बढी छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…