September 20, 2019

क्यानले सञ्चालन गर्ने १३ विमानस्थल मात्र नाफामा

Nepal civil aviation authorityकाठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत आर्थिक वर्षमा १३ विमानस्थल सञ्चालनबाट नाफा भएको जनाएको छ । क्यानले ५० भन्दा बढी आन्तरिक विमानस्थल सञ्चालन गर्दै आएको छ ।

सबैभन्दा धेरै नाफा गर्ने विमानस्थलको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । अन्य नाफा कमाउने विमानस्थलहरूमा गौतम बुद्ध, नेपालगन्ज, पोखरा, विराटनगर र सिमरा विमानस्थल रहेका छन् ।

त्यस्तै चन्द्रगढी, जनकपुर, भरतपुर, जोमसोम, धनगढी, सिमिकोट र तेञ्जिङ हिलारी (लुक्ला) विमानस्थल पनि नाफामा रहेको क्यानले जनाएको छ । क्यानका अनुसार नियमित उडान हुने अधिकांश विमानस्थल नाफामा छन् ।

देशभरका विभिन्न स्थानमा निर्माण गरिएका ५० भन्दा बढी विमानस्थल मध्ये १३ वटाले मात्रै नाफा आर्जन गरेको हो । हाल सञ्चालित र बन्द भएका विमानस्थलको सङ्ख्या बराबर जस्तै छन् । करोडौँ खर्च गरेर निर्माण गरिएको विमानस्थल सञ्चालनमा नआउँदा समस्या भएको क्यानको भनाई रहेको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट अनुसार हाल ३२ विमानस्थल सञ्चालनमा छन् ।

अहिले अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्माणाधीन गौतम बुद्ध विमानस्थल र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माणाधीन रहेको पोखरा विमानस्थल छन् । केही महिनाभित्रै सम्पन्न हुने गौतम बुद्ध र सन् २०२१ मा सम्पन्न हुने पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि तीन वटा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ ।

देशभरका विभिन्न स्थानमा निर्माण गरिएका १६ विमानस्थल उडान विहीन छन् । ती मध्येमा केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भएपछि परीक्षण उडान समेत हुन सकेको छैन ।

५०/६० वर्षअघि उडान सुरु भएका कतिपय विमानस्थल हाल प्रयोग विहीन छन् । सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित भएको छैन । यसले गर्दा सरकारको करोडौँ लगानी खेर गएको छ ।

एउटा विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…