August 22, 2019

विमान थप्दै निजी वायुसेवा कम्पनीहरू, कुन कम्पनीसँग कति विमान?

Nepali airlines, ready to board
नेपाली वायु सेवाका विमानहरु विमानस्थलमा । तस्बिर : खिम घले/हाइलाइट्स टुरिजम ।

काठमाडौँ । पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली वायुसेवा कम्पनीहरूले विमान थप्ने होडबाजी नै चलेको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएको बुद्ध एयर, भरखर अन्तर्राष्ट्रिय उडान अनुमति पाएको श्री एयर र आन्तरिक उडान गर्दै आएको यति एयरले पछिल्लो समय धेरै सङ्ख्यामा विमान थपेका छन् ।

बुद्ध एयरलाइन्स

Buddha air Ramp
बुद्ध एयरको जहाज ।

एटिआर जहाजबाट उडान गर्दै आएको बुद्ध एयरले पुन: नयाँ एटिआर विमान ल्याउने तयारी गरेको छ । भारतबाट करिब १ अर्व लगानीमा ल्याउन लागेको विमान अगस्ट अन्तिमसम्म नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

गत चैत्र ४ गते १ अर्व लगानीमा फ्रान्सबाट नयाँ एटिआर विमान नेपाल ल्याएको थियो । हाल बुद्ध एयरसँग ७ वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १८ सिटे बिचक्राफ्टलगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

बुद्धले अन्तर्राष्ट्रिय उडानमा भारतको बनारस र कोलकातामा उडान गर्दै आएको छ भने गुवाहटीमा तयारी थालेको छ । त्यस्तै आन्तरिक उडानमा भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढी, तुम्लिङटार, भरतपुर र पोखरालगायतका क्षेत्रमा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थलबाट भरतपुर र भैरहवा समेत उडान गर्ने गरेको छ भने माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ।

यति एयरलाइन्स

Yati airlines
फाइल तस्विर : यति एयररलाइन्सको जहाज ।

आन्तरिक उडान गर्दै आएको यति एयरले गत साउनमा थाइल्याण्डको राजधानी बैंककबाट पाँचौँ विमानको रूपमा ७२ सिट क्षमताको एटिआर विमान भित्र्याएको छ । यतिसँग हाल ७२ सिट क्षमताको ५ वटा एटिआर, ६ वटा जेट स्ट्रिमगरी ११ विमान छन् । यी विमानबाट यतिले आन्तरिक र माउन्टेन फ्लाइट गर्दै आएको छ ।

हाल यतिले मुख्य रुटका ८ गन्तव्यमा उडान गरिरहेको छ । यतिका प्रवक्ता भीम राईका अनुसार ६ वटा जेटस्ट्रिमबाट तुम्लिङटार, जनकपुर, भरतपुर, भैरहवा, नेपालगन्ज उडान गर्दै आएको छ । त्यस्तै एटिआर ७२ बाट भद्रपुर, पोखरा र विराटनगरमा उडान गरिरहेको छ । दैनिक ६ माउन्टेन फ्लाइट गर्ने यतिले पोखराबाट भरतपुर र भैरहवा सेवा समेत सुरु गरेको छ ।

श्री एयरलाइन्स

Shree Airlines is going to do test flight to Baranasi
फोटो : श्री एयरलाइन्सको वेवसाइट ।

भदौ १ गते श्री एयरले नयाँ विमानका रूपमा ८० सिट क्षमताको टर्बो जेट इन्जिनयुक्त बम्बार्डियरको टर्बोजेट जहाज ल्याएको छ । यही महिनाभित्रमा सोही कम्पनीको अर्को जहाज नेपाल आइसक्ने जनाएको छ ।

आन्तरिक उडान गर्दै आएको एयरलाइन्स कम्पनी मध्येमा श्रीले भित्र्याएको बम्बार्डियर जहाज ठुलो हो । पछिल्लो समय नेपालमा ७२ सिट क्षमताको एटिआर जहाज मात्रै भित्रिएका थिए । आन्तरिक उडान गर्दै आएको श्रीले अन्तर्राष्ट्रिय उडान अनुमति मागेको करिब १ वर्षपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको छ। अनुमति पाएपछि पहिलो चरणमा भारतमा उडानको तयारी भइरहेको श्रीका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

८० सिट क्षमता भएको सो जहाज आन्तरिक उडानमा रहेका एयरलाइन्सले उडाइरहेको मध्ये सबैभन्दा ठुलो हो । श्रीसँग हाल बम्बार्डिएरको ५० सिट क्षमताका २ वटा र ७० सिट क्षमताका २ वटा जहाज छन् । नयाँ आएको जहाजसँगै श्रीसँग ५ वटा जहाज भएका छन् । श्रीले हाल भैरहवा, नेपालगन्ज, विराटनगर, भद्रपुर र धनगढीमा उडान गर्दै आएको छ ।

त्यसै गरी सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । आन्तरिक उडानका लागि निगमसँग ४ वटा चिनियाँ वाई–१२, २ वटा एसएमएस–६०, ३ वटा टिवनअटर गरी ८ वटा विमान रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग दुई सय ७४ सिट क्षमताको दुई थान ‘ए३३०–२००’ वाइडबडी, एक सय ५८ सिट क्षमताको दुई थान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन् । निगमसँग भएको पुरानो बोइङ ७५७ बिक्रीका लागि दोस्रो पटक अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिएको छ ।

सौर्य एयरलाइन्सले वि.सं २०७१ साल मङ्सिर १ गतेदेखि दुई वटा जेट विमानबाट आन्तरिक उडान सुरु गरेको थियो । हाल नयाँ जेट विमान ल्याउने तयारीमा छ । सिम्रिक एयर
सन् २००९ देखि आन्तरिक उडान गर्दै आएको सिम्रिकसँग हाल २ वटा बिचक्राप्ट १९०० जहाज रहेको छ ।

सीता एयरले सन् २००३ देखि ड्रोनियर–२२८ विमानबाट व्यावसायिक उडान सुरु गरेको हो । दुर्गम क्षेत्रमा उडान गर्नका लागि हाल सीता एयरसँग ४ वटा ड्रोनियर–२२८ विमान रहेको छ।

त्यस्तै तारा एयरले सन् २००९ देखी आन्तरिक उडान गर्दै आएको छ । हाल तारा एयरसँग ६ वटा विमान रहेको छ । १९–१९ सिटको ४ ट्विनअटर, २ ड्रोनियर विमानबाट ताराले दुर्गन क्षेत्रका ९ गन्तव्यमा उडान गर्दै आएको छ । जसमा फाप्लु, लुक्ला, जोमसोम, दुनै, जोमसोम, सिमरा, बाजुरा, रारा र बझाङ रहेका छन्।

समिट एयरलले सन् २०१४ बाट आन्तरिक उडान गर्दै आएको छ । तीन वटा एल ४१० युभिपी–ई२० विमान रहेको समिटले सुर्खेत विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको छ ।

त्यस्तै हाल मुलुकभित्र २० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रिय उडानमा तीन विमान कम्पनीले गर्दै आएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…