September 4, 2019

यात्रु नभएपछि घट्यो निगमको जापान उडान, अब सातामा दुई मात्र

Nepal airlines corporationकाठमाडौँ । यात्रु सङ्ख्या कम भएपछि १२ वर्षपछि सुरु भएको नेपाल वायुसेवा निगम जापान उडान घटेको छ । सुरुमा साताको तीन दिन बनाउने योजना बनाएको निगमले सातामा दुई उडानमा झारेको छ ।

भदौ १२ गते सुरु भएको जापानको ओसाका उडानको तालिका यात्रु अभाव भएपछि एक साता नहुँदै फेरबदल गरिएको हो । यसअघि मङ्गलवार, बिहीबार र शनिवार ओसाका उडान गर्ने तालिका सार्वजनिक गरिएकोमा अव मङ्गलवार र शनिवार मात्रै ओसाका उडान हुने छ ।

‘परिक्षणकालका लागि जापानको सिभिल एभिएसनले निगमलाई सातामा तीन उडानको अनुमति दिएको थियो । सुरुवाती चरणमा भएकाले हामीले केही समयका लागि सातामा २ दिन उडान गर्ने तयारी गरेका हौँ ’ निगमका सहप्रवक्ता सुलेश मिश्रले भने, ‘नेपालबाट ओसाका भन्दा पनि ओसाकाबाट नेपालको लागि यात्रु सङ्ख्या राम्रो रहेको छ । दसैँ वरिपरि हामी सातामा तीन उडान हैन चार उडान नै गछौँ ।’

यात्रु सङ्ख्या कम भएपछि निगमले सातामा दुई उडानको लागि जापानको उड्डयन प्राधिकरणलाई मेल गरेको थियो । जापनवाट २ उडानको अनुमति आइसकेको उनले बताए ।

निगमले गत बिहीबार र शनिवार गरी जापानको ओसाकाका लागि काठमाडौँबाट सिधा दुई उडान गरेको छ । काठमाडौँबाट ओसाकाको पहिलो उडानमा ९७ यात्रुले टिकट खरिद गरेका थिए भने ओसाकाबाट काठमाडौँका लागि ४६ यात्रु थिए । त्यस्तै शनिवार भएको दोस्रो उडानमा काठमाडौँबाट १७ यात्रु र ओसाकाबाट ६२ यात्रु थिए ।

केही समयअघि ओसाका उडानको तयारी बारे निगमले गरेको पत्रकार भेटघाट कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले एकतर्फी उडानमा मात्रै अनुमानित १ करोड खर्च हुने बताएका थिए ।

काठमाडौँबाट ओसाकाको दुईतर्फी उडानमा करिब ४ करोड खर्च भएको छ । २ सय ७४ सिट क्षमताको एयरबस ३३०–२०० को वाइडबडी विमानले ओसाका उडान गर्दा ८१ लाख ४० हजार मात्रै आम्दानी गरेको छ ।

यसअघि असार १९ गतेदेखि जापानको ओसाका उडान गर्ने तयारी गरिए पनि यात्रु अभावका कारण दोस्रो उडान तालिका सार्वजनिक गरिएको थियो ।

काठमाडौँबाट जापानको ओसाका ७ घण्टाको दुरीमा पर्दछ । काठमाडौँबाट बिहान २:३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपराह्न ६:०० बजे काठमाडौँ आइपुग्ने छ ।

यसअघि सन् १९९४ बाट २००७ सम्म निगमले १ सय ९० सिट क्षमताको बोइङ ७५७–२००’ जहाजबाट चीनको साङ्घाइ हुँदै ओसाका उडान गरेको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…