खराब मौसमका कारण आन्तरिक उडान प्रभावित, यात्रुलाई सास्ती
काठमाडौँ । खराब मौसमका कारण देशभरका विभिन्न विमानस्थलहरू बन्द भएका छन् । विमानस्थल बन्द भएपछि गन्तव्य पुग्न नसकेका यात्रुहरूले सास्ती बेहोरेको छ ।
पर्यटकीय सुरुवातमै भएको मौसमको खराबीले पर्यटकहरूलाई पनि समस्यामा पारेको छ ।
पोखरा, भरतपुर र तुम्लीङटार विमानस्थल बन्द छन् । काठमाडौँका लागि मात्रै दैनिक १९ उडान हुँदै आएको पोखरा विमानस्थल मङ्गलवार बिहानैदेखि बन्द छ । बिहान १० बजेदेखि १२ बजेसम्म मात्रै उडान गर्न सकिने जोमसोमको उडान स्थगित गरिएको छ । जोमसोममा मात्रै औसत १० उडान हुने गरेको छ ।
विमानस्थलका अधिकृत देवराज सुवेदीका अनुसार काठमाडौँ, भरतपुर र भैरहवाका यात्रुहरू विमानस्थलमै छन् । मौसममा सुधार आउने अपेक्षासहित यात्रुहरू विमानस्थलमै रहेका हुन् । करिब तीन सय हाराहारीमा यात्रुहरू विमानस्थलहरूमा उडानको पर्खाइमा छन् । ‘पानी पर्न रोकिएको र बादल फाट्न थालेकाले उडान हुने अपेक्षा गरिएको छ’ उनले भने ।
पोखरा विमानस्थलबाट काठमाडौँका लागि बुद्धले ९, यतिले ७ र स्रिमिक एयरले दैनिक ३ उडान गर्दै आएका छन् । त्यस्तै भरतपुरका लागि दैनिक १ र भैरहवाका लागि पोखराबाट बुद्धले दैनिक २ उडान गर्ने गर्छ । ती सम्पूर्ण उडान स्थगित गरिएको छ ।
त्यस्तै बिहानै देखि भरतपुर विमानस्थल पनि पूर्ण रूपमा बन्द छ । विमानस्थलका सूचना अधिकारी दीपक विकका अनुसार खराब मौसमका कारण नेपालगन्जबाट काठमाडौँको लागि उडान भरेको हेलिकोप्टर पनि अकस्मात अवतरण भएको छ ।
विमानस्थल बन्द हुँदा बिहानैदेखि उडानको पर्खाइमा रहेका यात्रुहरू अलमलमा छन् ।
भरतपुरबाट पोखरा र काठमाडौँका लागि उडान हुँदै आएको छ । काठमाडौँका लागि बुद्धको ६ र यतिको ५ उडान छन् भने बुद्धले पोखरामा दैनिक एक उडान गर्दै आएको छ ।
त्यस्तै तुम्लीङटार विमानस्थल पनि पूर्ण रूपमा बन्द छ । खराब मौसमका कारण आन्तरिक तथा विदेशी पर्यटकहरू विमानस्थलमा उडानको पर्खाइमा रहेका छन् ।
विभिन्न आन्तरिक विमानस्थलमा उडान प्रभावित भएता पनि अन्तर्राष्ट्रिय उडान भने चालु रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै मौसममा खराबीका कारण लुक्लाबाट काठमाडौँका लागि उडान भरेको ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।
मौसममा खराबी आएता पनि विभिन्न हिमाल आरोहणमा गएका आरोहीहरू भने समस्यामा नपरेको पर्यटन विभागले जनाएको छ । हामी कहाँ आरोहीहरू समस्यामा परे भन्ने खालको केही जानकारी आएको छैन, आधार शिविर गएका र जाने तयारीमा रहेकाहरू सकुशल छन्, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
– खराब मौसमले लुक्ला विमानस्थल बन्द भएपछि पर्यटक अलपत्र, अझै तीन दिन बन्द हुने सम्भावना
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…