September 27, 2019

तीन नयाँ गन्तव्य घोषणा, पर्यटन क्षेत्रका उत्कृष्टहरू सम्मानित

International Tourism Dayकाठमाडौँ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) ले विश्व पर्यटन दिवसको अवसर पारेर तीन नयाँ गन्तव्य छनोट गरेको छ । राजधानीको गणतन्त्र पार्कमा शुक्रवार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीनै गाउँका प्रतिनिधिलाई गन्तव्य प्रमाणपत्र प्रदान गरे ।

भिटोफले प्रत्येक वर्ष नयाँ गन्तव्यको छनौट गरी घोषणा गर्दछ । सन् २०१९/२० को नयाँ गन्तव्य गाउँका रूपमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सा गाउँ, धादिङको रुबीभ्याली गाउँपालिका–४, चालिस गाउँ र बागलुङको काठेखोला गाउँपालिका–४, फापरखेतलाई नयाँ गन्तव्य घोषणा गरिएको हो ।

भिटिफका कार्यवाहक अध्यक्ष दीपक दाहालले प्रत्येक वर्ष नयाँ गन्तव्य गाउँ घोषणा गरी होमस्टे प्रवर्द्धनलगायतका कार्यक्रम गदैँ आएको बताए। गत वर्ष भिटोफले घोषणा गरेको तीन गन्तव्यहरूमा मुगुको मुर्मा गाउँ, रामेछापको चोरम्भा गाउँ र लमजुङको राईनास कोट रहेको थियो ।

पर्यटकीय सम्भावना बोकेको गाउँहरूको अध्ययन अवलोकन गरेपछि मात्रै नयाँ गन्तव्य गाउँको घोषणा गरिएको भिटोफले जनाएको छ । दाहालका अनुसार गाउँहरूको अध्ययन/अवलोकन भ्रमण, आधारभूत घरवास (होमस्टे) तालिम र पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थासँग मिलेर अन्तरक्रिया कार्यक्रमसमेत गर्दै आएको छ ।

भिटामिने पर्यटकीय सम्भावना बोकेको गाउँहरूलाई समेटेर होमस्टे ट्रेकिङ ट्रेलको अध्ययन अवलोकनलगायतका कामहरू समेत गर्दै आएको छ ।

त्यस्तै विश्व पर्यटन दिवस मूल समारोह समितिले पर्यटन क्षेत्रमा उल्लेख्य रूपमा काम गरेका विभिन्न सङ्घ–संस्थाहरूलाई पुरस्कार प्रदान गरेको छ । निजी क्षेत्रबाट आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै राजश्व सरकारलाई बुझाउनेमा बुद्ध एयर परेको छ । बुद्धले गएको वर्षमा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो ।

त्यस्तै सबैभन्दा बढी विदेशी पर्यटक भित्र्याउने एयरलाइन्सको रूपमा कतार एयरलाइन्सलाई सम्मान गरिएको छ । गत आवमा कतार ले ३ लाख ९९ हजार ३३६ विदेशी पर्यटक नेपाल भित्र्याएको थियो । त्यसैसरि सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गरेको भन्दै फ्लाइट कनेक्सन डोमेस्टिक प्रालिलाई पनि सम्मान गरिएको छ । फ्लाइट कनेक्सनले कुल ९४ लाख ५३ हजार २ सय ८३ डलर आर्जन गरेको थियो ।

त्यस्तै पर्यटन गन्तव्यको रूपमा कालिन्चोक दर्शन प्रालि र बढी रोजगारी सिर्जना गरेकोमा सोल्टी होटेललाई सम्मान गरिएको छ । सोल्टीले ४ सय ५ जनालाई रोजगारी दिएको छ । निजी क्षेत्रबाटै अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिएको भन्दै द बेकरी क्याफेलाई पनि सम्मान गरिएको छ । त्यसै गरी सामाजिक उत्तरदायित्व अन्तर्गत फिस्टेल एयर, पर्वतारोहण तर्फबाट सेभेन समिट ट्रे्क्स प्रालिलाई समान गरिएको छ ।

सेभेन समिट ट्रे्क्सले यस वर्ष विभिन्न हिमाल आरोहणमा २५ समूहका २ सय ६३ आरोहीबाट ९ लाख ३० हजार अमेरिकी डलर अर्थात् १० करोड ५० लाख ९० हजार रुपैयाँ राजस्व बुझाएको थियो ।
+

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…