August 28, 2019

घान्द्रुक सीएनएनको एसियाका १३ सुन्दर गन्तव्यमा

Ghandruk Neplai Village is popular for tourists
घान्द्रुकबाट एकाविहानै देखिने दृष्य ।

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार संस्था सीएनएनले नेपालको पर्यटकीय गाउँ घान्द्रुकलाई एसियाको १३ सुन्दर गन्तव्यमा समेटेको छ ।

बुधवार सार्वजनिक गरेको फोटो कथाको १० औँ नम्बरमा राखेर उसले क्याप्सनमा भनेको छ, ‘समुद्री सतहदेखि २ हजार मिटरभन्दा अग्लो ठाउँमा अवस्थित घान्द्रुक नेपालको हिमाली क्षेत्रमा रहेको पहाडी गाउँ हो । ‘ उसले थपेको छ, ‘पोखराको लेकसाइडबाट पाँच घण्टाको पदयात्रामा पुगिने यो स्थान लोकप्रिय अन्नपूर्ण सर्किटको प्रस्थान विन्दु पनि हो ।’

सीएनएनले घान्द्रुक जस्तै एसियाको अन्य सुन्दर गन्तव्यकोरूपमा मलेसियाको जर्ज टाउन, चीनको झाउझुङ, जापानको यूफुङ, भियतनामको होइ एन, फिलिपिन्सको भिगन, लाओसको लुवङ प्रवाङ, कम्वोडियाको कमपोट, इन्डोनेसियाको कोटा गेडे, श्रीलङ्काको गाले, भारतको मल्यानोङ, हङकङको साइ कुङ र थाइलेण्डको फुकेट पुरानो सहर उल्लेख गरेको छ ।

Ghandruk, a Neplai Village is popular for tourists
घान्द्रुक गाउँ ।

कास्कीको घान्द्रुक अन्नपूर्ण सर्किटमा पर्ने गुरुङ गाउँ हो । यहाँ बासका लागि होमस्टेको व्यवस्था छ । यहाँ पुगेपछि नेपालका आदिवासी गुरुङ समुदायको संस्कृति र सहनको अवलोकन गर्न पाइन्छ । त्यसका साथै त्यहाँ बास बस्ने पर्यटकले माछापुछ्रे, गंगापूर्ण, हिमचुली र अन्नपूर्ण हिम श्रृंखलाहरुको पनि अवलोकन गर्न पाइन्छ ।

घान्द्रुकमा होमस्टे बाहेक होटलहरु पनि छन् । तर ती होमस्टेहरू भन्दा महँगा छन् । होमस्टेमा घरेलु वातावरण र गाउँघर बारे बुझ्न पाइन्छ ।

पोखराबाटै पदयात्रामा जान सकिन्छ । साथै अहिले पोखराबाट जिपमा घान्द्रुक गाउँ नजिकै पुग्न सकिन्छ । त्यहीबाट आधा घण्टा हिँडेपछि मूल गाउँमा पुगिन्छ ।

तस्बिरहरु : गंगादेवी गुरुङ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…