ओसाका उडानको तयारी पूरा: निगमका अध्यक्ष खरेल
निगमको वाइडवडी जहाजले भदौँ १२ गतेदेखि जापान उडान गर्दैछ ।
काठमाडौँ । एक दशकपछि सरकारी स्वामित्वको राष्ट्रिय ध्वजा वाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान गर्दै छ ।
दोस्रो पटक उडान तालिका सार्वजनिक गरेको निगमको उडान भदौँ १२ गतेदेखि सुरु हुँदैछ ।
ओसाका उडानको बारेमा जानकारी दिन मङ्गलवार निगममा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उडानको सबै तयारी पूरा भएको जनाकारी दिए ।
‘यसअघि घोषणा गरिएको समय र पुरानै भाडादरमा ओसाका उडान हुन्छ । पहिलो उडानमा १ सय ५० जना यात्रु लैजाने योजनामा छौँ ‘ उनले भने, ‘ठुलो विमान र पहिलो उडान हुँदा फुल अकुपेन्सीको उडान भने हुँदैन । हामीले योजना बनाए अनुसार सुरुवाती चरण अर्थात् करिब एक महिनासम्म फुल अकुपेन्सीको उडान हुँदैन ।’
सातामा तीन दिन हुने उडान २ सय ७४ सिट क्षमताको एयरबस ३३० (वाइडबडी) विमानबाट हुनेछ । यसअघि असार १९ गते देखि जापानको ओसाका उडान गर्ने तयारी गरिएपनि यात्रु अभावका कारण दोस्रो उडान तालिका सार्वजनिक गरिएको थियो ।
सुरुवाती चरणमा वाइडबडीको इकोनोमी क्लासमा रहेका सिटको एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै दुवैतर्फको भाडा ७२ हजार ८ सय १४ रुपैयाँ तोकिएको छ । यात्रुको चापअनुसार भाडा दर तलमाथि हुने अध्यक्ष खरेलले जानकारी दिए ।
निगमको वाइडबडी विमानले मङ्गलवार, बिहीबार र शनिवार गरी सातामा तीन दिन ओसाका उडान भर्नेछ । काठमाडौँबाट जापानको ओसाका ७ घण्टाको दुरीमा पर्दछ ।
काठमाडौँबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६:०० बजे काठमाडौँ आइपुग्ने छ ।
हालसम्म नेपालबाट सिधा जापान उडान छैन । मलेसियन एयर, ड्रागन एयर र कोरियन एयरले वीचमा ट्रान्जिट गर्दै जापनको लागि उडान भर्दै आएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…