September 17, 2019

पोकली झरनाको जादु

काठमाडौँबाट तीन दिनमै झरना र आसपासको मनोरम क्षेत्र पनि घुमेर आउन सकिन्छ ।

  • कुम्भराज राई

A beautiful waterfall in eastern part of Nepal

पोकलटी झरना । यो मुलुककै दोस्रो अग्लो झरना हो ।निकै अग्लो डाँडादेखि ठोक्किँदै ठोक्किँदै झरेको पानीको फोहरा । एक पटक देख्ने जो कोहीलाई फेदमा पुग्न मन लाग्छ । अझ साउन भदौको महिनामा त फेदमा पुग्दा चिसो पानीको फोहराबाट निस्किएका थोपाहरू बाथरुममा ‘सावर’ लिए भन्दा मिठो अनुभूति हुन्छ ।

देशकै दोस्रो अग्लो झरना हो पोकली । १ सय ३० मिटर अग्लो पोकलीको बयान यत्तिमै सीमित हुँदैन । वर्षमायामा पुग्नेले झरनाकै दृश्य हेरेर सबथोक भुल्छन् । चैत वैशाखको हिउँद याममा क्यानोनिङका लागि साह्रै उपयुक्त मानिन्छ । लिखु गाउँपालिका ९, ओखलढुङ्गामा पर्ने पोकली झरना पर्यटन वर्ष २०२० को सय गन्तव्य सूची परेको छ ।

रामेछापसँग सिमाना जोडिएको लिखु गाउँपालिका र रामेछापको सिमानामा बग्छ लिखु नदी । लिखु नदी किनारका हरियाली खेत । विभिन्न भागमा बनेका पाँच वटा विद्युत् आयोजनाहरू । आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि एक पटक पुग्नै पर्ने गन्तव्य हो । धेरै नेपालीले समेत हुलाकका टिकट र खाममा पोकली देखे पनि यसको प्रत्यक्ष अवलोकन गर्न पुगेका छैनन् । त्यसैले
पर्यटन वर्षमा घुम्ने योजनामा हुनुहुन्छ भने त्यसको सूचीमा पोकलीलाई राख्न सक्नुहुन्छ ।

A beautiful waterfall in eastern part of Nepal
पोकली झरना जाने बाटोमा देखिने धान खेत ।

पोकली झरना भन्दा मुनितिर रहेका हाँडी दहको किंवदन्ती, वनझाँक्रीहरुको कथा, दुग्धेश्वर महादेव मन्दिरको दर्शन, झरना भन्दा माथितिर पुग्न सके चुलीवनको आकर्षण उत्तिकै महत्त्वका छन् । चुलीवनमा पाइने विभिन्न गुराँसका बोट र डाँफेलगायतका चराचुरुङ्गीहरू । सुनुवार, शेर्पा, क्षेत्री, बाहुन र शिल्पी समुदायको मिश्रित संस्कृति एकै ठाउँमा हेर्न पाइन्छ । पोकली सुनुवार भाषामा रहेको भनाई छ । पो को अर्थ सुँगुर र कलीको अर्थ सिस्नु हुने स्थानीय बताउँछन् ।

पोकलीका गाउँघरका कान्लाहरूमा पाइने सिस्नु, अकबरे खुर्सानीको अचार, आलुको ढिँडो (रिल्दुक) र लोकल कुखुराको भालेको मासुसहित होमस्टेको रूपमा बस्न पाउँदा पाहुनाहरू रमाएर फर्किने गरेका छन् । पोकली झरनामा पर्यटन वर्षको अवसर पारेर महोत्सवको तयारी पोकली झरना सेवा समाजले गरिरहेको छ । अरू बेला जान नभ्याएकाले पनि महोत्सवमा पुग्न सके पोकलीको सुन्दरता र पूर्वी पहाडको ग्रामीण भेगको स्वादलाई आँखाभरि, मनभरि, जिब्रो भरि लिएर फर्किन सक्नुहुन्छ ।

पोकली झरना फिल्म छायाङ्कनका लागि समेत नयाँ र उत्कृष्ट गन्तव्यको रूपमा लिन सकिन्छ । दिउँसो २.०० बजेपछि पश्चिमबाट घामको आवर्तनले पैदा हुने इन्द्रेणी कम्ती आकर्षक देखिँदैन । वर्षमायाको बेला हिन्दी चलचित्र बाहुबलीको दृश्यमा देखिएजस्तै झरनाको दृश्य यहाँ देख्न सकिन्छ । पोकली झरना र आसपास मात्र घुमेर फर्किनका लागि बढीमा तीन दिन छुट्ट्याए पर्याप्त हुन्छ । त्यहाँदेखि देम्बाडाँडा हुँदै सोलुखुम्बुको पिकेसम्म पदयात्रा गर्ने हो भने ५ देखि ६ दिन सम्मको समय छुट्ट्याउनुपर्ने हुन्छ ।

A beautiful waterfall in eastern part of Nepalकसरी पुग्ने पोकली

पोकली जानका लागि सबैभन्दा छोटो बाटोको रूपमा हालसम्म रामेछाप सदरमुकाम मन्थलीबाट जाने रहेको छ । काठमाडौँदेखि मन्थली चार घण्टामा र त्यहाँबाट कच्ची बाटो तीनदेखि साँढे तीन घण्टामा पोकली पुग्न सकिन्छ । बाटो कच्ची भएकोले वर्षमायामा केही समस्या हुनसक्छ । वर्षमायामा जानेले फोर ह्विल गाडी लिएर गएमा राम्रो हुन्छ । हिउँदमा त साना बसहरू नै पोकली झरना नजिकसम्म पुग्ने गर्छन् । मोटरसाइकलमा पनि पोकली जान सकिन्छ । काठमाडौँबाट खुर्कोट, मन्थली, धोबी, सिरिसे, ढाडे हुँदै पोकली जान सकिन्छ । अफरोड मोटरसाइकल चलाउनले वैकल्पिक ट्यूब र हाते पम्प जस्ता सामाग्री साथै लिएर जान सके सहज हुन्छ ।

आवश्यक सामाग्री

A beautiful waterfall in eastern part of Nepalपोकली जानका लागि त्यति धेरै आवश्यक सामाग्रीको जोहो गर्नु पर्दैन । गर्मी महिनामा जानेले सामान्य दुई जोर कपडा र स्पोर्ट जुत्ता भए पुग्छ । बत्तिको सुविधा भरपर्दो नभएकोले ब्याकअपको रूपमा पावर बैङ्क बोक्दा राम्रै हुन्छ । जाडो महिनामा भने जाडो हुन्छ । ज्याकेट, टोपी, जुत्ताको साथमा क्यानोनिङ गर्ने भए त्यसका लागि आवश्यक सामाग्री लिएर जान सकिन्छ ।

पोकली टु पिके ट्रेल

पोकली झरनासँग जोडेर सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गर्ने तयारी सुरु भएको छ । यसलाई पोकली टु पिके ट्रेल नामकरण गरिने भएको छ । पोकली झरनादेखि चुली गौरीवन हुँदै देम्बाडाँडा र सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गरिनेछ । यस पदमार्गमा गुराँस फुल्ने र डाँफे भेटिने जङ्गल हुँदै सगरमाथा हिमशृङखला नजिकबाट नियाल्ने ४ हजार २ सय मिटर उचाइको पिके डाँडा पर्दछ । यो पदयात्रा थोरै खर्चमै अत्यन्तै आकर्षक गन्तव्यहरू हेर्दै गरिने नयाँ पदमार्गको रूपमा विकास हुँदैछ ।

सबै तस्बिरहरु : कुम्भराज राई ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…