‘नेचर, कल्चर र एडभेन्चर’को सङ्गम गण्डकी प्रदेश
- पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री–गण्डकी प्रदेश
सबै प्रदेशहरू सुन्दर छन् । तर, गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यको हिसाबले उत्कृष्ट गन्तव्य स्थल हो । अर्को कुरा सांस्कृतिक हिसाबले पनि गण्डकी प्रदेश धनी छ । विभिन्न खालको सांस्कृतिक गतिविधिहरू यहाँ हुन्छन् । नेपालको इतिहासलाई हेर्ने हो भने मूलधारको साहित्य, कला र संस्कृतिको उद्गमस्थल गण्डकी नै हो ।
यसैले प्राकृतिक र सांस्कृतिक हिसाबले गण्डकी प्रदेश पर्यटन उद्योगको लागि उपयुक्त ठाउँ हो भन्ने हाम्रो ठहर रह्यो । यस प्रदेशमा साहसिक पर्यटन गतिविधिहरू पनि हुँदै आएका छन् । त्यसैले मैले भन्ने गरेको छु, ‘गण्डकी प्रदेश‘नेचर, कल्चर र एडभेन्चर’को सङ्गम हो ।’
पर्यटनलाई हामीले गरिबी निवारण, रोजगार र स्वरोजगार सिर्जनाको अवसरको रूपमा हेरेका छौँ । यसलाई आर्थिक समृद्धिको आधारको रूपमा हेरेका छौँ । पर्यटन क्षेत्र थोरै लगानीबाट धेरै आर्थिक गतिविधि गर्न सक्ने, रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र हो । यही मान्यतामा रहेर गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र योजनामा पर्यटनलाई समृद्धिको मुख्य संवाहकको रूपमा लिए हौं ।
पर्यटन वर्ष घोषणा
हामीले आर्थिक वर्ष २०७५/०७६ (सन् २०१८) लाई नीतिगत तयारीको वर्षका रूपमा लियौँ । सन् २०१९ लाई आन्तरिक पर्यटन प्रवर्द्धन वर्षका रूपमा मनाइरहेका छौँ । नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हामीले त्यसमा सम्भावना धेरै दख्यौं । तर, विभिन्न पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी कमैलाई मात्र छ ।
त्यसैले प्रदेशमा भएका पर्यटकीय गन्तव्यको बारेमा आन्तरिक पर्यटकलाई जानकारी दिनुपर्छ भनेर हामीले आन्तरिक भ्रमण वर्ष मनाएका हौँ । सन् २०२० लाई हामीले छिमेकी पर्यटन प्रवर्द्धन वर्षका रूपमा मनाउन लागेका छौँ । हाम्रो छिमेकी राष्ट्र भारत र चीनका करोडौँ मानिस वर्षेनी विभिन्न देश घुम्न निस्कन्छन् । उनीहरूलाई नेपाल ल्याउने उद्देश्यका साथ छिमेकी मुलुकमा पर्यटन प्रवर्द्धन वर्ष मनाउन लागेका हौँ । २०२० को सुरुवातमा हामी छिमेकी मुलुकमा प्रचार थाल्ने छौँ । चरणबद्ध रूपमा गएर सन् २०२२ मा २० लाख पर्यटक गण्डकी ल्याउने हाम्रो योजना छ ।
तीन सय होमस्टे योजना
पर्यटनको विकासबाट आर्थिक रूपमा लाभ लिने, गरिबी निवारणमा सहयोग पुर्याउने, उत्पादन र उत्पादकत्व पनि बढाउने हो । व्यवसाय पनि बढाउने र रोजगारी सिर्जना गर्ने हा
म्रो लक्ष्य हो । गाउँगाउँमा पनि यसको महत्त्व फैलाउन पर्छ भनेर प्रदेश सरकारले आगामी ५ वर्षभित्र तीन सय होमस्टे पुर्याउने नीतिगत निर्णय गर्यो ।
यो कार्यक्रमलाई जनताले यति धेरै मन पराए र पछ्याए की होमस्टेको लागि दरखास्त आह्वान गर्दा झन्डै तीन सयको हाराहारीमा दरखास्त पर्यो । हामी होमस्टे चलाउँछौँ भन्ने उनीहरूको भनाई थियो । हामीले पाँच वर्षभित्र तीन सय होमस्टे पुर्याउने भनेका थियौँ । पहिलो वर्ष नै तीन सय निवेदन पर्यो । यसमा हामीले मापदण्ड बनाएका छौं । मापदण्ड पुगेको होमस्टे नै आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७४ पुग्यो । ती होमस्टेहरूको विकासको लागि ‘टोकन’ सहयोग पनि गर्यौँ । कार्यविधिमा कम्तीमा १० घरले होमस्टे सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सरकारले लगानी गरिसकेपछि त्यसको प्रतिफल धेरै गरिब जनता समक्ष पुगोस् भन्ने चाहना हो ।
यसरी स्थापना भएका २ सय ७४ होमस्टेले प्रत्यक्ष रूपमा रोजगारी वा स्वरोजगारी सिर्जना त गर्छ नै अप्रत्यक्ष रूपमा पनि धेरै रोजगारी सिर्जना हुन्छ । होमस्टे भएको आसपासको गाउँहरूले तरकारी, अण्डा उत्पादन गरेर संस्कृतिको संरक्षण गरी आफ्नो पहिचान बचाएर आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सक्छ । यी सबै कुरालाई बिचार पुर्याउँदा हामीले सुरु गरेको होमस्टे स्थापनाको कार्यक्रम निकै महत्त्वपूर्ण र ऐतिहासिक कार्यक्रम भएको छ । यसरी योजनाबद्ध ढङ्गले नीति नै ल्याएर धेरै गाउँहरूमा होमस्टेको काम भइरहेको हाम्रै प्रदेशमा मात्र हो ।
इतिहासकै कुरा गर्दा, यही प्रदेशको सिरुवारि होमस्टे मुलुककै पहिलो हो । संस्थागत रूपमा दर्ता भएर चलेको होमस्टे लमजुङको घलेगाउँ हो । यी दुवै होमस्टेहरू ग्रामीण पर्यटन अभियानमा उदाहरणीय छन्, पुरस्कृत पनि भइसकेका छन् ।
लमजुङकै काउलेपानी, राइनास होमस्टे प्रख्यात छन् । हामीले अन्य होमस्टेको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेका छैनौँ । त्यसैले प्रत्येक होमस्टेको सानो–सानो डकुमेन्ट्री बनाएर प्रचार गर्न पर्यटन मन्त्रालयलाई भनेको छु । प्रत्येक होमस्टेबाट दुई/तीन जनालाई ल्याएर कसरी खाना पकाउने, सफाइ कसरी गर्नेदेखि स्थानीय उत्पादनसँग कसरी जोड्ने भन्ने योजनाहरू बनाउन सिकाएका छौँ । तैपनि हामी सुरुवाती चरणमै छौँ, व्यवस्थित भइसकेको छैन ।
कतिपयले होमस्टेहरूको सेवा उस्तै खाले भयो भन्ने आलोचना पनि गरेका छन् । तर प्राकृतिक र सांस्कृतिक हिसाबले पनि तिनीहरू समान छैनन् । समुदाय र जातजातिले पनि फरक छ त्यही अनुरूप होमस्टेको प्रकृति पनि फरक छ । तर कहिकतै खानाको परिकार उस्तै हुन सक्छ । खासमा स्थानीय रूपमा उत्पादन भएका परिकारहरू नै खुवाउनु पर्दछ ।
होमस्टेलाई हामीले पर्यटनमार्फत गाउँहरूमा रोजगारी र स्वरोजगारीको सिर्जना गर्ने, आर्थिक गतिविधि बढाउने र आर्थिक समृद्धि ल्याउने योजनाका रुपमा लिएका छौं । खास गरेर सहर र गाउँबीच जुन खालको आर्थिक खाडल छ, त्यसलाई यसले कम गर्ने विश्वास लिएका छौँ ।
पर्यटन गतिविधिको प्याकेज तयारी
पछिल्लो समय गण्डकीमा बन्जी जम्प, प्याराग्लाईडिङ, हाइकिङ, वार्टर स्पोर्टस् तथा पर्यटकीय–धार्मिक स्थलहरूको प्रवर्द्धन भइरहेको छ । हामी यी सबै पर्यटनका अवयवहरूलाई समेटेर प्याकेज बनाउने तयारीमा लागि रहेका छौँ ।
हाम्रो प्रदेश शक्तिपीठमा पनि धनी प्रदेश हो । विभिन्न धर्म, संस्कार र संस्कृति अनुसारका जात्रा पर्वहरू यहाँका आकर्षण हुन् । यसलाई कसरी हाम्रो पर्यटनसँग जोड्ने भन्ने तर्फ हामीले ध्यान दिइरहेका छौँ ।
अहिले पर्वतारोहण भनेपछि खुम्बु भ्यालीको मात्र सम्झना हुन्छ । हाम्रोमा यसको खास विकास हुन सकेको छैन । तर हाम्रो प्रदेशमा आरोहणका लागि सबैभन्दा अप्ठ्यारो हिमालको रूपमा चिनिने धौलागिरि छ । चुनौतीको सामना गर्न चाहने साहसीहरूको लागि धौलागिरि आरोहण उचित हुनसक्छ । अन्नपूर्ण, मनास्लुलगायतका हिमश्रृखंलाहरुको पनि उचित प्रचारप्रसार हुन सकेको छैन । हिमाल आरोहणको महत्त्वपूर्ण ठाउँ मध्येमा गण्डकी प्रदेश पनि हो भनेर प्रचारप्रसार गर्ने योजना छ ।
हाम्रो प्रदेशमा रहेको सबैभन्दा लोकप्रिय राउन्ड अन्नपूर्ण ट्रेकिङ हो । तर आधुनिक विकासको कारणले गर्दा यो पदमार्ग छोट्टिएको छ । पहिला महिना दिन लाग्ने यो पदमार्ग अहिले पाँच दिनमै सकिन्छ । गण्डकीमा पर्यटकको बसाई लम्ब्याउन हामीले वैकल्पिक पदमार्गहरू बनाउने योजना अघि सारेका छौँ ।
ट्रेकिङलाई व्यवस्थित र आधुनिक बनाउने योजना छ । त्यस्तै महत्त्वपूर्ण कोटहरूको प्रवर्द्धन गर्ने तयारी भइरहेको छ । नयाँ/नयाँ गन्तव्यको छनौट गरी प्रचार गर्छौँ । अन्य क्षेत्रमा नभएका पर्यटकीय गतिविधि र गन्तव्यहरू हाम्रोमा छ, त्यसलाई उचित ढंगले प्रडक्टको रूपमा ल्याउन सकेको छैन, हामी त्यसमा पनि काम गरिरहेका छौँ । हामी ट्रेकिङ, माउन्टेनियरिङ, हनी हन्टिङ, क्यानोनिङ, र्याफ्टीङलगायतका पर्यटन गतिविधिलाई जोडर गुरुयोजना बनाउने तयारीमा छौँ ।
पर्यटनमा कनेक्टिभिटीले महत्त्वपूर्ण भूमिका खेल्छ । मुलुकका सात वटै प्रदेशसँग सिधा यातायात सुविधा बनाउने तयारी गरिरहेका छौँ । त्यसै गरेर सिधा हवाई सुविधा स्थापना गर्ने योजना पनि छ । सन् २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सातै प्रदेश र छिमेकी मुलुकहरूसँग पनि हाम्रो प्रदेशको सिधा हवाई सम्पर्क हुनेछ । पोखरा विमानस्थल खुलेपछि सन् २०२२ मा २० लाख पर्यटक गण्डकी भित्र्याउने लक्ष्य छ ।
संरचनागत तयारी
हामीसँग मानव स्रोतको कमी छ । आन्तरिक पर्यटन वर्ष २०१९ को काममा ढिलाइ हुनुको एउटा कारण त्यो पनि हो । हामी पर्यटन विकास निरीक्षणालय खोल्ने तयारीमा छौँ । उक्त कार्यालयले पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन, व्यवस्थापन र नियन्त्रणलगायतका कामहरू गर्नेछ । त्यस्तै पर्यटनलाई नै महत्त्व दिएको प्रदेश भएकोले जिल्ला जिल्लामा पनि पर्यटन विकास निरीक्षणालयको शाखाहरू राखेर पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरू सञ्चालन गर्नेछौँ ।
निजी क्षेत्रसँग हातेमालो
सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरूको विकासमा लगानी गर्ने हो बाँकीमा निजी क्षेत्रको भूमिका रहन्छ । पर्यटन व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्र हो । यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले हामी पर्यटनसँग सम्बन्धित सबै काममा निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्ने छौँ ।
पर्यटन राजधानी घोषणा गर्न माग
हामीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नको लागि सङ्घीय सरकारलाई आग्रह गरेका छौँ । तर, गरिरहेको छैन । हामीले निर्णय गरेर सङ्घीय सरकारलाई पठायौँ तर मन्त्रिपरिषद्मा पुगेका अड्किएको छ ।
वातावरण संरक्षणमा सचेत
पर्यटनको विकासको कुरा गरिरहँदा हामी वातावरणको संरक्षणमा पनि सचेत छौँ । त्यसैले संरक्षण क्षेत्र बिस्तार गर्ने योजना छ । यो प्रदेश सबैभन्दा धेरै संरक्षित क्षेत्र भएको प्रदेश हो । यद्यपि ३७ प्रतिशत मात्रै जङ्गल छ, हामीले तीन प्रतिशत वृद्धि गरेर ४० प्रतिशत जङ्गल बनाउनु पर्नेछ । साथै अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको क्षेत्र बिस्तार गर्ने तयारीमा छौँ । वातावरणको संरक्षण र विकासलाई सँगसँगै लैजान सकिन्छ भन्ने उदाहरण हामी दिनेछौँ ।
–यो लेख गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसँग गरिएको कुराकानीमा आधारित रहेर तयार पारिएको हो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…