यस्तो छ नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनी बनाउने खाका
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रूपान्तरण गरिने बताएका छन् ।
राजधानीमा आयोजित एक अन्तर्क्रियामा उनले निगम निक्कै क्रोनिक अवस्थामा रहेको उल्लेख गर्दै उपचार प्रक्रिया थालिने बताए । ‘निक्कै क्रोनिक अवस्थामा छ, तर मर्न दिंदैनौं । उपचार गर्छौँ । उपचार छ’ उनले भने ।
उपचारको रूपमा व्यवस्थापनमा ‘सक थेरापी’ दिइने पनि उनले बताए । ‘सानो तिनो उपचारले यो सम्भव छैन । त्यसैले यसमा ‘सक थेरापी’ दिइनेछ’ उनले भने ।
साथै हालै मात्र सार्वजनिक गरिएको निगम सुधारका सुझाव कार्यदलको प्रतिवेदनलाई पनि आधार मानेर पब्लिक कम्पनी लैजाने उनले बताएका हुन् । ‘कतिपयले प्राइभेट कम्पनी भन्ने बुझेछन् । प्राइभेट कम्पनी होइन, पब्लिक कम्पनीमा जानु पर्छ’ मन्त्री भट्टराईले भने ।
प्रतिवेदनमा हाल रहेको सार्वजनिक संस्थानको मोडलबाट निजी–सार्वजनिक साझेदारीको कम्पनीमा जान उसले सुझाएको थियो । तर राष्ट्रिय ध्वजा वाहकको गौरव र हैसियतलाई दीर्घकालसम्म रहने कुरामा भने सजग हुन भनिएको छ ।
कम्पनीको नाम नेपाल वायुसेवा कम्पनी लि., अधिकृत पुँजी २ सय अर्व, जारी पुँजी १५० अर्व र चुक्ता पुँजी एक सय अर्वको बनाउन पनि सुझाइएको छ ।
साथै कम्पनीमा सरकारको ५१ प्रतिशत, विदेशी साझेदारको ३५, निगमका वर्तमान तथा पूर्व कर्मचारीको १.५, सरकारी तथा संस्थानका कर्मचारीको १.५, पर्यटन व्यवसायीको ६ र सर्वसाधारण लगानी कर्ताको ५ प्रतिशत रहने व्यवस्था गर्न समेत उल्लेख गरिएको छ ।
यद्यपि मन्त्री भट्टराईले यो प्रतिवेदनलाई आधार मान्ने मात्र भनेकाले हुबहु यही मोडलिटी लागु हुने वा नहुने भने यकिन छैन ।
– निगम सुधारको सुझाव– विदेशी साझेदार ल्याउनु र दुई सय अर्वको कम्पनी बनाउनु
भ्रमण वर्ष लक्षित काम
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० र त्यसपछिका वर्षहरूमा पनि पर्यटन आवागमनलाई सहज बनाउनका लागि काम अघि बढेको बताएका छन् ।
उनका अनुसार केही तत्कालका लागि गरिने कामहरू सुरु भएका छन् भने केही नीतिगत सुधारका कामहरू पनि सुरु भएका छन् ।
उनले पर्यटकहरू हवाई माध्यमबाट आउने हुँदा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरणमा जोड दिएका बताए । ‘प्रधानमन्त्रीज्यूको बुटिक एयरपोर्टको अवधारण अनुसार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम भइरहेको छ’ उनले भने ।
मन्त्री भट्टराईका अनुसार कात्तिक मसान्त वा मङ्सिरको पहिलो साताभित्रमा विमानस्थलको अध्यागमनले पनि नयाँ स्वरूप पाउने बताए । ‘गृह मन्त्रालय र अध्यागमन विभागले यसमा तयारी गरिरहेको, नयाँ सामाग्री खरिददेखि तालिमको कामसम्म भइरहेको छ’ उनले भने ।
त्यसै गरी चाँडै भिसा व्यवस्थामा अनलाइन पेमेन्ट सिस्टमको पनि व्यवस्था गर्न लागेको बताए । ‘अनलाइन फर्म भर्ने काम भइरहेको छ, तर अनलाइन पेमेन्ट सिस्टम नभएकोले समस्या भइरहेको’ उनले भने, ‘भिसा प्रक्रिया थप सहज बनाउन अनलाइन पेमेन्ट सिस्टमको लागि पनि काम भइरहेको छ ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…