September 19, 2019

क्यानको वार्षिक बजेट ४७ अर्व, गत वर्ष उपलब्धि हाँसिल गरेको दाबी

Nepal civil aviation authority काठमाडौँ । हवाई सेवाको नियमन तथा विकास गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि ४६ अर्व ९६ करोड ५० लाख ९९ हजार ९९४ बजेट छुट्ट्याएको छ ।

गत भदौ १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको क्यानको ३ सय ६२ औँ बैठकले चालु आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । बिहीबार क्यानले पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

क्यानले एरोनोटिकल, नन्एरोनोटिकल र विमानस्थल विकास शुल्क बापत १० अर्व ५४ करोड ४१ लाख, नेपाल सरकारको अनुदान, शेयर र ऋण लगानी बापत १७ अर्व २९ करोड ८९ लाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ६८ करोड ४० लाख गरी २८ अर्व ५२ करोड ७० लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

त्यस्तै प्रतीतपत्र/मोविलाइजेशन पेस्कीको ३ अर्व २९ करोड ९९ लाख, २०७६ श्रावणसम्मको बैक मौज्दात १५ अर्व १४ करोड ९३ लाख गरी १८ अर्व ४४ करोड ९२ लाख गरी ४६ अर्व ९७ करोड ६२ लाखलाई आम्दानीमा राखेको छ ।

त्यस्तै व्यय (खर्च) तर्फ ४६ अर्व ९६ करोड ५१ लाखको प्रक्षेपण गरेको छ । जसमध्येमा पुँजीगत खर्चतर्फ ३४ अर्व ४ करोड ३७ लाख, कार्य सञ्चालन खर्च ४ अर्व १८ करोड ८४ लाख गरी ३८ अर्व २३ करोड २१ लाखको प्रक्षेपण गरिएको छ ।

त्यस्तै नेपाल सरकारबाट प्राप्त हुनुपर्ने रकमको सावाँ र व्याज गरी ९९ करोड ५० लाख, नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने लाभांश ३५ करोड ७६ लाख, कर्मचारी बोनस १ अर्व २६ करोड ३१ लाख, स्थिर सम्पत्ति प्रतिस्थापनमा १ अर्व ६५ करोड ६६ लाख, आयकरमा १ अर्व १४ करोड ९४ लाख, नन्अपरेटिभ खाता (वायुयान सञ्चालन कोष) मा ६३ करोड ६५ लाख, मूल्य अभिवृद्धि कर २ अर्व ६७ करोड ४८ लाख गरी अन्य खर्चतर्फ ८ अर्व ७३ करोड ३० लाख गरी ४६ अर्व ९६ करोड ५१ लाखको खर्च गर्ने लक्ष्य तय गरेको हो ।

विमानस्थल विकास शुल्क
क्यानले गत आर्थिक वर्षमा (२०७५/०७६) बाट विमानस्थल विकास शुल्क २ अर्व २१ करोड २८ लाख उठाउने लक्ष्य राखेको थियो । उक्त प्रक्षेपणमा क्यानले १७ दशमलव ८० प्रतिशत कम अर्थात् १ अर्व ९२ करोड ४२ लाख रकम सङ्कलन गर्न सक्यो ।

क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७१/०७२ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिव्यक्ति एक हजारका दरले विमानस्थल विकास शुल्क उठाउँदै आएको छ । उक्त शुल्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार, स्तरोन्नति, सुदृढीकरण, विकास तथा विस्तार गर्न र प्राधिकरणले लिएको ऋण तथा सावाँ, व्याज भुक्तानी गर्दै आएको छ ।

चालु आर्थिक वर्षका लागि एरोनोटिकल, नन् एरोनोटिकल र विमानस्थल विकास शुल्क गरी १० अर्व ५४ करोड ४१ लाख रुपैयाँ उठाउने लक्ष्य प्राधिकरणले लिएको छ ।

मुख्य उपलब्धि

गत आर्थिक वर्षमा क्यानले ४ वटा मुख्य उपलब्धि गरेको जनाएको छ । उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, पार्किङ वे निर्माण, टिआईए, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलमा सुरक्षा निरीक्षण लेखा परीक्षा र निरीक्षण गर्नुलाई प्रमुख उपलब्धिको रूपमा लिएको छ ।

त्यस्तै राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखिएका भैरहवा, पोखरा र निजगढ विमानस्थल निर्माणको काम भइरहेको, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान र विभिन्न आन्तरिक विमानस्थलहरू निर्माण सम्पन्न गरिएको जनाएको छ ।

गत आर्थिक वर्षमा प्रक्षेपित आय ५ अर्व ९६ करोड ८३ लाख अनुमान भएकोमा ७ अर्व १५ करोड ७७ लाख आय भएको थियो । प्रक्षेपित आयभन्दा १ अर्व १८ करोड ९४ लाखले वृद्धि अर्थात् १९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

गत वर्ष ४५ अर्व १७ करोड ५७ लाख बराबरको बजेट स्वीकृत भएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…